‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना गरेकोे २० ओभरको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुने भएको छ । आज २ खेल सञ्चालन हुनेछ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजना गर्न लागेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा ‘जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकोमा सो प्रतियोगितालाई प्रोत्साहन गर्न पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ८ वटै वडामा क्रिकेट खेलकूद सामग्री वितरण गरिएको छ ।
प्रतियोगितालाई निरन्तरता दिँदै चौथो संस्करणका रुपमा प्रतियोगितालाई समय सापेक्ष परिमार्जित गर्दै यस वर्ष उक्त प्रतियोगिताको नाम र फर्म्याट परिवर्तन गरी पाँचपोखरी त्द्दण् जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिन लागेको लामाले बताउनुभयो ।
विगतका वर्षहरुमा पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा गर्न लागीएको खेलकूद विकास समितिले जानकारी दिएको छ । प्रतियोगिता यही २१ गतेसम्म सञ्चालन हुनेछ ।
उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ७ वटा टिम सहभागिता रहेको छ । उक्त टिममा सिन्धुपाल्चोक जिल्लाबासी मात्र रहने प्रावधान आयोजकले तय गरेको छ । टिम प्रवेश शुल्क रु. १२हजार रहेको छ भने यस प्रतियोगितामा बिजेता र उपबिजेता हुने टिमले क्रमशः रु. ७५ हजार र ४० हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडलका साथै प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
