राउटे बस्तीमा दसैँको चटारो
दैलेख, १६ असोज (रासस) : दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरुले सो पर्वको भव्य तयारीमा जुटेका छन् । फिरन्ते जीवन बिताउँदै आएका उनीहरु जाजरकोटदेखि आएर दैलेखको भगवतीमाई–१ मनघर बायुतडा लेकमा एक महिनादेखि बस्दै आएका थिए । अहिले सोही गाउँपालिकाको वडा नं १ बेँसीमा पर्ने बेस्तडा बजार नजिकै जङ्गलमा सरेका छन् । लेकमा चिसो बढ्न थालेपछि बेँसी झरेको उनीहरुको भनाइ छ । महामुखिया महिनबहादुर शाहीले बस्ती सरेपछि किनमेल गर्न सजिलो भएको सुनाउनुभयो । “दसैँ आइसक्यो, खसीबोका र चामल किन्न सजिलो होला भनेर यहाँ सरेका हौँ, चिसो बढ्यो, दसैँ मनाएर अन्तै सर्नुपर्ला ।” बेस्तडा जङ्गलमा काठ अभाव रहेकाले धेरै बसाइ नहुने शाहीको भनाइ छ । फिरन्ते जीवन बिताउने यो समुदायका ४६ घरधुरीमा गरी एक सय ४३ जना छन् । बस्तीमै पुगेर राउटे समुदायलाई खसी, चामल, चिसोमा न्यानो गराउने पिफर्म वितरण गरेको भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश...
