सम्पर्क

देश सुधार्ने सपना बोकेका सिन्धुपाल्चोकका दुई मुटुहरू अब धड्किंदैनन्

शुक्रबारको साँझ, राजधानीको बानेश्वर केही क्षणका लागि युद्धभूमि जस्तै बन्यो । शान्तिपूर्ण प्रदर्शनको आवाज गुँजिरहेको थियो, युवा पुस्ता आफ्नो भविष्यमाथि उठेको प्रश्नको उत्तर खोज्दै संसद् भवनअगाडि उभिएको थियो । त्यही भिडको अग्रभागमा थिए बाह्रबिसे नगरपालिका–६, गातीका श्रीकृष्ण श्रेष्ठ । त्यसै दिन, अर्को कुनामा थिए चौतारा साँगाचोकगढी नगरपालिका इर्खुका उमेश महत – जिन्दगीको नयाँ अध्याय सुरु गर्न लागेको, तर आफ्नो माटो छाडेर होइन, त्यही माटोमा केही गर्न खोज्दै । तर, नियतिले दुवैको सपनालाई सडकमा रोकेको छ ।
श्रीकृष्ण श्रेष्ठले आन्दोलनमा जानुअघि आफ्ना दाइ रामकृष्णसँग यस्तै केही शब्द साट्नुभएको थियो । काठमाडौँमा स्नातक अध्ययन गर्दै हुनुहुन्थ्यो उहाँ । परिवार सामान्य कृषक पृष्ठभूमिको । माल्टा जान सबै तयारी भइसकेको थियो । तर देशको अवस्था देखेर चुप बस्न सक्नुभएन । “उहाँले सधैं भन्नुहुन्थ्यो – यो देश बनाउने जिम्मा हाम्रो पुस्ताको हो,“ दाइ रामकृष्ण भन्नुहुन्छ –पढेर मात्रै हुँदैन, बोल्नुपर्छ, लड्नुपर्छ भन्ने सोच थियो उहाँको ।
शुक्रबारको प्रदर्शनमा उहाँ अग्रपङ्क्तिमा उभिनुभएको थियो । जब झडप सुरु भयो, श्रीकृष्ण पछि हट्नुभएन । प्रहरीको गोलीले उहाँको कोखामा प्रहार गर्‍यो । अनि एक सपना, एउटा आशा, एउटा आवाज त्यो ठाउँमै लम्पसार पर्‍यो ।
उमेश महतले पनि देश छाड्ने अन्तिम तयारी गर्नुभएको थियो । गन्तव्य थियो दुबई । १२ कक्षा सकेर वैदेशिक रोजगारी खोज्न बाध्य हुनुभएको उहाँ सधैं भन्नुहुन्थ्यो – “यहाँ पनि केही गर्न सकिन्थ्यो, अवसर मात्र पाइनँ ।”
उहाँकी दिदी सुमित्रा भन्नुहुन्छ “उमेश गम्भीर सोच राख्थ्यो । राजनीतिमा थिएन, तर राजनीतिलाई बुझ्थ्यो । देश बिग्रेको देखेर रिस उठ्थ्यो उसलाई ।” भ्रष्टाचार, बेरोजगारी, असमानताले उसलाई पोल्थ्यो । त्यसैले जब जेनजिले सडकमा ओर्लिने निर्णय गर्‍यो, उमेश पनि त्यही भिडमा मिसिनुभयो । गोली लागेपछि फ्रन्टलाइन अस्पताल पुर्‍याइयो । तर अस्पतालले शरीरको घाउ त सम्हाल्न खोज्यो, प्राण बचाउन सकेन ।
त्यो प्रदर्शन कुनै दलको आयोजना थिएन । त्यो आवाज थियो युवाहरूको, जो देश छाड्न चाहँदैनन्, तर बाँकी रहन पनि डराउँछन् । बलेफीका कामदन कार्की र नोर्बु लामा जस्ता युवाहरू अझै अस्पतालमा हुनुहुन्छ । सिन्धुपाल्चोकका दर्जनौँ युवाहरू घाइते छन् – कुनैको हात भाँचिएको छ, कुनैको सपना ।