सम्पर्क

कोदो खाने रहर, जानु पर्छ शहर

वराज बस्नेत
कोदोवाली स्वास्थ्य पोषण व्यवसाय वातावरणीय र खाध्य सुरक्षामा महत्वपूर्ण मानिन्छ । थोरै खाए पुग्ने, आडिलो विस्तारै पच्ने, छिटो पाक्ने, लगानी कम, मलजल कम चाहिने, सवै ठाँउ र रुखोपाखो जमिनमा पनि फल्ने, रोगाकिरा कम लाग्ने, विषादी र रसायनिक मल नचाहिने, दाना र पिठोबाट बन्ने सम्पुर्ण परिकार बनाउन मिल्ने पोसिलो र आडिलो खाध्य बालिको रुपमा लिन सकिन्छ । यसले खाध्य सुरक्षा र अर्थ तन्त्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको पाइन्छ ।
खाध्य सुरक्षा र पोषणमा बरदान
चामलमा भन्दा क्याल्सियम ३५ गुणा र आइरन १५ गुणा बढी कोदोमा पोषण तत्व पाईने पोषण युक्त अनाज भएकोले मानवलाई चाहिने सन्तुलित पोषण तत्व कार्बाेहाइड्रेट कम र अन्य लवण, आइरन, क्याल्सीयम, फस्फोरस र अमिनोएसिड लगायतका तत्वहरु प्रसस्त पाइने, ग्यूटेक नहुने लेक्टीन नहुने र सवै उमेर समूहका रोगी व्यक्तिहरुले समेत उपयोग गर्न मिल्ने औषाधिय गुण भएको मानवलाई रोग नलाग्ने तथा रोग लागिहाले पनि निको पार्न सहयोग पु¥याउने भएकोले स्वास्थ्य सुरक्षामा कोदोको महिमा बढ्दै गएको छ । पानी कम चाहिने सुख्खा तथा तातो सहन सक्ने भएकोले देशको तराई देखि उच्च पहाडसम्म सवै तिर उत्पादन हुने, प्राङगारिक रुपमा उत्पादन लिन सकिने हावा, पानी र माटोमा सुधार ल्याउने र जलबायु परिबर्तनको असर समेतले कुनै प्रभाब नपार्ने भएकोले कोदोलाई साना तथा सिमान्त किसानको जिविकोपार्जनको प्रमुख साधनको रुपमा मानिदै आएको छ ।
बिबिधिकरण र परिकार
पुर्खाहरुले कोदो खेती गरि कोदोको ढिडो, रोटी, पुवा र खोले जस्ता परिकार बनाएर खाई कडा परिश्रम गर्दै आएकोमा हाल कोदोबाट विस्कुत, कोदो चिया, कोदो कफी, कोदोको झोल बनाउनका साथै परिकारलाई विविधिकारणमा जोड दिदै केक, मःम, पिजा लगायतका परिकार बनाई सेबन गर्न थालिएको छ । कोदो लगायत कोदो जन्य वालीहरु चिनो, कागुनो, जुनेलो, बाजरा जस्ता गुणै गुणले भरिपुर्ण वालीहरु छाँयामा पर्दा देश खाध्य असुरक्षित बनि मानव स्वास्थ्यमा जोखिम बडि रहँदा पनि राज्यले कोदो लगायत कोदो जन्य वालीहरु प्रति चासो नलिनु, उत्पादन बढाउने नाममा बिभिन्न मिसन लगायत सुपरजोन,जोन,ब्लक र पकेट जस्ता कार्यक्रमहरु सञ्चालन गरेर ठूलो धनराशी खर्च गरेता पनि कोदो प्राथमिकतामा नपर्नु , कुलोमुनीको जमिन र उत्पादनले महत्व पाउनका कारण कुलो माथी जमिन हुनेहरुलाई कोदो तथा कोदो जन्य बाली उत्पादन गरि खाँदा कोदेको संङग्या दिनाले कोदो उत्पादन गर्ने किसानहरु निरास भई कोदो तथा कोदो जन्य वालीको उत्पादन गर्न छोड्दा उत्पादन घटेर गएका कारण गत आ.ब.मा मात्र ७५ करोड ४४लाख २२ हजार ६ सय ५९ रुपैंयाँको कोदो आयात भएकोछ । स्थानीय उत्पादन घट्नाले यत्रो ठूलो मूल्यको कोदो आयात भएको हो यो बmम बढ्दो क्रममा रहेको छ । ग्रामीण तहमा कोदोका फइदाको बारेमा जनचेतना बिस्तार हुन सकेको छैन । सम्मानित खाना भनेको चामलको भात हो भन्ने ।बुझाईले ब्यापकता छाएको छ । गाँउ घरमा कोदोबाट बन्ने परिकार पाक्न छोडेका छन् । स्वास्थ्य प्रति जनचेतना बढेका कारण शहरी क्षेत्रमा उपभोक्ताहरुले कोदो एबं कोदो जन्य खाना खान थालेकाले हाल कोदोको परिकार शहर बजारका होटेल तथा सचेत खानदानका ब्यक्तिहरुको चुलोमा पाक्न थालेको छ । कोदेको ढिंडो खान होटल तथा रेष्टुरेन्टहरुमा जानेक्रम बढेको छ । गाँउघरमा कोदोको ढिडो, रोटी, पुवा र खोले जस्ता परिकार खान रहर बढेर गएको छ ।
प्रचार प्रसारका लागि दिबश
किसान अधिकार प्रति समर्पित साना सिमान्त किसानहरुको संगठन राष्ट्रिय कृषक समुह महासंघ नेपाल र कृषि पत्रकारहरुको संगठन अनाज नेपालले २०७७ श्रावण १५ गनेका दिन सिमान्त वाली कोदोको महत्वका वारेमा केन्द्रित कोदो बहस कार्यक्रमको आयोजना भयो । उक्त बहस कार्यक्रमले कोदो र कोदो जन्य वालीलाई बहसको रुपमा मात्र नवनाई प्रचार प्रसारमा व्यापकता गराउन दिवश मनाउनु अपरिहार्य भएको ठहरका साथ २०७८ देखि निरन्तर रुपमा कोदो दिवस मनाउँदै आएको छ । फलस्वरुप कोदोको महत्व बढेर गएको छ ।
बहस तथा दिवश
२०७७ श्रावण १५ सिमान्त वाली कोदो बहस
२०७८ श्रावण १५ टोखा न.पा वडा नं १ काठमाडांै प्रत्यक्ष रोपाई र जुममा विवेचना
२०७९ श्रावण १५ भिमफेदी गा.पा. मकवानपुर छवेली
२०८० श्रावण १५ मण्डल देउपुर न.पा काभ्रेपलाञ्चोक कालिका
२०८१ श्रावण १५ ललितपुर महानगर पालिका वडा २१ खोकना
अनुसन्धानमा पछाडी परेको तथा उत्पादन र उपभोगमा कम हुँदै गएकाले कोदो बालीमा रैथाने जातहरु क्रमश लोपन्मुख अबस्थामा पुगेका, उत्पादन घटेर गएको, आयात बढेर गएको, जन समुदायमा स्वास्थ्यको अबस्थामा गिरावट आई रोगीको संख्या बढेर गएको कारण नागरिक संगठनका हिसाबले कोदो जस्तो महत्वपूर्ण बालीलाई प्रचार प्रसार गर्नु आबश्यक रहेको मनन् गर्दै बहश र दिबश मनाउन थालिएको हो । केहि प्रमुख बालीहरुले मात्र प्राथमिकता पाउँदा खाध्य प्रणालीमा नै असर पर्ने भएकोले नेपालमा मात्र नभई बिश्वभर नै खाध्य असुरक्षाको महशुस गएिको यथार्थता हाम्रो सामु छर्लङ छ ।
संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय कोदो जन्यबाली बर्षको रुपमा मनाउने घोषणा गरि कोदो बर्ष २०२३ सम्पन्न गरेको छ । उक्त घोषणाले महासंघले पाँच बर्ष अगाडी देखि गरेको महशुस र प्रचार प्रसारको प्रयासले सार्थकता पाएको छ भने नेपालमा कोदो बर्ष मनाउनका लागि धरातलको निर्माण गरेको छ । उत्पादक किसानहरुको संगठन तथा संयुक्त राष्ट्र संघले समेत कोदो तथा कोदो जन्य बालीको प्रचार प्रसार र प्रबर्धन गरि उत्पादन बृद्घि एबं खानपानमा सुधारमा जोड दिएता पनि नेपाल सरकार यस्तो गहन बिषय प्रति गम्भिर नहुनु,किसानहरुले दिबशको घोषणा गर्न पटक पटक आग्रह गर्दा पनि कानमा तेलहालेर बस्नु लज्जासपद कुरा हो । यसै कुराले सरकार कृषिलाई सुल्टो होइन उल्टो बाटो तर्फ हिडाउन विवश भएको पष्टि गर्दछ ।
बालीका जात र फाइदा
नेपालको कृषि प्रणालीमा कोदो, कागुनो, चिनो, जुनेलो, सामा, बाजरा, कुट्की सामा,र कोदी गरि आठ प्रजातीका कोदोहरु पाइन्छन् । यी प्रजातीहरु मध्ये अधिकांश कृषकहरुले खेती गर्ने बालीमा कोदो पर्दछ । नेपालमा कोदो बालीका बारेमा अनुसन्धान कम भएको पाइन्छ । हालसम्म पाँच वटा जातहरु मात्र सिफारीस र एउटा जुम्लाको रैथाने जात पञ्जिकृत अबस्थामा रहेको छ । स्थानीय जात पोषणका हिसाबले क्याल्सियम,फाइबर,आइरन र प्रोटिनको राम्रो स्रोत हो । यसमा पाइने बिभिन्न पौष्टिक तत्वहरुले रगत,हाडजोर्नी, पाचन प्रणाली र मांशपेशीलाई फाइदा पु¥याउँछ । मानब शरिरले कोदोलाई बिस्तारै पचाउने हुनाले रगतमा चिनीको मात्रा मध्यम गर्न समेत सहयोग गर्दछ । यसको सेबन गर्नाले मधुमेह रोग लागेकाहरुलाई फाइदा गर्दछ ।

राज्यको दायित्व
कोदो तथा कोदो जन्य रैथाने बालीको बिकास,बिस्तार र प्रबर्धन गर्नु राज्यको दायित्व हो । राज्यले आम नागरिकको स्वास्थ्य एबं पोषणमा ध्यान दिनु पर्दछ । स्वास्थ्य भनेको चक्की बाँडनु होइन । खाध्य सुरक्षा भनेको ट्रक र ट्याङकर आयात गरेको खाध्यान्न होइन । हाम्रो आफ्नै देशको माटो स्वस्थ राख्दै किसानी अभ्यासलाई अबलम्बन गरि उत्पादनमा आधारीत खाध्य सुरक्षामा जोड दिनु पर्छ । स्वच्छ उत्पादन उपभोक्ताहरुको घरदैलोमा पु¥याउनु पर्दछ । जसको मूल आधार भनेको कोदो एबं कोदो जन्य रैथाने बालीको बिकास, बिस्तार र प्रबर्धन गर्नु आबश्यक छ । खानपानका बारेमा जनचेतना अभिबृद्घि गर्नु, दिबश तथा उत्सबहरु मनाउँदै प्रचार प्रसारमा जोड दिनु, उत्पादक किसानहरुलाई प्रोत्सानका साथ उत्पादन बृद्घिका लागि वातावरण श्रृजना गर्नु पर्दछ । राज्यले कोदो एबं कोदो जन्य बालीलाई प्राथमिकतामा राख्नु पर्दछ । धेरै धान फलाउने किसानले पुरस्कार पाउँछ तर धेरै कोदो फलाउने किसानले धन्याबादको शब्दसम्म पाएको छैन राज्यबाट किसान र किसानी पेशामा भेदभाब गरेको छ यसको अन्त्य गर्नु पर्दछ । नेपाल बहुसंस्कृति तथा संस्कार मान्ने बहुजाती, बहुभाषीहरको साझा घर हो । यहाँ बिभिन्न समुदायका आ आफ्ना रितिरिवाज,संस्कार,तथा चालचलनहरु रहेका छन् । संस्कृती हाम्रो पहिचान हो । हाम्रो संस्कारले कोदोको रक्सीलाई प्रसादको रुपमा ग्रहण गरेको छ भने झै झगडामा मेलमिलापको माध्यमको रुपमा लिएको पाइन्छ । यसरी संस्कृतीसंग जोडिएको बिषय भएकोले कोदोलाई प्राथमिकतामा राखी कोदोको रक्सीलाई ब्रान्डिङ गर्नु पर्दछ । कोदो प्रति किसान तथा उपभोक्ताहरुको आकर्षण बढाउन उत्पादन बीउ लगायत सामाग्री र प्रबिधि जस्ता कुरामा अनुदानको ब्यबस्था गर्नका साथै अध्ययन अनुसन्धानमा जोड दिनु पर्दछ । कोदो तथा कोदो जन्य बालीलाई पिछडीएको अपहेलित एबं सीमान्त बालीको रुपमा पु¥याउने कार्य राज्यबाट नै भएकोले कोदो तथा कोदो जन्य बालीलाई बिशेष आरक्षणको ब्यबस्था गर्नु पर्दछ ।
लेखक ः राष्ट्रिय कृषक समूह महासंघ, नेपलका संरक्षक तथा किसान अभियन्ता हुन ।

सन्दर्भ ः चौथो कोदो दिवस २०८१