सम्पर्क

खेलकुदले जीवनलाई गतिशल, निरोगि र अनुशासित बनाउने ,नगर प्रमुख तामाङ

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले खेलकुदले जीवनलाई गतिशल, निरोगि र अनुशासित बनाउने बताउनुभएको छ । योङ स्टार युवा क्लव, मेलम्ची–७ ले आयोजना गरेको सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिवल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथीको आशनबाट बोल्दै उहाँले मेलम्ची नगरपालिकाले खेलकुदलाई प्राथिमकतामा राखेको बताउनुभएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई स्वास्थ्य, अनुशासन, एकता र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो । नगरप्रमुख तामाङले भलिबल

जस्तो खेलले युवाहरूमा सहकार्य, नेतृत्व, धैर्य तथा प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले पालिकाहरूबीच आपसी सम्बन्ध मजबुत बनाउनुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनमा ठूलो योगदान पु¥याउने बताउनुभयो ।उहाँले मेलम्ची नगरपालिका सधैं युवा, खेलकुद र सिर्जनशील गतिविधिको प्रवद्र्धनमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै वडा नम्बर ७ ले खेलकुद क्षेत्रमा गरेको यो पहल प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो । सीमित स्रोतसाधनका बाबजुद पनि यति व्यवस्थित प्रतियोगिता आयोजना गर्न सफल भएकोमा आयोजकलाई धन्यवाद दिँदै प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई खेल भावना, अनुशासन र मर्यादा कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो। नगरप्रमुख तामाङले हार–जीत खेलको स्वाभाविक पक्ष भएको उल्लेख गर्दै अनुशासन र भाइचारा सधैं जितिरहोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभयो। यसै गरी कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिका, विशेषगरी वडा नम्बर ७ ले खेलकुद क्षेत्रमा देखाएको सक्रियता अत्यन्तै सराहनीय रहेको बताउनुभयो। उहाँले यस्ता खेलकुद कार्यक्रमले युवाहरूलाई गलत बाटोबाट जोगाउँदै स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।उपप्रमुख प्रधानले नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि खेलकुद, महिला सहभागिता र युवामैत्री कार्यक्रमलाई निरन्तर प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई इमानदार प्रतिस्पर्धा, आपसी सम्मान र खेल भावनाका साथ खेल्न अनुरोध गर्नुभयोकार्यक्रममा वडाअध्यक्ष पासाङ तामाङलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको फाइनल खेलमा आयोजक योङ स्टारलाई पछि पार्दै जुगल गाउँ पालिकाले उपाधि चुमेको थियो ।। दुवाचौरमा आयोजित मेलम्ची नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा योङ स्टार युवा क्लवद्वारा आयोजित सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता २०८२ को उपाधी जुगल ‘बी’ ले जितेको हो।बिहीबार भएको फाइनल खेलमा आयोजक योङ स्टार युवा क्लव र जुगल गाउँपालिका ‘बी’ बीच भएको रोमान्चक खेलमा ३–१ ले जित निकाल्दै जुगल ‘बी’ ले उपाधी हात पारेको हो ।त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा हेलम्बु गाउँपालिकालाई हराउँदै सेलेले तेस्रो स्थानमा चित्त बुझाएको छ भने हेलम्बु गाउँपालिकाले सान्त्वना स्थानमा चित्त बुझाएको छ ।चार दिनसम्म संचालन भएको प्रतियोगिताका विजेताले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हुनेले नगद ५० हजार, ३० हजार र १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक एवम् योङ स्टार युवा क्लवका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाभरका १४ टिम सहभागी थिए । कार्यक्रममा विजेताहरुलाई नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष पासाङ तामाङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।