सिन्धुपाल्चोक– सिन्धेपाल्चोकको मेलम्ची नगरपालिका–११, बेलिब्रीज स्थित इन्द्रावती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालिका मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वैशाख १४ गते करिब ४ः३० बजे पौडी खेल्ने क्रममा खोलाले बगाउँदा दुई जना बालिका बेपत्ता भएका थिए ।
बेपत्ता भएका मध्ये मेलम्ची नगरपालिका–९ बस्ने कुमार गिरीको १८ वर्षीया छोरी निर्जला गिरी घटनास्थलबाट करिब १ किलोमिटर तल इन्द्रावती खोलाको किनारमा मृत अवस्थामा फेला परेकी थिईन् । त्यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिका–६ बस्ने निर्मल जोतीको १४ वर्षीया छोरी अन्जिता जोतीलाई खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब ३०० मिटर तल खोलाको किनारमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । दुवै शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि मेलम्ची नगर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
