सम्पर्क

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

सुमन गुरुङ /काठमाडौं

गत भदौ १० गते आएको बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूको सम्झनामा काठमाडौंको सुकेधारास्थित नमोबुद्ध गुम्बामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
तमु गुरुङ ह्युल छोज धी जिल्ला कार्यसमिति सिन्धुपाल्चोक, तमुश्यो जिल्ला कार्यसमिति तथा बुङ्गाथली तमु ह्युल छोज धीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा तमु गुरुङ ह्युल छोज धी सिन्धुपाल्चोक जिल्ला अध्यक्ष रबी गुरुङ, तमुश्यो जिल्ला अध्यक्ष दुर्गा गुरुङ, प्रदेश प्रचार सचिव पवित्रा गुरुङ तथा केन्द्रका सदस्य मानकाजी गुरुङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा तमु गुरुङ ह्युल छोज धीका पूर्व संस्थापक जिल्ला अध्यक्ष भक्तबहादुर गुरुङ, तमु गुरुङ ह्युल छोज धी विद्यार्थीका संस्थापक जिल्ला अध्यक्ष सुमन गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य भरत गुरुङ, पराजुली समाजका अध्यक्ष पुण्यप्रसाद पराजुली उत्तम लगायत करिब ७० जनाको सहभागिता थियो । श्रद्धाञ्जली कार्यक्रममा मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा मृतकका परिवारजनले सरकारको खोज तथा उद्धार प्रयास सकारात्मक रहेको बताउँदै अझै बेपत्ता रहेका आफन्तहरूको खोजी कार्यलाई तीव्र बनाउन आग्रह गरेका थिए ।
विशेषगरी माथिल्लो क्षेत्र तथा चीनको सीमा आसपाससम्म खोजी कार्य विस्तार गरी आफ्ना परिवारका सदस्यहरूको शव फेला पारिदिन उनीहरूले सरकारसँग अनुरोध गरेका थिए । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उपस्थित वक्ताहरूले बाढी–पहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोजी कार्यलाई सरकारले यथाशीघ्र प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको अन्त्यमा संस्थापक अध्यक्ष भक्तबहादुर गुरुङले शान्ति मन्त्र जप गर्दै १०८ वटा दीप प्रज्वलन गरी श्रद्धाञ्जली कार्यक्रम समापन गरेका थिए ।