
सुष्मा तिमल्सिना
प्रिया, मैले तिमीलाई चौतारीमा कुरिरहँदा
पर क्षितिजमा
पृथ्वीले घामलाई कोखिलामा च्याप्दै थिइन्
पृथ्वी सँग मिलनको खुशीमा हो वा के हो
घाम लाजले रातिएका थिए।
मेरै माथि
आमा लाई बोलाउँदै
पीपलका हाँगामा चिर्बिराइरहेका बचेराले
पर आकाशमा
चुच्चोमा चारा बोकेर
फर्किँदै गरेकी चरी आमा देखेर
आनन्दातिरेकमा गीत गाए झैं सुनिन्थ्यो।
तिम्रो प्रतिक्षामा एकतमास भएको मनमा
चलिरहेको बतासको सुमधुर ध्वनिले
सङ्गीत भरिरहेको थियो
मन उद्वेलित थियो
सुकेका पातमा हिँड्दा आउने चरप् चरप्
श्रुतिमधुर ध्वनि
मेरा कर्णकुहरमा पर्नु सँगै
मलाई तिमी आउँदै गरेको अनुमान भएको थियो ।
परै बाट मेरा नजरले तिमीलाई भेट्टाएपछि
र, तिम्रा नजरले मलाई
हाम्रा आँखा चार बाट दुई भएका थिए।
तिमी मेरा नजीक आउनु सँगै
मेरा पाइला पनि तिमी तिर अनायास कुदेका थिए।
तिम्रा हात माथी मेरा हात परेपछि
हामी स्वप्निल यात्रामा निस्किएका थियौं ।
म तिमीलाई अथाह प्रेम गर्थें
शायद तिमीले पनि गर्थ्यौ !
त्यो चकमन्न रातमा मैले तिम्रो
अनुहार हेरिरहेको थिएँ
लाग्थ्यो, मैले आज सम्म पढेकाे कविता मध्येको
एउटा उत्कृष्ट कविता पढिरहेकाे छु
तिम्रा आँखा समुन्द्र भन्दा गहिरा थिए ।
मलाई लागिरह्यो
तिमीमा डुबेरै
मेरो भागका हरेक जन्म बिताउन सक्छु
तर मलाई कता कता लागिरह्यो
तिम्रो मनले पनि मेरै मनले झैं
यो सबै अनुभव गरिरहेको छ त ?
के तिमी पनि तिम्रो भागका हरेक जन्म
म सँग बिताउन सक्छ्याै त?
घरि लाग्छ,
तिमी मेरी प्रेमिका भए झैं
म तिम्रो प्रेमी होइन कि
भन न तिमी मलाई
के भनेर सम्बोधन गर्छयौ ?
