मानवीय श्रम र प्रकृतिको निशुल्क स्रोत साधन प्रयोग गरी कृत्रिम तरिकाले बालीजन्य र पशुजन्य वस्तु उत्पादन गर्नुलाई कृषि भनिन्छ । पशुपालन, बाली उत्पादन, मत्स्यपालन आदि यस अन्तर्गत पर्दछन।नेपाल एक कृषिप्रधान देश हो, जहाँ हाल ६०% भन्दा बढि जनता कृषि पेशामा आवद्ध छन् ।
किसानमा मुग्लान पसेर धेरै धन कमाउने रहर जाग्नु, माटोको उर्वरा शक्ति कम हुँदै जानू,राज्यको कृषि क्षेत्रप्रति चासो नहुनु,परम्परागत शैलीबाट खेती गरिनु आदि कारणले हाल नेपालमा सोचे जस्तो कृषिजन्य उपजको उत्पादन हुन नसकेको कुरा तपाईं हामु सामु जगजाहेर नै छ।किसानका हकहितमा राज्य नलाग्दा आज कृषि पेशा नै धरासायीमा परी देशको अर्थतन्त्र नाजुक हुन थालेको छ । यहाँ ६०.४ प्रतिशत जनता कृषिमा आश्रित भएको देशमा लगभग ३०९१ लाख हेक्टर जमिनमा २१ प्रतिशत खेती गरिएको छ ।
विश्व बैङ्कका अनुसार नेपालमा बहुसंख्यक मानिसका लागि खाना, आय र रोजगारीको मुख्य स्रोत कृषि हो।हाल देशको कुल ग्राहस्थ्य उत्पादन (न्म्ए) मा कृषिको करिब ३३% योगदान रहेको छ । आजको २१ औं शताब्दी विज्ञान तथा प्रविधिको युग भएको कारण परम्परागत शैलीलाई त्यागेर अब कृषि क्षेत्रमा आधुनिकीकरण खोज्ने बेला आएको छ।खलखली पसिना बगाउदै कुटो, कोदालो, हलो, सावेल आदि प्रयोग गरी श्रम गरेर हैन ट्याक्टर, थ्रेसर,पम्पसेट,टेलर आदि आधुनिक यन्त्र तथा उपकरणको प्रयोग गरी सजिलो तरिकाले बृहत मात्रामा कृषिजन्य वस्तुको उत्पादन गर्ने कार्यलाई कृषिमा आधुनिकीकरण भन्ने बुझिन्छ ।
पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा पनि आधुनिक कृषि कर्ममा आकर्षित हुन थालेका छन् । बाहिरको सीप र विकासलाई स्थानीय माटोसँग जोड्न युवाहरू आकर्षित हुन थालेको देखिन्छ । मुलुक संघीयतामा गएपछि युवाहरूको आकर्षण कृषि क्षेत्रमा बढेको छ।यसलाई सरकारले गहन अध्ययन गरेर बजारीकरण, अनुदान, उत्साहको वातावरण बनाउन ढिलो गर्नुहुँदैन । उन्नत बिउबिजन, मल,विषादी तथा प्रविधि र प्राविधिक सहयोग पाउने किसानको संख्या पनि अत्यन्त न्यून नै छ । कृषि उत्पादनमा गुणात्मक र परिमाणात्मक फड्को मार्न तीनै तहका सरकारले अल्पकालीन र दीर्घकालीन व्यावहारिक योजना ल्याउन आवश्यक छ ।
कृषि क्षेत्रमा सरकारले त्यति चासो नदिरहेको परिपेक्ष्यमा हाल नेपालमा कृषिमा आधुनिकीकरण भिœयाएर गुणस्तरीय मात्रामा कृषिजन्य वस्तु उत्पादन गरी स्वदेशी खपत तथा विदेशमा निर्यात गर्न कृषि सहकारीको गहन भुमिका हुनु पर्ने देखिन्छ । कृषि सहकारीले तालिम, सीप विकास, पूँजी संचालनदेखि बजारीकरणसम्मका क्रियाकलाप गरी कृषकहरुलाई आधुनिक कृषि गर्न प्रोत्साहन गर्न सक्दछ । त्यसै गरी ग्रामीण क्षेत्रमा भइरहेको कृषिजन्य उत्पादनको खेर जान नदिन त्यसको उत्पादनपरोन्त क्रियाकलापदेखि लिएर प्रशोधनका क्रियाकलापमा समेत सहकारीले भूमिका निर्वाह गर्न सक्छ । किसानलाई आवश्यक पर्ने मल, बीउ, विषादी, ट्याक्टर, थ्रेसर, पम्पसेट, सामग्री ढुवानी गर्ने टेलर आदि अनुदानको रुपमा उपलब्ध गराइ सम्बन्धि क्रियाकलापलाई व्यवस्थित गर्दै किसानलाई कृषि गर्न उत्प्रेरित गर्ने क्रियाकलापमा कृषि सहकारीले महत्त्वपूर्ण भुमिका खेल्न सक्छ । देशका विभिन्न ठाउँमा केही कृषि सहकारीले कृषिलाई आधुनिकीकरण गर्नका लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।
कोशी प्रदेश अन्तर्गत झापामा साना किसान कृषि सहकारीले चिया प्रशोधन उद्योग संचालन गरेको छ । किसानहरु सहकारीले संचालन गरेको चिया प्रशोधन उद्योगबाट खुसी हुनुका साथै त्यस क्षेत्रमा रोजगार समेत बढेको छ । कोशी प्रदेश बाहेक अन्यत्र जस्तै बागमती प्रदेशको काठमाडौं, बागबजार स्थित टुकुचामा करिब ८ रोपनी क्षेत्रफलमा २०६ ओटा स्टल सहितको तरकारी बजार हरित कृषि सहकारीले संचालन गरिरहेको छ भने काभ्रेको बनेपामा ९ रोपनी जग्गामा १३० ओटा सटरहरु भएको तरकारी बजार समृद्ध काभ्रे कृषि सहकारी संस्थाले संचालन गरिरहेका छन् । सिन्धुपाल्चोकको चौसागढि नगरपालिका वडा नं.१३ स्थित साना किसान सहकारी संस्थाले पनि कृषि औजार वितरण ,पशु बिमा,बाख्रा पालन, दूध संकलन जस्ता कार्य गरेर स्थानीय कृषकलाई आधुनिक कृषि गर्न निक्कै प्रोत्साहन गरेको पाइन्छ। त्यस्तै गण्डकी प्रदेश, कास्कीको सराङकोटमा रहेको साना किसान कृषि सहकारीले पर्यटन प्रवर्ध्दन, तरकारी खेती, पशुपालन, आयआर्जनका काममा समेत लगानी गर्दै आएको छ ।
कृषि उपजको खरिद बिक्री, बजारकृषि प्रशोधन उद्योग, मूल्य शृंखला, मह उत्पादन एवम प्रशोधन, पशु सुरक्षा कार्यक्रम, सामुदायिक वन तथा वैकल्पिक उर्जा कार्यक्रम, लैंगिक सशक्तीकरण, पिछडिएका वर्ग लक्षित कार्यक्रम गरेर एक समावेशी समाज निर्माणमा आजका कृषि सहकारीले भूमिका निर्वाह गर्न सक्दछन् । कुनै बेला देशले सहकारीलाई कार्यक्रममा राख्दा चर्चित बनेको नारा ‘गाउँ गाउँमा सहकारी ः घर घरमा भकारी’ सदैव समय सान्दर्भिक नै मानिन्छ । अहिले कृषिजन्य उत्पादनले बजार पाउने सहज अवस्था छैन । सहकारीले बजारीकरणमा अगुवाई नगरी यस स्थिति सुधारिन गाह्रो छ । सहकारी संस्थाहरुले समूह बनाई उत्पादन गर्ने, संस्था आफैंले कृषि उपज खरिद बिक्रि गर्ने, आफैं संकलन केन्द्र निर्माण गर्ने वा सो केन्द्रसम्म लैजाने प्रबन्ध मिलाउने, आफ्नै ब्राण्डमा उत्पादन बिक्रि गर्ने हो भने कृषि उत्पादनको बजारीकरणमा केहि हदसम्म सहजता ल्याउन सकिन्छ । कृषि सहकारीले यस खाले पहलकदमी लिएको खण्डमा कृषि क्षेत्रको विकास, उद्यमशिलता विकास, व्यावसायिकता जस्ता कुरामा सरकारले लिएको सोचलाई मूर्त रुप दिलाउन सघाउ पुर्यांउदछ । अन्त्यमा महिनाको २÷३ लाख कमाइ हुन्छ भनेर आधुनिक कृषि गर्न कोरिया पलायन हुने श्रमशक्तिलाई स्वदेशमै आकर्षण गर्न, लागत भन्दा बढि उत्पादकत्वमा वृद्धि गराउन, बिचौलियाको अन्त गरी उत्पादनको उचित मुल्य पाउन, पहाडी क्षेत्रमा सिँचाइको वैकल्पिक उपाए खोज्नका लागि हाम्रो जस्तो कृषिप्रधान देशमा कृषि सहकारीको अतुलनीय भुमिका रहने हो भने आधुनिक रुपमा ताजा कृषि उपज उत्पादन गरी स्वदेशमा खपत तथा विदेशमा निर्यात गरी आय आर्जन गर्न सकिने कुरामा दुई मत छैन । “समाप्त” लेखक प्रशान्त पुरी, कक्षा १० सेतीदेवी मा.वि., चौसागढी १३, सि.पा. ( साना किसान सहकारी ठुलोसिरुवारीद्धारा आयोजना गरेको वडा स्तरिय माबी तहको निबन्ध लेखन प्रतियोगितामा पहीलो भएको लेख)
