सम्पर्क

प्रश्न: अबकाे बाटाे के हुनसक्छ ? उत्तर: कृषि ।

आजकाल म सबेरै उठेपछि किसानी नित्यकर्ममा लाग्छु । नित्यकर्म भन्नसाथ मानिसलाई लाग्छ पूजापाठ ।त्यसाे हाेइन । मेराे नित्यकर्म बाख्रा र कुखुराको हेरचाह ।
किसानी काम गर्दा कुनै याेगध्यान वा शारीरिक कसरत गर्नु नपर्नेरहेछ । काम गर्दा मन शान्त हुने र शारीरिक कसरत पनि पुग्ने मेराे अनुभव छ ।
कामपछि थकान मेट्न म पिँढीकाे सानाे तर टेढाे बेन्चमा बस्छु । त्यतिबेला सडकमा हिँड्ने काेही न काेही मसँग बाेलिहाल्छन् । नचिन्दा त बाेलिन्छ झन् चिनेका मानिस त बाेल्ने नै भए । खासमा मानिस बाेल्न नै पाे जन्मिएका हुनजस्ताे लाग्छ । काम गर्दा भएका केही मैला पाेशाकतिर हेर्दै साथीहरू भन्ने गर्छन् , तपाईं पढ्न पनि राम्रो थियाे । जनयुद्धमा हिँड्नेले के के गरिसके तपाईंको चाहिँ प्रगति भएन ।
प्रगति भन्ने शब्दले मेराे दिमागमा थुप्रै प्रश्न जन्मिन्छन् । प्रगति भनेको के हाे ? काम नगरी कुनै स्राेतबाट प्राप्त पैसाले घरगाडी सुनचाँदी जाेरजाम गरेर बिहानबेलुका मासुभात र बियर खानु प्रगति हाे कि !, राज्य दाेहन गरेर जसरी पनि व्यक्तिगत शानसाैकत देखाउनु प्रगति हाे ? चुनावदेखि चुनावसम्म अकुत खर्च गरेर अकुत कमाउनु प्रगति हाे ? के हाे प्रगतिकाे परिभाषा ?
म हिजाे जनयुद्धमा भूमिगत छँदा देखेको र भाेगेकाे ग्रामीण र सहरिया जनजीवनमा खासै सामुहिक भावनाकाे विकास भएन । व्यक्तिगत रुपमा मानिस पैसा वा भाैतिक वस्तुको तुलना गरेर प्रगतिकाे तुलाे निर्माण गर्दाेरहेछ । हामी जनयुद्धमा व्यक्तिगत धन आर्जन गर्न, मान्छे मार्न र केटाकेटी सँगै , रमाइलो गर्न गएका हाेइनाैँ । समाजकाे एकनासे प्रगति, सापेक्ष समानता, विभेदकाे अन्त्य र समग्र संस्कृत र संस्कारमा परिवर्तन गर्न सकिन्छ भनेर हतियारबद्ध प्रयास गरिएको हाे । माओवादी जनयुद्धलाई बुझ्ने नजर र चेतना नफेरिएसम्म सायद नेपाली समाज सधैँ घिसेपिटे नै रहने छ । आजकाल देखिने केही भद्दा व्यवहारले मानिस माओवादीप्रति नकारात्मक बनेकाे मेराे बुझाइ छ । एकातिर जनयुद्धमा दस वर्ष बिताएका लालयाेद्धा आजकाल रक्सी पिउँछ, तास खेल्छ, उहीँ पुरानाे मान्यतामा लिप्त भएर आफ्नै गाैरवगाथा बिर्सन्छ । अर्काेतिर अपवादबाहेक सत्तामा गएकाहरु पुराना राजनीतिज्ञले जे गरे त्यस्तै गर्न पछि परेनन् ।
हामीले बनाएको संरचना हामी कति पुनर्संरचना गर्न चाहन्छौं भन्ने कुराले परिवर्तन निर्भर हुन्छ । हामी त्यता लागेनाैँ । माओवादी संसदवादमा फसेपछि तलका कार्यकर्ता पनि विदेशीले निर्माण गरिदिएको समुहकाे सदस्य भएर भत्ता खान थाल्याे । काँग्रेस व्यक्तिवादी र सक्नेले जे गरेपनि छुट हुने संगठन भएको पार्टी हाे । एमाले जबजमा गएर मार्क्सवाद त्यागेको पार्टी हाे । माओवादी अर्काे एकथान पार्टी भयाे न तल न माथिकाे । क्रान्तिकारी कार्यदिशा निर्माण गर्न सकेन र विचारमा विकास गर्न सकेन । जसको प्रतिपरिणाम टुटफुट र गन्जागाेलकाे अवस्थामा गयाे । भिमकाय लडाइँको रथ चलाएका प्रचण्ड सुशासनको नारामा सीमित भए । संसदवादमा सुशासन कसाइकाे छेउमा खसीकाे रुवाइमात्रै हाे । उहाँ प्रधानमन्त्री हुँदा रहेका मन्त्रीहरु हेरेपछि सुशासन हुन्छ कि हुन्न थाहा भैहाल्छ ।
मेराे विषय फेरि प्रगतिकै हाे । व्यक्तिगत रुपमा विनाेद चाैधरी धेरै धनी मानिस हुन् । तर, उनी बस्ने देशको हालतले उनलाई कुनै अर्थमा पनि धनी ठहर्याउँदैन । उनको पासपोर्टमा लेखिएको नेपाल शब्द मुख्य हाे । जुन उनी विदेश जाँदा गरिएको व्यवहारले अनुभव पनि भएको हाेला । व्यक्ति काे धनी भयाे भन्ने कुरा गाैण विषय हाे । समाज कता छ ? देशकाे राजनीतिक, सैन्य र आर्थिक अवस्था कस्ताे छ भन्ने कुरा मुख्य हाे । राजनीति हेर्ने हाे भने दिक्क लाग्छ, आर्थिक अवस्था श्रमजीवीका लागि संकटकाल छ र सैन्य अवस्था हेर्ने हाे भने हाम्रो आफ्नो उत्पादनमा एउटा हतियार पनि बन्दैन /छैन । अब याे लेखमा मानिसले माओवादीमाथि नै ओैला ठड्याउँछन् किन कि नेपाली समाज प्रगतिकाे सिद्धान्तमा विश्वास गर्दैन । राजाले दुईसय चालीस वर्ष शासन गरे, काँग्रेस – एमालेले ३६ वर्ष र माओवादीले १७ वर्ष । नेपालकाे अवस्था समयकाे रफ्तारअनुसार प्रगति नहुनुमा हामी सबै जिम्मेवार छाैँ ।
अब हामीलाई सामुहिक सिद्धान्त, सामुहिक काम र सामुहिक प्रगति हुने राजनीतिक , सामाजिक , आर्थिक र वैज्ञानिक प्रणाली चाहिएको छ । याे कसरी अगाडि बढ्ला ? असम्भव त केही पनि छैन । हामी सबैले पहिलो प्राथमिकता कृषिलाई दिउँ । कागजमा खेतीपाती गरेकाे फर्जी बिल बनाएर भ्रष्टाचार गर्नेविरुद्ध किसान जागाैँ ।(लेखक पत्रकार रामकृष्ण थापा उँहाकै फेसबुकबाट .)