प्राकृतिक जडीबुटीको भण्डारका रूपमा चिनिने सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा रहेको बहुमुल्य जडिबुटी पहिचान र सदुपयोग गर्न नसक्दा बर्सेनि खेर गईरहेको छ । जैविक विविधताले भरीपूर्ण क्षेत्रमा पाईने दुर्लभ जडीबुटीहरुको वैज्ञानिक खोज, अनुसन्धान तथा उपयोग नहूँदा करोडौंको सम्पत्ति छाडा चौपायाको चरन बनेको हो । ‘यस क्षेत्रका बासिन्दा बहुमूल्य जडीबुटीको बारेमा अनभिज्ञ छन् । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा चिराईतो , कुड्की, नागबेली, पाउडर झ्याउ, ठुलो ओखतो, लोठसल्ला, धुपी, सुनपाती, जटामसी लगायत जडिबुटी पाईन्छ । निकुञ्ज क्षेत्रको स्याउले, सेलाङ, गुम्बा , गोल्चे, गुन्सा, थाङपालकोट, भोताङ लगायतका जँगलहरूमा यस्ता जडिबुटी प्रशस्त मात्रामा पाईने गरेको पाँचपोखरी थाङपाल गाउपालिका वडा नम्बर – ५ गुन्साका वडाअध्यक्ष काले गोलेले बताउनुभयो । अन्य जडिबुटी सँकलन नभए पनि आँशिक रूपमा यार्सागुम्बा सँकलन गर्न सुरू भएको पाँचपोखरि थाङपाल गाउँपालिका वडा नम्बर –३ का वडाअध्यक्ष निमछिरिछ तामाङले जानकारी दिनुभयो । यस क्षेत्रका कमैले मात्रै रोग लागेपछि मेडिकलको औषधि प्रयोग गर्ने गरेको भोताङका निरवहादुर तामाङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – जे भए पनि यहिको झारपातलाई औषधि बनाएर खाने गरेका छौं ।
राजधानिबाट नजिक रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी ईन्द्रबहादुर गुरूङलाई जडिबुटीको सदुपयोग नहुँदा दुःख लागेको बताउनुहुन्छ । हामी प्रकृतिको निशुल्क अनुपम उपहार औषधी छोडेर भारतबाट आयात हुने सिटामोल खाईरहेका छौं ।’ उहाँका अनुसार साधनस्रोत तथा ज्ञान अभावमा वर्षेनी करोडौं मूल्यका जडीबुटी सदुपयोग हुन नसकेको खेर गईरहेका छन् । यस क्षेत्रमा पाईने महत्त्वपूर्ण जडिबुटी पहिचान गरेर यसको सदुपयोग गर्नसके यस क्षेत्रका वासिन्दाको जीवनस्तर उठ्न सहज हुने गुरूङले बताउनुभयो ।
