चण्डीका नेपाली /मेलम्ची
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको किसानहरू पछिल्लो समय झारनाशक विषादीप्रति आकर्षित भएका छन् ।
झारनाशक विषादीको प्रयोगले श्रमशक्ति र खर्च दुवैको बचत हुने भएपछि किसान त्यसप्रति आकर्षित भएका छन् । जिल्लामा धान खेतभित्र अनावश्यक रूपमा उम्रने झारले उत्पादनमा असर पारेकाले विषादीको प्रयोग बढाएको मेलम्ची नगरपालिका –९ ज्यामिरेका किसान लोक बहाद्र गिरी बताउनुहुन्छ । गिरीले यो वर्ष रोपाइँ गर्दा आफूले १५ रोपनी जमिनमा झारनाशक विषादी प्रयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिर धान गोड्ने बेला जनशक्तिको अभाव, अर्कोतिर खर्चको पनि बचत । त्यसैले मैले त एक हजार रुपियाँ बराबरको झारनाशक विषादी ल्याएर छर्किएँ ।”
मेलम्ची नगरपालिकाको कृषि शाखाको प्राविधिक अमर आचार्य पनि किसानले आफ्नो सजिलोका लागि झारनाशक विषादीको प्रयोग बढाइरहेको बताउनुहुन्छ । आचार्यका अनुसार पछिल्लो समय धानबालीमा किसानको लागत बढ्दा गोडमेल नगरेर विषादीको प्रयोगमा बढी जोड दिने गरेका हुन् । यसको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याई दिर्घकालिन रुपमा असर पार्ने गर्दछ । कृषी प्राविधिक आचार्यका अनुसार धानबालीको उच्चतम बृद्धी र उत्पादनका लागि खेतको माटोमा अक्सिजनको मात्रा मिलाउन झारलाई विषादीको प्रयोगबाट भन्दा खेतमै गएर निकाल्दा बढी फाइदा हुन्छ ।
अनावश्यक रूपमा उम्रने झारले गोडमेल गर्न धेरै समय लाग्ने हुनाले अहिले किसानहरूले झारनाशक विषादीको प्रयोग गर्न थालेको भए पनि यसले बालि र माटो दुबैमा असर पुग्ने उहाँको ठम्याइ छ । बजारमा खासगरी यतिबेला ब्युटाक्लोर, ग्लाइफोसेट, पाराक्वाट जस्ता झारनासक विषादीको प्रयोग बढी हुने गरेको छ ।
अघिकाशं किसानले धान रोप्ने बेलामा नै खेतमा झारनाषक औषधीको प्रयोग गर्ने गर्छन भने पछि पनि धानमा झार मार्ने औषधी छर्ने गर्दछन् ।
झारनाशक विषादीको प्रयोगले उम्रिएको झार हटाउन आवश्यक जनशक्ति पनि चाहिँदैन । झार निकाल्नुपर्ने समस्या नै टर्ने भएकाले झारनाशक विषादीमा किसानको आकर्षण बढ्दो छ । तर यसको असर भने दिर्घकालिन रुपमा पर्ने कृषि विज्ञको अध्ययन छ ।
धानबालीबाट राम्रो उत्पादन लिनका लागि पछिल्लो समय विभिन्न विषादीको प्रयोगबाट धानमा लाग्ने विभिन्न रोग तथा किराको उपचार गरिरहेका किसानालाई धानखेतमा उम्रिने अनावश्यक झार र घाँसले पनि दुख दिने गर्दछ ।
समय परिवर्तनसँगै मानिस पनि सोखिन हुन थालेका हुन् । केही वर्ष अघिसम्म किसानलाई झारनाशक विषादी बारे खासै जानकारी थिएन । तर पछिल्लो समय किसानहरूमा झारनाशक विषादीको प्रयोग बढ्दो छ ।
