राष्ट्र र राष्ट्रियताको प्राथमिक बयान
भवानी बराल
राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता आदि शब्दावलीको आफुलाइ लागे अनुसारको व्याख्या गर्नु नै राष्ट्रिय चरित्र र विशेषता मानिन्छ । अथवा कुनै न कुनै रुप आकारको देशभक्त । अझ यसमा ‘माटो सुहाउँदो’ सनातनी परम्पराको धर्म र शासकीय परम्परालाइ स्थापित गर्न खोज्ने खाँटी राष्ट्रवादी हुने भाष्य निर्माण गरिँदो छ । एउटा यस्तो भाष्य जहाँ परम्परागत राजतन्त्र र हिन्दु धर्मसापेक्ष पुनस्थापित भयो भने देश रहने, नत्र देशै नरहने आतंकी भाका प्रयोग हुँदै आएको छ । केही हदसम्म यो कुविचारले घर गर्दै गरेको पनि देखिन्छ ।राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता जस्ता शब्दावलीमा गलत अर्थ लगाएर फैलाइएको भ्रम चिर्न नसक्तानै आजको राष्ट्रिय राजनीति प्रतिगमनउन्मुख हुने क्रममा छ । प्रतिगमनको यो पारो बढ्दै जाने हो भने यसले अग्रगमनको सिकार गर...
