सम्पर्क

के हो जातिय समस्या समाधानमा कम्युनिष्ट दृष्टिकोण ?

क्रान्तिकारी कम्युनिष्टहरुले कुन कुरामा एकदमै स्पष्ट हुनु पर्दछ भने कुनै पनि जाति आधारित समाजलाई शोषण मुक्त तुल्याउने कुनै पनि क्रान्तिकारी कार्यक्रम जातिय प्रश्नलाई छोडेर बनाउन सकिदैन । हुन त यस सम्वन्धमा फरक फरक बिचारहरु छन् । पहिला सामाजिक–राजनीति धरातलमा केही सुनिश्चित र सचेत प्रयाशबाट जातिय ब्यवस्थालाई समाप्त पार्ने र त्यसपछि जनताका बिभिन्न शोषित पीडित बर्ग, तह र तप्काहरुलाई एकताबद्ध गर्न सम्भव हुन सक्तछ भन्ने कुरालाई शीरैदेखि अस्वीकार गर्ने पर्याप्त आधारहरु छन् । यसैगरी  अर्को यो धारणा पनि उत्तिकै गलत छ कि बर्गहरुको क्रान्तिकारी एक जुटता र सर्बहारा क्रान्तिको प्रकृयाले जाति–ब्यवस्थालाई समाप्त पार्नेछ । अतः यो(जाति–आधारित ब्यबस्था) कुनै छुट्टै महत्वपूर्ण प्रश्न नै होइन । तर के कुरामा एकदमै स्पष्ट हुनु आवश्यक छ भने सर्बहारा बर्गको नेतृत्वमा हुने समाजबादको आधारभूति तयार पार्ने नयाँ जनवादी क्रान्तिको तयारीको प्रकृया जाति आधारित उत्पीडनका बिभिन्न रुप र तिनका कारक एवं बाहक संस्थाहरुलाई स्पष्ट निशाना नबनाइकन अगाडि बढ्न सक्तैन । यसो नगरीकन जातिमा बिभाजित र सामाजिक पार्थक्यको शिकार बनाइएका ब्यापक श्रमजीवी जनताका बिभिन्न बर्गहरुको चेतनाको क्रान्तिकारीकरण तथा एकता पनि सम्भव छैन । साथै, क्रान्तिको अग्रदस्ताले जातिय बिभाजन उन्मूलनको एउटा ऐतिहासिक, बैज्ञानिक तथा तर्कसंगत बिकल्प प्रस्तुत गर्नु पर्दछ । जुन बिकल्प भलै दीर्घकालीन(स्वभाबैले यस्तो हुन्छ नै)हुन्छ तर त्यसका केही तत्कालीन कार्यभार पनि हुन्छन् । हो, निश्चय पनि के निर्धारित र आवश्यक छ भने जाति ब्यबस्थालाई अन्तिमरुपमा समूल नष्ट गर्नका लागि सर्बहारा राज्यको स्थापना पछि पनि उत्पादन सम्वन्धको समाजवादी रुपान्तरण र समाजवादी सामाजिक–राजनीतिक–शैक्षिक–साँस्कृतिक संरचनालाई क्रमशः उन्नत्तर पार्दै लग्ने सुदीर्घ प्रकृयाका साथै बिचार र सँस्कृतिको धरातलमा पनि शतत क्रान्तिको प्रकृया चलाइनु पर्दछ ।
बर्तमानमा जातिय ब्यबस्थाका सम्वन्धमा ठोस ब्यवहारमा अघि बढ्ने हो भने हाम्रा अगाडि कतिपय प्रश्नहरु खडा हुन्छन् । पूँजीपति, ठूला तथा मध्यम ब्यापारी, ठूला कर्मचारी, उच्च  किसान,ठूला कर्मचारीदेखि लिएर बिभिन्न उच्च मध्यम बर्गका मानिसहरु र अन्य यस्तै परजीवी जमात जो शासक बर्ग हुन् तिनका आपसी हितमा पनि टक्कर चल्छ, तर उनीहरु सबै ब्यापक श्रमजीवी जनता(मजदुर किसान)का बिरुद्ध राजनीतिक नीतिगत निर्णय र कारबाहीमा एकजुट हुन्छन् । अर्कोतिर गाउ र शहरका सर्बहारा, अद्र्ध सर्वहारा, निम्न मध्यम बर्ग र निम्न मध्यम किसान जो क्रान्तिका मूख्य शक्ति हुन्, तिनको एकताको बाटोमा अन्य समस्याका अतिरिक्त एउटा अहम र संबेदनशील समस्या उनीहरु बिभिन्न जात जातिमा बिभाजन हुनु पनि हो । उनीहरुका बीचका बिभिन्न स्तरमा सामाजिक पार्थक्य(कभनचभनबतष्यल)का साना ठूला पर्खालहरु खडा छन् । हाम्रो समाजमा जातिय पूर्वाग्रह तथा अन्तरबिरोध कुनै न कुनै रुपमा प्रायः सर्बब्याप्त नै छ । त्यसका पछाडि केवल अधिरचनात्मक कारण(पुराना संस्कार या कसै कसैको शब्दमा ब्राह्मणबादी सँस्कृतिको प्रभाव) नै मूख्य कारण हो या केही आधारभूत आर्थिक कारण पनि छन् जसले अधिरचनात्मक कारणहरुलाई सम्बल र बल प्रदान गरिरहेका हुन्छन् ?राम्रोसँग खुट्याइनु पर्दछ । प्रायजसो के देखिदै आएको छ भने कुनै पनि जातिगत टक्कर या दलित उत्पीडनको घटनाका पछाडि धेर थोर गहिराइमा आर्थिक हितहरुको टक्कर मूख्य कारण हुने गर्दछ । तर यस बिषयमा समाजमा जुन धु्रबिकरण हुन्छ त्यो जातिगत आधारमा नै हुन्छ । भोट बैंकको बुर्जुवा संसदीय राजनीतिले जाति धु्रबिकरणलाई आफ्नो एउटा मूख्य साधन बनाउँदछ तर के यही कुरा तीखो जातिय अन्तरबिरोधको मूख्य कारण हो ? जाति यदि केवल अतितको बोझा हो, सामन्ती अवेशष हो या कथित ‘ब्राह्मणबादी’ सँस्कृतिको प्रभाव मात्र हो भने त केही अग्रगामी सामाजिक आन्दोनले नै केही समयभित्र यसलाई उखेलेर फालिदिन्छ । तर कुरा यति हलुका छ भन्ने लाग्दैन । जाति ब्यवस्था स्वयंमा त्यत्तिको जड छैन जत्तिको यो छ भन्ने लाग्दछ । यसमा एउटा खाश किसिमको आन्तरिक गतिशीलता छ जसका कारणले यो हाम्रो समाजमा सामन्ती, अर्ध सामन्ती तथा अर्ध औपनिवेशिक स्थिति पार गर्दै आजको नब औपनिवेशिक स्थितिा पनि आफ्नो प्रभाबकारी उपस्थिति कायम राखिरहेको छ । बिभिन्न सामाजिक–आर्थिक संरचना अनुकूल ढल्नमा यो सक्षम थियो र बेग्ला बेग्लै ऐतिहासिक चरण र कालखण्डका शासक बर्गले आफ्नो हित परिपूर्ति गर्नका लागि यसलाई अनुकूलित गर्दै ल्याए ।
जाति तथा बर्ग बीचको अन्तर्संम्वन्धलाई लिएर कतिपय बिभ्रम त किताबी पण्डितरुका आफ्नै समस्याका कारणले पनि बनेका छन््् । केही माक्र्सवादकाप्रति अज्ञातपूर्ण पूर्वाग्रहले भरिएका उत्पीडित जातिहरुका अतीतका मान्य नेताहरुको प्रभावका कारणले पनि यस्ता भ्रमहरु उत्पन्न भएका छन् भने कतिपय बिभ्रम चाँही अमेरिकी समाजशास्त्रीय बिचार र ‘अस्मिताको राजनीति’ जस्ता उत्तर–आधुनिकबादी बुर्जुवा बिचारधाराका कारणले पनि पैदा गरिएका छन् । अनि केही दलित जातिहरुबाट बिकसित भएका निम्न बुर्जुवा बुद्धिजीवीहरुको आफ्नो बर्गहितबाट प्रेरित भएर अघि सारिएका सिद्धान्तका कारणले र अद्र्ध र संशोधनबादी माक्र्सवादीहरुको यान्त्रिक भौतिकबादी ब्याख्या बिश्लेषण र भ्रमका कारण पनि यो समस्या सिर्जना भएको छ । यद्यपि यी बिभ्रमहरुका ठोस भैतिक कारणहरु पनि छन् । एउटा प्रमुख बस्तुगत आधार के छ भने दलित मानिएका जातिहरुको बहुसंख्या सर्बहारा र अर्ध सर्बहारा(धेरैजसो ग्रामीण तथा शहरमा पनि बढ्दो संख्यामा) छ । सर्बहारा तथा अद्र्ध सर्बहारा बर्गको बहुसंख्या दलित जातिहरुबाट आउदैन । आज गाउँमा जो टाठाबाट कुलक छन् ती धेरैजसो मध्य जातिका छन र दलितहरुको उत्पीडन गर्नमा तिनीहरु सबर्ण जातिका पूर्व सामन्ती–भूस्वामीभन्दा अझ अगाडि छन् र तिनै मध्य जातिहरुको बहुसंख्यक जनसंख्या भने गरीब या निम्न स्तरका किसान छन् र मजुदर बर्गमा पनि परिणत भइसकेका र आइसकेका छन् । पूँजीपतिमा सबै जातिका मानिसहरु(यद्यपि दलित नाम मात्रका छन्), तर कर्मचारीतन्त्र र बौद्धिक पेशामा बिशेषगरी उच्च स्तरमा आज पनि मूख्यतः सबर्णकै बर्चश्व रहेको छ । यस्तो स्थितिमा के ब्यवहारिक प्रश्न खडा हुन्छ भने जाति ब्यवस्था बिरोधी कुनै संयुक्त मोर्चा कसरी बन्ला ? सबर्ण तथा अन्य जातिका गरीब श्रमजीवी जातलाई क्रान्तिकारी जनवादी चेतनाद्वारा सुशिक्षित र सुसज्जित नतुल्याइकन र साझा आर्थिक–राजनीतिक हितका मुद्दाहरुमा उनीहरुलाई एकजुट नपारीकन के यस्तो मोर्चा सम्भव छ ? त्यसैले जबसम्म यस्तो प्रकृयालाई अगाडि बढाइदैन तबसम्म जनताका बिभिन्न बर्गहरुलाई क्रान्तिकारी एकजुटता र रणनीतिक संयुक्त मोर्चा बनाउन पनि सम्भव होला ? अनि यस प्रकृयामा जातिगत आधारमा के केवल दलितहरुको एकता र तिनको वास्तविक मुक्ति या भेदभावपूण जाति–उन्मूलनको गन्तब्यसम्म हामी पुग्न सकौला ? यी अन्त्यन्तै गम्भीर, गहन र गहिरो छलफलका ज्वलन्त बिषयहरु हुन् ।
तर प्रष्ट के छ भने संबैधानिक, बैधानिक केही सहुलियत, केही सुबिधाहरुले मात्र जाति आधारित समाजको अन्त्य हुन सक्तैन । उनीहरु बीचको सामाजिक पार्थक्य, अपमान र दोश्रो दर्जाको समाजिक स्थितिको पूर्णतः समाप्ति र  जाति प्रथाको अन्त्य हुन सक्तैन भन्ने यथार्थ नै अहिलेसम्मको ब्यवहार र अनुभवले प्रष्ट पारेको छ । त्यसैले जातिय भेदभाव र बिषमताको अन्त्य हुनुपर्ने चर्को आवाज उठाइए पनि सहुलियत र सुबिधाको दायरामा सीमित रहेर यसको समाधान बर्तमान सामाजिक अबस्था र ब्यवस्थामा हुन सक्तैन भन्ने कुरा नै फेरि पनि प्रष्ट हुन्छ । एउटा कुरा निश्चयकासाथ भन्न सकिन्छ कि सामन्ती पूँजीवादी शोषणमा आधारित समाजमा जाति ब्यवस्था र यसले उत्पन्न गर्ने बिभेद र बिषमताको अन्त्य हुन सक्तैन । यसका लागि नयाँ जनवादी क्रान्ति हुँदै यसले समाजवादी क्रान्तिको चरणबाट गुज्रनै पर्दछ । उत्पादन सम्वन्ध नबदलीकन जाति प्रथाको अन्त्यको परिकल्पना नै गर्न सकिदैन । त्यसैले जातिय समस्यालाई पनि हामीले द्वन्दात्मक भौतिकबादी दृष्टिकोणले यसको उत्पत्ति, बिकास र बिनाशको गतिशीलतमा हेर्नु पर्दछ र सही ब्याख्या र बिश्लेषण गरेर निष्कर्शमा पुग्नु पर्दछ ।