देश सुधार्ने सपना बोकेका सिन्धुपाल्चोकका दुई मुटुहरू अब धड्किंदैनन्
शुक्रबारको साँझ, राजधानीको बानेश्वर केही क्षणका लागि युद्धभूमि जस्तै बन्यो । शान्तिपूर्ण प्रदर्शनको आवाज गुँजिरहेको थियो, युवा पुस्ता आफ्नो भविष्यमाथि उठेको प्रश्नको उत्तर खोज्दै संसद् भवनअगाडि उभिएको थियो । त्यही भिडको अग्रभागमा थिए बाह्रबिसे नगरपालिका–६, गातीका श्रीकृष्ण श्रेष्ठ । त्यसै दिन, अर्को कुनामा थिए चौतारा साँगाचोकगढी नगरपालिका इर्खुका उमेश महत – जिन्दगीको नयाँ अध्याय सुरु गर्न लागेको, तर आफ्नो माटो छाडेर होइन, त्यही माटोमा केही गर्न खोज्दै । तर, नियतिले दुवैको सपनालाई सडकमा रोकेको छ ।
श्रीकृष्ण श्रेष्ठले आन्दोलनमा जानुअघि आफ्ना दाइ रामकृष्णसँग यस्तै केही शब्द साट्नुभएको थियो । काठमाडौँमा स्नातक अध्ययन गर्दै हुनुहुन्थ्यो उहाँ । परिवार सामान्य कृषक पृष्ठभूमिको । माल्टा जान सबै तयारी भइसकेको थियो । तर देशको अवस्था देखेर चुप बस्न सक्नुभएन । “उहाँले सधैं भन्नुहुन्थ्यो – यो देश बनाउ...
