
नेपाली कांग्रेसको १६ वटा जिल्लामा अधिवेशन हुन बाँकी छ । जसमध्ये सिन्धुपाल्चोक जिल्ला पनि पर्दछ । पटक पटक रोकिएको जिल्ला अधिवेशनको यहि फागुन २६ र २७ गते हुने भएको छ । केही महिनाअघि मात्रै त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको उपप्राध्यपक पदबाट राजीनामा दिएर १९ वर्षे प्राध्यापन पेशाबाट पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुभएका डा. प्रेमध्वज लामाले सिन्धुपाल्चोक जिल्ला सभापतिको उम्मेद्वार घोषणा गरिसक्नुभएको छ । लामा २०४६ सालदेखि नेपाली कांग्रेसको भातृसंगठनदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । उहाँ कांग्रेसभित्र विचार र सिद्धान्त र समाज परवर्तनको लागि आफूले जिल्ला सभापित पदमा उम्मेद्वारी दिएको तर्क पेश गर्नुहुन्छ । ५३ वर्षीय लामा सिन्धुपाल्चोकमा बौद्धिक तथा युवा पुस्ताबीच लोकप्रिय नेताका रुपमा चिनिनुुहन्छ । लामासँग लोकप्रिय नेत्रज्योती सँचार समुहले गरेको कुराकानीको सम्पादित अंशः
अधिवेशनको तयारी कसरी गरिरहनुभएको छ ?
तयारी भने त्यही पार्टीका प्रतिनिधहरूसँग भेटघाट, आफ्ना विचार, मत राख्ने, भोटको लागि अनुरोध गर्ने नै त हो । साथीभाइहरूसँग पार्टीको योजना, संगठनलाई एकढिक्का बनाएर कसरी लैजान सकिन्छ भन्ने विषयहरूमा छलफल तथा बहस गरिरहको छु । विद्यार्थीकालदेखि नै पार्टीको राजनीतिमा जोडिएको हुनाले सबैबीच चिरपरिचत नै छु कतिपयसँग सम्बन्ध पुनवरालोकन पनि हुँदैछ । नयाँ उर्जावान युवा भाइबहिनीहरू पनि क्षेत्रीय प्रतिनिधि चुनिएर आउनु भएको छ, उहाँहरूसँग पनि साक्षात्कार र सरसल्लाह गरिरहेको छु ।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिएँ भन्नुभयो केही पृष्ठभूमि बताइदिनुस् न ?
मेरो जन्म २०२६ साल माघ २६ मा सिन्धुपाल्चोकमै भएको हो । २०४३ सालदेखि नै नेविसंघ सदस्यता लिएँ । २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी भएर लागेको थिएँ । २०४७ मा नेविसंघको सिन्धुपाल्चोक जिल्ला सचिव भएँ । २०४९ सालमा नेपाली कांग्रेस जिल्ला सदस्य लिएको हुँ । २०४९÷०५१ मा नेविसंघको तर्फबाट संयुक्त क्याम्पस स्ववियू सभापतिमा प्रतिस्पर्धामा उपविजेता भएँ । २०५१ मा नेविसंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भएँ भने २०५१÷२०५२ नेविसंघ केन्द्रीय सदस्य बनेँ ।
२०६२÷०६३ सालको आन्दोलनमा नेतृत्वदायी भूमिका अग्रपंत्तिमा हिँडेको हुँ । २०६५ मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बनेँ । महाधिवेशन÷ महासमिति सदस्य, केन्द्रीय कोभिड अनुगमन समिति सदस्य को छु । केन्द्रीय जनसम्पर्क समिति समन्वय विभाग सदस्यमा रहेँ ।
प्राध्यापन पेशाबाट राजनीतिमा हाम फाल्नुभएको छ, तपाईँलाई नै सभापतिमा चाहिँ प्रतिनिधिहरूले किन जिताउनुपर्ने ?
पहिलो कुरो त मैले अघि नै भनिसकेँ म राजनीतिमा सक्रिय रूपमा भरखर देखिएको होइन । नेविसंघको सदस्यता लिएदेखि हिसाब गर्ने हो भने ३५ वर्ष भइसक्यो । दोस्रो कुरा, म राजनीतिबाट लाभैलाभ लिउँला भनेर हामफालेको होइन । राजनीति र पढाइ सँगसँगै लगेँ । लामो समय प्राध्यापनमा रहेँ तर जति नै भनेपनि समाज परिवर्तनको शुरूवात भनेको स्थानीय तह या गाउँतहबाटै हुनुपर्ने रहेछ । त्यसको लागि राजनीतिक चेतना नै रहेछ । हामी लोकतन्त्र भन्छौँ तर लोकतन्त्रको सामान्य मूल्य मान्यता जान्दैनौँ, पाउने अधिकार र आफ्नो कर्तब्यबारे अनभिज्ञ छौँ । मनपर्ने पार्टी भनेर भोट मात्रै खसालिरहेका छौँ तरपनि लोकतन्त्रको फल नागरिकले पाउन सकेका छैनन् । पार्टीमा विकृति, विसंगति छ । ती विसंगति चिरेर हामी बढ्नुपर्छ । पार्टीभित्र शक्ति, पैसाको भरमा जे पनि हुन्छ भन्ने प्रवृत्ति छ । दूरदराजका कांग्रेस कार्यकर्ता पनि माथिल्लो तहमा आउन सक्नुपर्छ । नेतृत्व तहमा आउनसक्ने हुनुपर्छ । पार्टीमा दुःख गरेका नेता कार्यकर्तालाई ल्याउनु पर्छ । डनवाद हाबी छ, नीतिले अघि बढेको छैन । यी समग्र विषय उठाउन मेरो उम्मेदवारी हो । कांग्रेसलाई कसरी बलियो बनाएर लैजान सकिन्छ, योजना छ । अग्रगामी परिवर्तनको नेतृत्व लिन सक्ने युवा ल्याउन चाहेको छु । सही आवाजको प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी हो ।
सभापतिको उमेदवारीमा तपाईँको एजेण्डा ?
मेरा केही एजेण्डाहरू छन् । सभापतिको उमेदवारी किन ? भन्नेमा बदलिएको कांग्रेस बलियो कांग्रेस बनाउन, निष्ठाको राजनीतिलाई निरन्तरता दिन, लोकतान्त्रिक समाजवादको नीतिलाई कार्यान्वयन गर्न, आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई सिन्धुपाल्चोकमा विजयी बनाउन, युवा पुस्तालाई उद्यमशील बनाउदै नेपाली कांग्रेससँग जोड्न, नेपाली कांग्रेसको समावेशी नितिलाई व्यवहारमा लागु गर्न, महिलालाई नेपाली कांग्रेस सिन्धुपाल्चोकको हरेक तहको नेतृत्वमा स्थापित गर्न, प्रविधिमैत्री सिन्धु कांग्रेसको निर्माण गर्न मेरो पहल र नेतृत्वदायी भूमिका रहनेछ ।
चुनाव भन्ने वित्तिकै खर्चपर्चको पनि कुरा त आउँछ नै, पछिल्लो समय समय हरेक पार्टीको आन्तरिक चुनाव पनि खर्चिलो हुँदै गएको छ नि ?
तपाइँको भन्नुभएको सही हो चुनाव भन्ने वित्तिकै खर्चपर्च त चाहिन्छ नै तर आम बुझाइ के हुँदै गएको छ भने पैसा नभइ कुनैपनि चुनाव जितिदैन । त्यसो होइन । यो भ्रमलाई हामीले चिर्नुपर्छ । यो प्रवृत्ति निरूत्साहित गर्दै लैजानुपर्छ । पैसाले नै चुनाव जित्ने हो भने त पार्टी, संगठन, विचार, नीति किन चाहियो र ? हो सामान्यत दैनिक हिँडडूल, खाजा, खानामा खर्च हुनु त स्वभाविकै हो तर मतदातै किन्ने, भोजभत्तेरै लगाएर हिँड्ने चाहिँ राम्रो होइन र हाम्रो सिन्धुपाल्चोकमा यस्तो हुँदैन । म यस्ता फजुल खर्चको बिरोधी हुँ । लोकतन्त्रमा विचारको राजनीति गर्ने हो नि । लाखौँ खर्च गर्नेको स्रोत पनि त खोज्नुपर्ला नि । इमान बेचेर जित्ने जोसुकैले भोली खर्च असुल गर्न भ्रष्टाचार गर्न प्रेरित गर्छ । त्यसकारण यस्ता कुराको म सधैँ विपक्षमा छु । यसले पार्टीलाई हित गर्दैन ।
कार्यकर्ताहरूमा कस्तो उत्साह देख्नुभएको छ ? गुटको कुरा पनि पक्कै आउला ?
अधिकांश जिल्लामा अधिवेशन भइसक्यो । सिन्धुपाल्चोक कांग्रेसमा पनि उत्साह, ऊर्जा छरिएको छ । हरेक वर्गको प्रतिनिधित्व निम्ति आदिवासी, दलित, अल्पसंख्यकको छुट्टै कोटा छ । त्यसैका आधारमा प्रतिनिधिहरू छनौट भएर आउनु भएको छ । अब ती सबैको कुरा उठ्ने हुँदा देशकै कुरा पार्टीमा आउँछन् । कांग्रेसमा केबल को सभापति हुने, को पदाधिकारी हुने भन्नेमात्र अब रहँदैन । तलदेखि नै हामीले भोगेका समस्या उठ्ने भएकाले कांग्रेसमा ऊर्जा विकसित भएको छ । पार्टीमा केही अप्ठेरा, असहजता भएका छन् । त्यसो त, जीवन्त पार्टीमा वैचारिक समूह हुन्छ नै । असल नेतृत्व ल्याउन ती समूहहरू एक ठाउँ रहनु त ठीक हो । तर जुन तरिकाले पैसा, शक्ति लगाएर मतदाता प्रभावित गर्ने क्रियाकलाप बाहिर आए, ती जायज होइनन् । ती क्रियाकलापमा मेरो कुनै समर्थन छैन । पद–प्रतिष्ठाको दोहन गरेर आर्यआर्जन गर्ने सोच राखेपछि यस्ता विकृति घट्छन् । गुट सधैँभरि रह्यो भने आगामी चुनावमा ठूलो असर पर्छ । पार्टीको नेतृत्व चयनका बेला वैचारिक समूहरू बन्नु, एउटालाई नेता चयन गर्दासम्म समूह बनाउनु जायज नै हो । तर निरन्तर हामी गुटमा रमाउनु हुँदैन । यसक्रममा हारेकालाई पनि पार्टीमा ठाउँ दिएर राख्नुपर्छ । एकतावद्ध, जीवन्त कांग्रेस बनाउनुको विकल्प छैन । गुटको नाममा एकअर्कालाई असहयोग गरेर अघि बढ्न सकिँदैन । पार्टीले अब परिवर्तन, रूपान्तरण खोजेको छ ।
अन्तमा केही भन्नु छ ?
अब राजनीति मात्र गरेर हुँदैन, भोटको लागि मात्र कार्यकर्ताको बीचमा पुगेर हुँदैन । पार्टीले आफ्ना सदस्यहरूलाई आर्थिक विकासमा लगाउनुपर्छ । कोरोना महामारीका कारण मानिसको रोजगारी गुमेको छ, देश झन् गरीबीतिर जाँदैछ । यो अवस्थालाई सोचेर योजना बनाउनुपर्छ । हरेक व्यक्तिले राजनीति र आर्थिक विकासलाई सँगै लैजाने अवधारणा ल्याउनुपर्छ । साथसाथै प्राज्ञिक थलोबाट राजनीतिक विश्वविद्यालयमा होमिएको हुनाले मेरो क्षमताले भ्याएसम्म राजनीतिमा देखिएको फोहोर सफा गर्ने अभियान चलाउँछु । त्यसमा सबैको साथ रहनेछ । त्यसका लागि मलाई सभापति पदमा जिताएर नेतृत्व गर्ने अवसर प्रतिनिधिज्यूहरूले दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।
