सम्पर्क

जुगलले दियो आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन आधुनिक औजार

दुर्गा श्रेष्ठ
जुगल गाउँपालिकाले परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन सहयोग गरेको छ । आरन सुधार कार्यक्रमअन्तर्गत गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिलाई यसको सुधार गर्दै प्रविधिमैत्री बनाउन तथा व्यवसाय प्रवर्द्धनका लागि विभिन्न आधुनिक औजार सामग्री सहयोग गरेको हो । गाउँपालिका भित्र रहेर परम्परागतरुपमा आरन व्यवसाय गर्दै आएका ५३ जनालाई उनीहरूको पेसा थप व्यवस्थित बनाउन आवश्यक औजार सहयोग गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताउनुभयो । आरन व्यवसाय संकटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जीविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउँदै यसमा आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखी सहयोग प्रदान गरेको अध्यक्ष स्याङबोले बताउनुभयो । आरन सुधार कार्यक्रमअन्तर्गत हावा दिने , कटिङ , वाईलिङ मेसिन लगायतका सामग्री प्रदान गरिएको हो । ’गाउँघरमा अझै पनि आरन व्यवसायबाटै गुजारा चलाउने धेरै हुनुहुन्छ, यो पेसा व्यवस्थित बनाउँदै लैजाने, पेसा नै संकटमा पर्ने अवस्था रोक्ने उद्देश्यले पालिकाले आरन सुधार कार्यक्रम राखेको र सोहीअनुसार सहयोग गरिएको हो’, अध्यक्ष स्याङ्बोले भन्नुभयो । आधुनिक औजारले कम श्रममा बढी आम्दानी लिन साथै गुणस्तरीय उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।