पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ का ५२ वर्षीय माईला तामाङलाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई यसअघिका चुनावमा पनि विभिन्न पार्टीका उम्मेदवारले धेरैथरीका आश्वासन दिएका थिए । “चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भनेका थिए”, उहाँले दुःखेसो पोख्नुभयो, “तर जितेर गएपछि एउटा वैशाखी पनि दिएनन् । निर्वाचनका बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरेपनि जितेर गएपछि गाउँ फर्केर नआएको तामाङले बताउनुभयो । “हामी त भोट बैंक मात्रै भयौँ, मत माग्नका लागि चुनावैपिच्छे झुटो आश्वासन दिन्छन्, जितेपछि गाउँलाई फर्केर पनि हेर्दैनन्”, उहाँले भन्नुभयो । यसपटक ऋण तिर्ने गरी आयआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उहाँको भनाइ छ । वर्षौँदेखि दलहरूले सपना मात्रै बाँडिरहेको तामाङ बताउनुहुन्छ । “गाउँमा मजदुरी नपाउँदा अधिकांश युवा कमाइ गर्न भारत गएका छन्, पुख्यौली पेशा पनि सङ्कटमा परेपछि जीविकोपार्जनमा समस्या हुँदै आएकोमा कसैले चासो दिएका छैनन्”, उहाँले भन्नुभयो । गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उहाँको भनाइ छ । झन्डै तीन–चार वर्षदेखि यस गाउँका अधिकांश नागरिक ऋण गर्दै दैनिक गुजारा गर्नुपर्दा गाउँ छाड्न बाध्य बनेका पाइन्छ । हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्ने दलहरूले दलित समुदायको समस्याका कुरा वर्षौँदेखि बिर्सिरहेको उहाँहरुको गुनासो छ । “गरिब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरिएकोमा निकै दुःख लागिरहेको छ, । अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेण्डा फेरि दोहोरिएको माईला तामाङले बताउनुभयो । “यसपल्ट पनि हाम्रा लागि फकाउने पूरानै एजेण्डा मात्रै छन”, उहाँले भन्नुभयो, “अब त यो चुनावमा पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।”
