सम्पर्क

युनाइटेड फेलोसिप नेपालको आयोजनामा भारतमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम,

काठमाडौं । मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, प्रभावित व्यक्तिलाई सहयोग तथा उनीहरूको पुनस्र्थापनाका लागि भारत र नेपालका दुई संस्थाबीच सहकार्यमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ ।भारतको गोवास्थित गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनस्र्थापना केन्द्र र नेपालको ललितपुरस्थित युनाइटेड फेलोसिप नेपाल (यूएफएन) को संयुक्त आयोजनामा सन् २०२६ अक्टोबर २७ अर्थात् २०८३ साल कात्तिक १० गते कार्यक्रम आयोजना गरिएको हो ।‘स्वस्थ भोलिका लागि सँगै अघि बढौँ’ भन्ने नारासहित आयोजित कार्यक्रमको मुख्य उद्देश्य मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउनु, मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित व्यक्तिलाई सहयोग तथा समर्थन उपलब्ध गराउनु र उँहाहरूको जीवनलाई सहज, स्वस्थ तथा सम्मानजनक बनाउन योगदान पु¥याउनु रहेको बताइएको छ ।कार्यक्रममा मानसिक स्वास्थ्य सचेतना, सहयोग तथा समर्थन र पुनस्र्थापनालाई मुख्य विषयका रूपमा समेटिएको छ । मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई बुझ्ने, प्रभावित व्यक्तिप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने तथा उहाँहरूलाई आवश्यक परामर्श, सहयोग र पुनस्र्थापनाको अवसर उपलब्ध गराउने विषयमा जोड दिइएको छ ।कार्यक्रमअन्तर्गत गोवाको सिबाया बिच रिसोर्टमा दुवै संस्थाका प्रतिनिधिबीच संयुक्त बैठकसमेत भएको छ । बैठकमा गाना गोवाका तर्फबाट मनोचिकित्सक डा. प्याट्रिक र मनोसामाजिक परामर्शदाता फ्रान्सिस्को फर्नान्डिस सहभागी थिए । युनाइटेड फेलोसिप नेपालका तर्फबाट संस्थापक अध्यक्ष सुजिन महर्जन सहभागी हुन भएको थियो ।बैठक तथा कार्यक्रमले मानसिक स्वास्थ्यका क्षेत्रमा अनुभव आदानप्रदान, सहयोग विस्तार र पुनस्र्थापनासम्बन्धी पहललाई अघि बढाउने निर्णय गरेको संस्थापक अध्यक्ष महर्जनले जानकारी दिनु भयो ।‘आशा जगाउँदै, जीवन पुनस्र्थापित गर्दै, एकसाथ अघि बढ्दै’ भन्ने सन्देशका साथ आयोजित यस पहलले मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिलाई एक्लो महसुस हुन नदिई उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सामाजिक सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको सन्देश दिएको उहााले बताउँनु भयो । गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनस्र्थापना केन्द्र र युनाइटेड फेलोसिप नेपालबीचको सहकार्यले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, मनोसामाजिक सहयोग तथा पुनस्र्थापनाका क्षेत्रमा आगामी दिनमा थप सहकार्यका सम्भावना विकास गर्ने अपेक्षा गरिएको छ ।यसै क्रममा युनाइटेड फेलोसिप नेपालका संस्थापक अध्यक्ष सुजिन महर्जनले गाना गोवा मानसिक स्वास्थ्य तथा पुनस्र्थापना केन्द्रको टोलीप्रति आभार व्यक्त गर्नु भएको छ । उँहाले नेपाली टोलीलाई प्रदान गरिएको न्यानो स्वागत र आत्मीय सम्मानका लागि संस्थाको सम्पूर्ण टोलीलाई धन्यवाद दिँदै त्यहाँबाट प्राप्त माया, सद्भाव र आतिथ्य सधैँ स्मरणीय रहने बताएका छन् । (समाचार फोटो शान्ताराम बिडारी बाट)