सम्पर्क

सिन्धुपाल्चोकका एसइइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई शिक्षक संगठनद्वारा सम्मान

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सिन्धुपाल्चोकले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ । मंगलबार जिल्लाका सबै १२ स्थानीय तहबाट सामुदायिक विद्यालयतर्फ पालिकागत रूपमा उत्कृष्ट तथा संस्थागत विद्यालयतर्फ जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा चौतारा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा संगठनका बागमती प्रदेश अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेकपा (एमाले) जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, संगठनकी राष्ट्रिय समिति सदस्य मैयाँ पौडेल, बुद्धिजीवी परिषद्का अध्यक्ष राधाकृष्ण श्रेष्ठलगायत शिक्षक महासंघका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका १२ वटै पालिकाबाट जीपीए ४ ल्याउने ६ जना सहित १७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

चौताराबाट रोजिना स्याङतान, इन्द्रावतीबाट अबिरल श्रेष्ठ, पाँचपोखरीबाट आशिष बम्जन, बलेफीबाट सृष्टी नेपाल, शुभेक्षा श्रेष्ठ र म्हेन्दो लामा, जुगलबाट प्रशान्त चाम्सल र आयुष सापकोटा, सुनकोशीबाट सन्दीप खड्का, मेलम्चीबाट प्रशान्त चालिसे, सबिना थापा र सन्तोष गिरी, लिसंखुबाट फुर्साङ तामाङ तथा हेलम्बुबाट गौरव शर्मा सम्मानित भएका हुन् ।

सो अवसरमा संगठनको नेतृत्व गरेका निवर्तमान अध्यक्ष मैयाँ पौडेललाई हालै सम्पन्न १४औं राष्ट्रिय महाधिवेशनबाट राष्ट्रिय समितिमा निर्वाचित भएकोमा बधाई र सम्मान समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा अन्य वक्ताहरूले सम्मानित विद्यार्थीलाई अझै मेहनत गरेर उज्ज्वल भविष्य निर्माणतर्फ अघि बढ्न प्रेरणा दिनुभएको थियो ।

कार्यक्रम जिल्ला समिति अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सचिव लेखनाथ भट्टराईले सञ्चालन गनुभएको थियो ।