आलेखः विपद् जोखिम थाहा छ, तयारी कहाँ छ ?
सुदूरपश्चिम, ३० असोजः २०७० असार २ गते महाकाली नदीमा आएको गेग्रानसहितको बाढीले दार्चुला सदरमुकाम खलङ्गा तहसनहस भयो । त्यहाँका १५६ घरमा पूर्ण भयो भने सरकारी कार्यालयका ३२ भवन र ३५३ परिवारका सरसामान बगायो । सरकारी आँकडाअनुसार त्यसबेला रु ३२ करोड ५६ लाख बराबरको क्षति भएको अनुमान छ । महाकाली नदीको माथिल्लो तटीय क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ हुँदा त्यस्तो विपद् आएको त्यसबेलाको निष्कर्ष थियो । आठ वर्षपछि २०७८ कात्तिक ४ गते बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाढमा सेती नदीमा त्यस्तै बाढी आयो । करिब १५० बिघा खेतीयोग्य जमिन बगरमा परिणत भयो । कैयन घर तथा संरचनामा क्षति पुग्यो । सोही वर्ष असोजमा आएको बेमौसमी वर्षाबाट समग्र सुदूरपश्चिम नै प्रभावित भएको थियो । त्यसताका वर्षापछिको पहिरोमा परी डोटीमा १२, बैतडीमा चार र डडेल्धुरामा दुई जनाको मृत्यु भयो । बझाङको थलारामा पहिरोपछि २३ जना र कैलालीको लम्कीचुहामा बाढीपछि...









