मानसिक स्वास्थ्य, समस्या र समाधानका लागि अभिमुखीकरण अभियानः चौतारा साँगाचोकगढी नगरपालिकाको पहल
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले मानसिक स्वास्थ्य समस्याको पहिचान, समयमै उपचार, र आत्महत्या जस्ता घटनाहरूको न्यूनीकरणका लागि अभिमुखीकरण अभियान सञ्चालन गरेको छ । मानसिक स्वास्थ्य समस्याका कारण औषधि सेवन गरिरहेका व्यक्ति, उनीहरूका परिवारका सदस्य, सरोकारवाला निकाय, जनप्रतिनिधिका बीचमा अन्तरक्रिया तथा अभिमुखीकरण अभियान चलाइएको हो ।
नगरपालिकाको वडा नम्बर १ स्याउलेको स्वास्थ्य चौकीमा भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानसिक रूपमा स्वस्थ रहनु व्यक्तिको लागि मात्रै नभएर समाजको लागि पनि महत्वपूर्ण रहेकाले आफूहरूले प्राथमिकताका साथ अभिमुखीकरण अभियान चलाएको बताउनुभयो । मानसिक समस्या लुकाउनुपर्ने वा देखाउन र भन्न नहुने समस्या नभएकाले समयमा नै पहिचान तथा उपचारका लागि खुलेर आफ्नो कुरा राख्न मेयर सापकोटाले अनुरोध गर्नुभयो ...
