हाम्रोजस्तो विकासोन्मुख मुलुक सर्ने र नसर्ने दुवै रोगको जोखिममा पर्छ । जसका कारण देशको आर्थिक तथा सामाजिक क्षेत्रमा समेत नकारात्मक असर परेको छ । नेपालमा गरिएको एक अध्ययनअनुसार रोगको भारमध्ये झन्डै ५० प्रतिशत नसर्ने रोगले ओगटेको पाइन्छ ।
नेपालमा नसर्नेमध्ये मुटुरोग, क्यान्सर, दीर्घकालको श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग पर्छन् । दिनानुदिन बढ्दो क्रममा रहेका यस प्रकारको रोगका कारण बर्सेनि ठूलो धनराशि सरकार र व्यक्तिको तर्फबाट खर्च भइरहेको छ । विश्वव्यापीकरण, जनसङ्ख्या वृद्धि, वातावरणीय प्रदूषण, जीवनशैलीमा आएको परिवर्तन, तनाव आदिका कारण नसर्ने रोग बढ्दो क्रममा छ ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को आँकडाअनुसार नेपालको कुल मृत्युमध्ये करिब ६६ प्रतिशत मृत्युका कारण नसर्ने रोग भएको पाइएको छ । यसैगरी ३०–७० वर्ष उमेर समूहमा अल्पायुमा नै मृत्युको प्रमुख कारणका रूपमा देखिएको नसर्ने रोगले भविष्यमा भयावह स्थिति नल्याउला भन्न सकिन्न । उत्पादनशील उमेर समूहको अकल्पनीय मृत्युका कारण आर्थिक तथा सामाजिक विकासमा नकारात्मक असर पर्ने देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२५ सम्म नसर्ने रोगका कारणबाट हुने मृत्युलाई २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ ।
जनस्वास्थ्यको चुनौतीका रूपमा रहेको नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न मधुमेह, मुटुरोग, क्यान्सर तथा दीर्घ श्वासप्रश्वास रोगबाट हुनसक्ने मृत्युलाई २५ प्रतिशतले कम गर्ने, मद्यपानको हानिकारक सेवनलाई २५ प्रतिशतले कम गर्ने, यसैगरी सुर्तीजन्य पदार्थको प्रयोगमा ३० प्रतिशतले कम गर्ने, खाना पकाउन प्रयोग गर्ने काठ, दाउरा, गुइँठाको प्रयोगलाई ५० प्रतिशतले कम गर्ने, खानामा प्रयोग गरिने अधिक नुनको मात्रा घटाउनेजस्ता गतिविधिलाई कार्यान्वयन गरे पनि आम नागरिक समुदायमा व्यवहार परिवर्तन हुने गरी क्रियाकलाप सञ्चालन हुन सकेको छैन । नसर्ने रोगका कारक तìवमा विशेषगरी अस्वस्थकर जीवनशैली वा रोगका लागि जोखिमपूर्ण व्यवहार, धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक क्रियाकलाप, निष्क्रिय जीवनशैली, अपर्याप्त व्यायाम, मद्यपानको प्रयोग पर्छन् ।
बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाउन उत्प्रेरणा दिएमा र बानी व्यवहार परिवर्तन गर्न सकेमा भविष्यमा देखा पर्ने नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सकिन्छ । उल्लिखित नसर्ने रोगका कारक तìवलाई रोकथाम तथा नियन्त्रण गर्न सकेमा ८० प्रतिशत नसर्ने रोगको भार कम गर्न सकिने विश्व स्वास्थ्य सङ्गठनको बुझाइ छ । रोग लागिसकेपछि अर्थात् रोगका लक्षण तथा चिह्न देखा परिसकेपछि मात्र स्वास्थ्य संस्थामा जँचाउन जाने अधिकांश हामी नेपालीको आचरण भएका कारण नसर्ने रोगको व्यापकता समुदायमा झाँगिएको पाइन्छ ।
दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हासिल गर्नुपर्ने विकास लक्ष्यमध्ये नसर्ने रोगको रोकथाम तथा नियन्त्रण एक प्रमुख लक्ष्यमा पर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने रोगलाई विभिन्न जोखिम तìवहरूले रोग उत्पन्न गराउने र उक्त जोखिमलाई बढावा दिने पदार्थ जस्तै– मदिरा, अस्वस्थकर पेय पदार्थ, नुन अधिक भएको तयारी प्याकेजिङ खाद्य पदार्थको प्रयोगले बालबालिका तथा वयस्कमा नसर्ने रोग लाग्नमा सहयोग पु¥याएको छ । एकीकृत स्वास्थ्य सेवाको अवधारणाअनुसार न्यून स्रोतसाधनको माध्यमबाट नसर्ने रोगको व्यापकतालाई न्यूनीकरण गर्न सकिने अध्ययनअनुसार स्थानीय स्तरमा गर्न सकिने योजनाको पहिचान, योजना निर्माण तथा कार्यान्वयनमा जोड दिइएको छ ।
व्यक्तिगत रूपमा रोकथाम र नियमित स्वास्थ्य परीक्षण तथा जनस्तरमा जनस्वास्थ्य कार्यक्रम सञ्चालन गर्न सामुदायिक कार्यक्रमको अवलम्बन गरेमा नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न सकिन्छ । समुदायस्तरमा स्वास्थ्य प्रवद्र्धन गर्न स्वस्थ वातावरण, स्वस्थ जीवनशैली, स्वस्थ बानीव्यवहार, सकारात्मक व्यवहार परिवर्तन, समुदाय र प्राथमिक स्वास्थ्य सेवाको स्तरमा रोग रोकथामका लागि स्क्रिनिङ र जोखिम व्यवस्थापन, प्राथमिक स्वास्थ्य सेवा र अस्पताल स्तरमा प्रारम्भिक निदान र उपचारका लागि निदान, रोगको उपचार सेवा साथै प्रेषणको व्यवस्था प्रभावकारी हुन जरुरी छ ।
रोकथामलाई सामान्यतया तीन तहमा वर्गीकरण गरी कार्यान्वयन गर्न सकेमा नसर्ने रोगलाई नियन्त्रण र रोकथाम गर्न सकिन्छ । तीन तहमा वर्गीकरण गरेअनुसार प्राथमिक तहको रोकथामबाट मानिसलाई बिरामी नै हुन नदिई स्वस्थ राख्ने उपाय अवलम्बन गराउँछ, यो नै सबैभन्दा उत्तम उपाय मानिन्छ ।
यसअन्तर्गत नियमित व्यायाम, शारीरिक सक्रियता, स्वस्थ आहार व्यवहार, धूमपान तथा सुर्तीजन्य पदार्थ र मदिराको लतबाट टाढा रहने, नुनको सेवन कम गर्ने, चिल्लो कम मात्रामा खाने, फलफूल तथा सागसब्जीको सेवन बढाउने । दोस्रो तहको रोकथामअन्तर्गत रोग लाग्नुको सुरुवाती चरण पत्ता लगाई थप जटिलता नहोस् भन्नका लागि गरिने उपाय पर्दछन् । जस्तै– शारीरिक क्रियाकलाप, स्वस्थ आहार, बानी व्यवहारमा सुधार गर्ने, क्यान्सर, उच्च रक्तचाप, मधुमेह, मुटुको रोगलाई छिटोभन्दा छिटो निदान गर्ने र रोगलाई नियन्त्रण गर्ने ।
तेस्रो तहको रोकथामअन्तर्गत रोग लागिसकेको अवस्थामा बिरामीलाई रोगका कारण अझ बढी क्षति नहुनु, दीर्घकालीन अपाङ्गता हुन नदिन तथा अकाल मृत्यु हुनबाट जोगाउन औषधिबाट गरिने उपचार तथा जीवनशैली परिवर्तनसम्बन्धी क्रियाकलाप पर्छन् । नसर्ने रोगको रोकथाम र नियन्त्रण गरी यसलाई महामारी हुन नदिन प्राथमिक रोकथाममा सङ्घीय, प्रदेश एवं स्थानीय सरकारको ध्यान जानुपर्छ । हाम्रो मुलुकमा प्राथमिक तहको रोकथाममा भन्दा दोस्रो र तेस्रो तहको रोकथाममा धेरै धनराशि खर्च भएको छ । जनस्वास्थ्यको दृष्टिकोणले स्वास्थ्य शिक्षा र स्वास्थ्य प्रवद्र्धन नै नसर्ने रोगको प्रभावकारी, भरपर्दो र उत्तम उपाय हो ।
स्वास्थ्य शिक्षाको माध्यमले अत्यावश्यक सूचना प्रवाह गरी मानिसको बानी व्यवहारमा सकारात्मक परिवर्तन गर्न मद्दत गर्छ भने स्वास्थ्य प्रवद्र्धन कार्यक्रमले हालको स्वास्थ्य अवस्थालाई माथि उकास्नेछ । जसका लागि वातावरणीय सुधार, कानुन वा नीति परिवर्तन, सामाजिक दायित्वजस्ता गतिविधि आवश्यक पर्दछ ।
नसर्ने रोगका लागि सरकारी तवरबाट गरिएका प्रयासलाई अझ बढावा दिई सर्वव्यापी पहुँच बढाउन अपरिहार्य छ । यसका लागि सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको समन्वय र सहकार्यमा रोगको रोकथाम र नियन्त्रणका उपायमा केन्द्रित भई कार्य सञ्चालन गर्न जरुरी छ । यसका साथै रोग लागिसकेका मानिसका लागि प्रभावकारी र गुणस्तरीय उपचार, निःशुल्क र सर्वसुलभ औषधि उपलब्ध गराउन सके थप जोखिम र अपाङ्गता हुन तथा अकाल मृत्युबाट जोगाउन सकिन्छ ।
आत्महत्या
नेपालको संविधानले हरेक नागरिकको बाँच्न पाउने अधिकारको प्रत्याभुत गरेता पनि प्रत्येक दिन २० जना नेपालीले आत्महत्या नै जीवनको अन्तिम बिकल्पका रुपमा लिँदा र अझ प्रत्येक वर्ष बढदो क्रममा देखिएको आत्महत्याका अंकहरुले मानसिक स्वास्थ क्षेत्रमा चुनौती थपिरहेको छ।
बेला बेलामा समाजका प्रतिष्ठित व्यत्तित्व,शिक्षित वर्ग र उच्च पदस्थ ब्यक्तिहरुको आत्महत्याका घटना सामाजिक संजाल शेयर भईरहँदा समान पिडा र समान सोच भएका व्यक्तिहरुको जिवन जिउनु पर्दछ भन्ने विश्वास र आशाहरुमा समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रहार गरिरहेको हुन्छ।
आत्महत्या गर्ने ब्यक्तिहरुमा एक मात्र कारण हुदैन। जैविक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक,सांस्कृतिक तथा वातावरणिय पक्षहरुको जटिल अन्तरक्रियाको उपज हो आत्महत्या। जसका कारण आत्महत्या गर्न व्यक्तिहरु मध्य ९० प्रतिशत व्यक्तिहरु कुनै न कुनै मानसिक स्वास्थको समस्याबाट गुज्रिरहेका हुन्छन्।
हाम्रो समाजमा अझ पनि मानसिक स्वास्थका बारेमा खुलेर कुरा गर्दा हिन्नताबोध महसुस गरेको देखिन्छ तर आफ्ना समस्याहरुका बारेमा परिवार, साथी, मनोचिकित्सक वा मनोपरामर्शदातालाई सुनाउँदा मात्र पनि आत्महत्याका लाग निरुत्साहित बनाउँछ र जीवन जिउने आशा जगाई रहेको हुन्छ। मानसिक स्वास्थ्य उपचारका लागि प्रवद्र्धन गर्ने,समयमै मनोचिकित्सकको परामर्श लिने। सबै स्तरबाट मानसिक स्वास्थ कै कारण लाग्ने लान्छाना र विभेद लाई अन्त्य गर्नका लागि हामी सबै हातेमालो गरेर आत्महत्या रोकथाम गर्ने हाम्रो दाहित्व हो ।
विश्वमा हुने विभिन्न मृत्युहरुमध्ये आत्महत्याबाट हुने मृत्युलाई हामी सबैको एैक्यबद्दता रह्यो भने बचाउन सकिन्छ , त्यसैले “आशा जगाउँ, जीवन बचाँउ“।
