सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको ३ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त तालिम विशेष गरी लामो समयदेखि मौरी पालन गर्दै आउनु भएका तर प्राविधिक ज्ञानको अभाव रहेका किसानहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिम २०८३ साल बैशाख १५ गते उद्घाटन भई वैशाख १७ गते समापन गरिएको थियो। समापन कार्यक्रममा हेलम्बु गाउँपालिका ७ का वडा अध्यक्ष, वडा नं। २ का वडा अध्यक्ष, कृषि शाखा प्रमुख लगायतको व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो।
तालिम अवधिभर सहभागी किसानहरूलाई मौरी पालन सम्बन्धी विभिन्न महत्त्वपूर्ण विषयहरूमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। तालिममा महको महत्त्व, मौरीको संरचना (रानी, कर्मी र भाले मौरी), मौरी घार तथा गोला व्यवस्थापन, परम्परागत र आधुनिक घारबीचको तुलनात्मक अध्ययन, मौरी सार्ने तरिका, हुल निस्कने प्रक्रिया, गृह त्याग, गोला विभाजन तथा समायोजन, मौरीका भित्री तथा बाहिरी शत्रुहरूको पहिचान र नियन्त्रण, खोपा मौरीलाई आधुनिक घारमा स्थानान्तरण गर्ने विधि तथा मौरीमा लाग्ने रोग तथा किराको नियन्त्रण जस्ता विषयहरू समावेश थिए। साथै, फिल्ड भिजिटमार्फत प्रत्यक्ष अवलोकन र अभ्यासको अवसर पनि प्रदान गरिएको थियो। समापन समारोहमा सहभागी किसानहरूलाई मौरी पालनमा आवश्यक सामग्रीहरू जस्तै टोपी, पन्जा तथा मौरी झोला वितरण गरिएको थियो।
उक्त तालिमले सहभागी किसानहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ, जसले भविष्यमा मौरी पालन व्यवसायलाई अझ प्रभावकारी र उत्पादनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ।
