सिन्धुपाल्चोक — “उद्यम गरौँ, स्वरोज़गार बनौँ” भन्ने मूल नाराका साथ चौतारा साँगाचोकगढी नगरपालिकामा महिला लक्षित ६५ दिने सिलाई–कटाई तालिम सुरु गरिएको छ। नगर स्तरीय महिला सञ्जालको आयोजनामा सञ्चालन भएको उक्त तालिम बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्, हेटौंडा, मकवानपुरको समन्वयमा र चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको हो।
महिला दिदीबहिनीहरूलाई सशक्तिकरण गर्दै आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको तालिमको उद्घाटन सत्रमा सहभागीहरूले उत्साहजनक उपस्थिति जनाएका थिए। कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक तथा सह–प्रशिक्षकहरूका साथै विभिन्न सरोकारवाला व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा कार्यपालिका सदस्य तथा उद्यमी सानु माया गुरुङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, सिन्धुपाल्चोक जिल्ला शाखाका महासचिव हरि कुमार श्रेष्ठ, नगर स्तरीय महिला सञ्जालका पदाधिकारीहरू तथा सामाजिक क्षेत्रमा क्रियाशील रीना श्रेष्ठ लगायतको विशेष उपस्थिति रहेको थियो। सहभागीहरूले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने मात्र नभई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
तालिम अवधिभर सहभागी महिलाहरूलाई सिलाई–कटाई सम्बन्धी सीप प्रदान गरिनेछ, जसबाट उनीहरूले आफ्नै व्यवसाय सञ्चालन गरी आम्दानी गर्न सक्ने अपेक्षा गरिएको छ। यस किसिमका सीपमूलक तालिमले महिलाहरूको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने र स्वरोजगारका अवसरहरू विस्तार हुने विश्वास लिइएको छ। तालिमको शुभारम्भको अवसरमा सहभागी सबैले सामूहिक तस्बिर खिच्दै कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो। आयोजकका अनुसार आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी र व्यापक बनाउँदै लैजाने योजना रहेको छ।
