लोकनारायण सुबेदीआजभन्दा छ दशक पहिला बिश्वभरीका प्रायः सबै देशहरुमा प्रगतिशील यूवा समुदायले बेग्ला बेग्लै भाषामा भए पनि एउटै नारा लगाएको पाइन्थ्यो । त्यो नारा थियो – ‘तिम्रो नाम मेरो नाम ः भियतनाम भियतनाम’ । बिश्वका कतिपय देशका प्रमुख शहरहरुमा त यस्तो नारा ठूलो जुलुकासाथ त्यतिबेला लगाइने गरिन्थ्यो । काठमाण्डौमा पनि तत्कालीन अमेरिकी उपराष्ट्रपति स्पाइरो टी एग्न्यू काठमाण्डौ भ्रमणमा आएको बेला म समेत केही नेपाली यूवाहरुले यो नारा लगाएर भियतनाममाथि बम बर्षाको बिरोध गरेको थियो । अमेरिकाले भियतनाममााथि त्यतिबेला नापाम बम बर्षाएर घोर तथा क्रूर अमानबीय आक्रमण गरिरहेको थियो र सारा संसार अमेरिकी हमलाका बिरुद्ध भियतनामको पक्षमा एक ढिक्का भएर उभ्भिएको प्रतीत हुन्थ्यो । सुप्रसिद्ध भियतनामी नेता हो चिमिन्हको नेतृत्वमा बिश्व साम्राज्यबाद बिरोधी बहादुर भियतनामी जनताको कठोर संघर्ष र त्यसप्रति बिश्व जन समुदायको बढ्दो समर्थन र ऐक्यबद्धताले अन्ततः अमेरिका भियतनामबाट पराजित भएर भाग्नु परेको थियो । भियतनाम उपनिवेशको स्थितिबाट मुक्त र स्वाधीन भएको थियो ।
तर अब स्थिति बिपरीत दिशातिर बद्लिदै गएको जस्तो देखिन्छ । यसलाई शायद अन्तर्राष्ट्रिय राजनीतिको एउटा बिडम्बना नै मानिएला कि आज भियतनाम र अमेरिका नै सुरक्षा साझेदारीमा सम्मिलित हुन लागेको अनुमान गरिदैछ । आगामी सेप्टेम्बर महिनामा अमेरिकी राष्ट्रपति जो बाइडेन भियतनामको यात्रामा जाँदैछन् । भनिन्छ, त्यस अवसरमा दुइ देशका बीच रणनीतिक साझेदारी सम्वन्धि सम्झौता हुन गइरहेको छ । यस यात्रालाई मध्यनजरमा राखेर बिश्वका माानिसहरुको दिलचस्पी ती पुराना घटनाक्रमलाई याद गर्न तिर गइरहेको छ जुन घटनाहरु बितेको शताब्दीको ६० र ७० को दशकमा अमेरिकाले कम्युनिज्मलाई बिश्वको खतरा मान्दै भियतनामका बिरुद्ध लामो सैनिक युद्ध चलाइरहेको थियो । त्यसै क्रममा भियतनामका ग्रामीण बस्तीहरुमा अमेरिकी नापाम बम बर्षा गरिरहेको र असंख्य निर्दोष भियतनामी नागरिकहरुलाई मारिरहेको थियो ।
अनि त्यही अमेरिकी हस्तक्षेप बिरोधी भियतनामी छापामारहरुको आश्रयस्थल रहेका त्यहाँका जंगलहरुमा अमेरिकाले ‘ओरेञ्ज एजेण्ट बिषालु रसायनहरु’को पनि बर्षा गरेको थियो । त्यो बिषालु रसायनका कारण हराभरा बन नाङ्गो पत्झड र रुखो बिषालु बन पाखोमा परिणत भएको थियो । ज्ञाताहरु भन्दछन् – त्यस बेलाको भियतनाममा आजको यूक्रेनको युद्धकोभन्दा पनि कयौ गुणा बढी बर्बादी थोपरिएको थियो । त्यस्तो भयानक संघर्ष र बर्बादीका बेला बिश्व जनमत भियतनामको पक्षमा खडा भएको र अमेरिकी नेतृत्वको अत्याचारको बिरुद्ध ऐक्यबद्धता जनाइरहेको थियो । फलतः त्यसले गर्दा बिश्वका कतिपय एशियाका प्रमुख देशहरुको अमेरिकाको सम्वन्ध पनि निकै नै बिग्रेको थियो भने अमेरिका भियतनामबाट बेइज्जत बनेर फर्कनु परेको थियो । तर अब भियतनामा आफ्नो आर्थिक तथा रणनीतिक हितलाई अघि बढाउन अमेरिकालााई पनि आफ्नो सहयोगी मान्न थालेको छ । पहिला अमेरिकासँगको भिषण संघर्षका बेला सोभियत समाजबादी रुस र जनबादी गणतन्त्र चीनले तत्कालीन उत्तर भियतनामलाई प्रसस्त चौतर्फी सहयोग गरेका र साथ दिएका थिए । सैगोन(हो चिमिन्ह सिटी)बाट अमेरिका फर्किएर भियतनामको एकीकरण भए पछि स्थितिमा फरक देखिन थाल्यो । चीन र भियतनाम दुइ देशका बीच १९७९ मा झडप पनि हुनपुग्यो । यसरी चीन र भियतनामका बीच पहिला जस्तो संघर्षशील एकताको घनिष्ठ सम्बन्धमा ठूलो कमजोरी उत्पन्न भयो । त्यसको फाइदा अमेरिका र उसका मित्र देशहरुले पनि उठाउन थालेको देखिदै आाएको छ । हिन्द – प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई कम गर्न पश्चिमा शक्तिहरु पनि पुनः जोडतोडले लाग्न थाले । अनि त्यसले गर्दा पनि चीन र भियतनामका बीचमा स्थिति पहिला जस्तो रहिरहन सकेन । यस बारेमा रुस लगायतका देशहरु पनि चिन्तित रहेको देखिदै आएको छ । रुसका उच्च स्तरीय रक्षा बिशेषज्ञहरुले यस स्थितिमा सकारात्मक सुधार न आएमा हिन्द प्रशान्त क्षेत्र चीनका लागि ठूलो समस्या बन्ने कुरा पनि औंल्याउने गर्दै आएको देखिन्छ ।
यद्यपि अहिले पनि भियतनाम, देशको सीमा समेत जोडिएको चीन र रुससँँग एकैसाथ आफ्नो सम्वन्धलाई सफलताकासाथ कायम राख्ने पक्षमै दृढ देखिन्छ । त्यसमा पनि भियतनाम र चीन एक अर्कासँग साँस्कृतिकरुपले पनि जोडिएका छन् । अमेरिकासँग सम्वन्ध बढाउन थाले पनि भियतनाम चीनसँगको आफ्नो पारम्परिक सम्वन्धलाई कमजोर हुन दिन चाहँदैन र अझ सबल बनाउन चाहन्छ भन्ने निष्कर्श त्यस क्षेत्रका ज्ञाता राजनीतिक तथा रणनीतिक बिश्लेषकहरुले निकालिरहेका छन् ।
यस्तै स्थितिका बीच यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडेन भियतनाम यात्रामा जाने कुरा चलिरहेको छ । अनि ती दुइ देशका बीच कुनै रणनीतिक साझेदारी भयो भने त्यो कस्तो प्रकारको हुने हो र त्यसले कस्तो स्थिति निम्त्याउने हो अहिले नै अनुमान गर्न पनि अपरिपक्क हुने कुरा कूटनीतिक क्षेत्रमा उल्लेख गरिदैछ । चीनले पनि भियतनामसँगको सम्वन्धमा बिगतमा आएका उतार चढाव र कमी कमजोरीहरुलाई केलाएर सम्वन्धलाई अत्याधुनिक उच्चाईमा लैजान कोशिश गरिरहेको बिश्लेषकहरु उल्लेख गर्दछन् । उनीहरु भन्दैछन् – ‘यूक्रेन मोर्चामा गतिरोध उत्पन्न भएको कुरालाई मध्यनजरमा राखेर अहिले अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा आफुलाई केन्द्रित गर्न र उताको कमजोरीको भर्पापाई यता गर्न चाहेको देखिन्छ’। यस क्षेत्रमा अमेरिकाले जापान, कोरिया, फिलिपिन्स र अष्ट्रेलियलाई समेत लिएर एउटा सबल सैन्य मोर्चा कायम गर्न खोजेको औंल्याइदैछ । यस पूरै परिदृष्यमा अमेरिका ताइवानलाई पनि एउटा प्रमुख मुद्दा मान्दछ । तर यस क्षेत्रका सम्वन्धमा अमेरिकाको रणनैतिक उदेश्य ताइबानको कथित रक्षाभन्दा निकै बढी र ब्यापक रहेको मानिदैछ ।
अमेरिकाको यस क्षेत्रमा एकपछि अर्को बढ्दो गतिबिधिहरुलाई ध्यानमा राखेर चीनले पनि सम्वन्धहरुलाई नयाँ किसिमले अघि बढाउन पुनरावलोकन गर्नु पर्ने सुझाव बिश्लेषकहरुले दिदैछन् । यसमा चिनीयाँ नेतृत्व पनि सजग रहेको र आत्माबलोकनको स्थितिबाट गुज्रिरहको पनि जानकारहरु उल्लेख गर्दैछन् र भन्दैछन् कि चीन भियतनाम जस्तो साम्राज्यबाद बिरोधी पुरानो मित्रलाई गुमाउन कदापि चाहँँदैन । दीगो र स्थाई बिश्व शान्ति र सन्तुलनका निम्ति पनि चीन र भियतनामको परस्पर सम्वन्धले सही दिशा लिनु र सबल हुनुको बिकल्प नभएको ज्ञाताहरु उल्लेख गरिहेका छन् ।
