चीनको केरुङ क्षेत्रस्थित रसुवा नाकामा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकहरूलाई तातोपानी नाका हुँदै सुरक्षित रूपमा स्वदेश फर्काइएको छ । भोटेकोशी नदीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि ती नेपाली चीनतर्फै रोकिएका थिए ।
गत असार २४ गतेदेखि मितेरी पुल अवरुद्ध भएपछि केरुङमा थुनिएका २०३ जना नेपालीलाई बुधबार बिहान चिनियाँ सुरक्षा निकायको सहकार्यमा २० वटा गाडीमार्फत तातोपानी नाकामा ल्याइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । उहाँका अनुसार फर्काइएका नेपालीहरू अधिकांश रोजगारीको शिलशिलामा चीन गएका थिए, भने केही ट्रान्सपोर्ट क्षेत्रमा गाडी चालकका रूपमा कार्यरत थिए ।
लामो समयदेखि चीनको केरुङ क्षेत्रमै सुरक्षित स्थानमा राखिएका ती नेपालीलाई नेपाल ल्याउन नेपाल सरकार र चिनियाँ पक्षबीच निरन्तर समन्वय भइरहेको थियो । तातोपानी नाका क्षेत्रमा नेपाल–चीन सीमास्थित मितेरी पुल नजिकै चिनियाँ अधिकारीहरूले नेपाली पक्षका प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख, र सशस्त्र प्रहरी प्रमुखको उपस्थितिमा ती नागरिकहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार, सबै नेपाली नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणपछि उनीहरूलाई आ–आफ्नो गृह जिल्ला फर्काउने प्रक्रिया सुरु गरिएको छ । “स्वास्थ्य जाँचपश्चात उनीहरूलाई तत्काल घर पठाउने व्यवस्था मिलाइएको छ,“ उहाँले बताउनुभयो । सिन्धुपाल्चोकमा रहेको तातोपानी नाका नेपाल–चीन व्यापार र पारवहनको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा तातोपानी प्रयोग गरिएको हो । यस घटनाले नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढी र भू–पूर्वाधारको संवेदनशीलता झल्काएको छ । साथै, विपद्का बेला दुवै देशबीचको सहकार्य र आपसी समझदारी पनि देखिएको छ ।
फसेकाहरुलाई तातोपानीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेत, नेपाली काँग्रेस १ नं. क्षेत्रका क्षेत्रीय सभापती एवम बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत लगाएतले स्वागत गर्दै बाह्रबिसे नगरपालिकाले उहाँहरुको बास स्थान काठमाण्डौंसम्म जानका लागी निःशुल्क बसको व्यवस्था गरिएको थियो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्ब मनत्री मोहन बहादुर बस्नेतको निर्देशन बमोजिम आफुहरुले निःशुल्क बसको व्यवस्था गर्ने निःशुल्क खानको समेत प्रबन्ध मिलइएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताउँनु भयो । बस्नेतले अरु नेता तथा यसै क्षत्रका माननीय समेत यहाँ देखा नपर्नुमा आफुहरुलाई दुख लागेको बताउँदै नागरिकको सेवामा लागी रहनु भएको को हो जनताले चिनेका बताउँनु भयो ।
