सिन्धुपाल्चोक, जेठ १४ — पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा रहेको श्री भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरूले ट्र्याकसुट तथा विद्यालयले विभिन्न शैक्षिक सामग्री सहयोग प्राप्त गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत Global Inclusive Adventure Organization ले उक्त सहयोग उपलब्ध गराएको हो।
आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यालय परिवारले संस्थाका प्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै संस्थाकी प्रतिनिधि रञ्जिता ढुंगानाले संस्थाले शिक्षा, वातावरण संरक्षण र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखी विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो।
उहाँले छात्रवृत्ति, पर्यटनसम्बन्धी सीपमूलक तालिम तथा समुदाय केन्द्रित गतिविधिहरूमार्फत स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो। संस्थाका प्रतिनिधिहरू मनमाया तामाङ र रञ्जिता ढुंगाना तथा समाजसेवी सुन्दर सापकोटाको उपस्थितिमा विद्यालयमा अध्ययनरत ४३ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको थियो। साथै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई सहयोग पुर्याउने उद्देश्यले दुई वटा डस्टबिन, दुई सेट खैजडी र दुई वटा मादल पनि प्रदान गरिएको थियो। सहयोग सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित बनेका थिए। विद्यालय परिवारले यस्ता सहयोगले विद्यार्थीहरूमा आत्मविश्वास बढ्नुका साथै अध्ययन र विद्यालय गतिविधिप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
