पछील्लो समयमा खेतबारी जोत्नका लागी गोरुको चलन हराउँदै जाँदा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले गोरु पालक कृषकलाइ कार्यक्रमा नै समाबेस गरेर प्रोत्साहन सहयोग गर्दै आएको छ ।
यस अबस्थामा पछिल्लो समय गोरु पालन गर्ने किसानहरूको संख्या क्रमिक रूपमा घट्दै गएको देखिएको छ। आधुनिक प्रविधि र मेसिनको प्रयोग बढ्दै जाँदा परम्परागत खेती प्रणाली ओझेलमा पर्दै गएको अवस्थामा गाउँमै बसेर गोरु पाल्दै कृषि कार्यमा सक्रिय किसानहरू भने अझै आत्मनिर्भर कृषि अभ्यासको उदाहरण बनेका छन्।यही सन्दर्भमा बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत ले गाउँमै गोरु पालेर खेतीपाती गरिरहेका एक किसानलाई भेट्दै सम्मान व्यक्त गर्नुभएको छ। उहाँले गोरु पालेर कृषि उत्पादनमा योगदान पु¥याएको भन्दै किसानलाई धन्यवाद ज्ञापन गर्नुका साथै प्रोत्साहन समेत प्रदान गर्नुभएको छ ।नगर प्रमुख बस्नेतले परम्परागत खेती प्रणालीको महत्व औंल्याउँदै गोरु पालनले अर्गानिक मल उत्पादनमा सहयोग पुग्नुका साथै बाँझो जमिन जोत्न सहज बनाउने बताउनुभयो। “आफ्नो कृषियोग्य जमिन बाँझो राख्नु हुँदैन, गोरु पालनले खेतीलाई आत्मनिर्भर बनाउँछ,” उहाँले भन्नुभयो।गाउँमै बसेर आफ्नै जमिनमा हलो जोत्दै उत्पादन बढाउने प्रयास गरिरहेका किसानप्रति नगर प्रमुखको यो कदमले अन्य कृषकहरूलाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। स्थानीय तहबाट यस्तो प्रोत्साहनले परम्परागत कृषि प्रणालीको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
