सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानको निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम भएको छ । अन्य खेतीको तुलनामा आलु खेतीबाट बढी फाईदा हुने भएपछि किसान आलु खेतीमा आकर्षित भएका छन् ।
जिल्लाको मध्यभागमा पर्ने व्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलु खेतीले हरियालि भएका छन् । आलु खेती लगाएर यश क्षेत्रका किसानले वार्षिक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानिय किसान रविन्द्र खड्का बताउनुहुन्छ । कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद, वर्षात दुवै सिजनमा पानी लाग्ने नौबिसे फाँटमा धान खेति गर्दा मुस्किलले चार÷ पाँच बोरा उत्पादन हुने गर्दथ्यो । त्यही खेतमा आलु लगाउँदा ८०÷९० हजार आम्दानी गर्दै आएको बताउनुहुन्छ ।
आलुखेतीमा राम्रो आम्दानी भएपछी बतासे रानिटारका केदारनाथ काफ्लेले पनि पाँच वर्षदेखि आलुखेती लगाउँदै आईरहेको र यसपाला करिब १५ हजार खर्च गरेर आलु खेती गरेको बताउनुभयो ।
यसबाट कम्तीमा ६०÷ ७० हजार रूपैयाँ आम्दानी हुने उहाँको आस छ । व्रम्हायणी नदी आसपासका फाँटहरूमा सिंचाइ सुविधा प्रशस्त भएकाले पनि किसानलाई आलु खेती लगाउन निकै सुविधा भएको फुल्पिङकोटका प्रेमबहादुर भण्डारीको भनाई छ ।
उता, ईन्द्रावती नदी दायाँ बायाँका खेत पनि आलुखेतीले हरियाली भएको छ । आलुखेतीबाट मनग्य आम्दानी भएपछि किसानहरू आलुखेति लगाउन हौसिएका छन् । विगतमा गहुँ खेती लगाएर जिविकोपार्जन गर्दै आईरहेका किसान आलु खेतिमा समर्पित भएपछि यस क्षेत्रका बासिन्दाको आम्दानिमा निकै सुधार आएको ईन्द्रावति गाउँपालिका – १२ भिमटारका वडाअध्यक्ष सुरेन्द्र दनुवार बताउनुहुन्छ । आलुखेती लगाएरनै ईन्द्रावती नदी आसपासका बासिन्दाले वार्षिक करोडौं रूपैयाँ गाउँ भित्र्याउन सफल भएको दनुवारले बताउनुभयो ।
आलु र तरकारी खेतीमा किसान लागेकाले यसलाई ब्यवस्थित पार्न सिपाघाटमा तरकारी सँकलन केन्द्र स्थापना गरिएको सिपापोखरेका सिताराम श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाको उच्च पहाडी भू–भागमा उत्पादन हुने आलु पूर्णरूपमा अर्गानिक हुने भएकोले पछिल्लो समय यहाँ उत्पादन हुने आलुले राजधानीमा समेत राम्रो बजार लिएको मुडे आलु विकास केन्द्रले जनाएको छ ।
