सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
डुम्रे (तनहुँ), १० असारः “कामको सिलसिलामा धेरै समय घर बाहिर भइन्छ, त्यतिबेला आफ्नो भाषा बोलिँदैन, हामीले काम गर्दै गर्दा खस भाषा मात्रै बोलियो । अहिले हाम्रो भाषा हराउने अवस्थामा पुगेको छ”, आँबुखैरेनी गाउँपालिका–२ घुम्तीका इन्द्रबहादुर भुजेलले गुनासो गर्नुभयो । आफ्नो भाषा कम बोलिने अवस्थाका कारण नयाँ पुस्ताले पनि भाषा सिक्न नसकेको उहाँले सुनाउनुभयो । पहिले त विद्यालयसम्म पुगेर पढ्ने अवस्था थिएन । एकापसमा भाषा बोलिएको हो र अहिले आफ्नो भाषामा पठनपाठन नहुने र खस भाषामा पढ्न सिक्दा आफ्नो मातृभाषा नै बोल्न नजान्ने भएका उहाँ बताउनुहुन्छ । “सिक्नुपर्छ भन्ने कुरा कहिलेकाहीँ हुन्छ”, उहाँ भन्नुहुन्छ, “सबैलाई मिल्ने भाषा बोलिँदा नै हामीले आफ्नै भाषा बिर्सिएका छौँ ।” व्यास नगरपालिका–१० बोटेगाउँका हर्षबहादुर बोटे पनि आफ्नो समुदायका बालबालिकाले परम्परागत भाषा नजानकामा चिन्तित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ...









