दश महिनामा पाँच हजारभन्दा बढी डढेलो
काठमाडौँ, ४ जेठः करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएको छ । वन तथा भू–संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को साउनयताको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष वैशाखमा डढेलोको घटना भएका छन् । विभागको तथ्याङ्कानुसार चालु आवका साउनमा डढेलोको घटना शून्य छ । वर्षात्को समयमा पानी पर्ने र वनजङ्गलको पातपतिङ्गर ओसिलो हुँदा डढेलो कम लाग्ने विभागले जनाएको छ । यसैगरी विभागको तथ्याङ्कानुसार भदौमा एक, असोजमा तीन, कात्तिकमा पाँच, मङ्सिरमा ३५, पुसमा एक सय तीना आगलागीका घटना भएका थिए । यसैगरी माघमा जम्मा ८३ वटा आगलागीका घटना भए भने फागुनमा डढेलाको सङ्ख्या बढेर दुई सय छ पुग्यो । चैत महिना अझै बढी सुक्खा हुँदै गएपछि डढेलाको घटना पनि बढेर एक हजार चार सय २४ पुगेको विभागको तथ्याङ्कमा उल्ल...
