सञ्जय तामागंनवलपुर, जेठ २२ — इन्द्रावती गाउँपालिकामा जलवायु तथा वातावरणीय जोखिम सम्बोधन गर्दै सामुदायिक रूपान्तरणका लागि पूर्वानुमानात्मक कार्य प्रवर्द्धन परियोजना (PROAACT) सञ्चालन हुने भएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) को आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (CDECF) नेपालको कार्यान्वयनमा गाउँपालिकासँगको सहकार्यमा परियोजना सञ्चालन गर्न लागिएको हो। परियोजनाको प्रारम्भिक परिचयात्मक बैठकमा CDECF नेपालका कार्यकारी निर्देशक गोविन्द सापकोटाले परियोजनाको उद्देश्यबारे जानकारी दिँदै स्थानीय समुदायमा जलवायु जोखिमसम्बन्धी सचेतना अभिवृद्धि, अनुकूलन क्षमता सुदृढीकरण तथा जलवायु उत्थानशील विकासका लागि साझा दृष्टिकोण निर्माणमा परियोजनाले योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रममा CDECF नेपालका कार्यक्रम व्यवस्थापक इन्जिनियर मिनेश गुरुङले परियोजनाको लक्ष्य, सञ्चालन रणनीति, मुख्य गतिविधि, अपेक्षित नतिजा तथा बजेटबारे प्रस्तुति दिनुभएको थियो। उहाँले समुदायको क्षमता अभिवृद्धिमार्फत स्थानीय तहमा विद्यमान जलवायु तथा वातावरणीय जोखिमहरूको समाधान खोज्ने लक्ष्य रहेको उल्लेख गर्दै परियोजनाको सफल कार्यान्वयनका लागि गाउँपालिका तथा सरोकारवाला निकायहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो। परियोजना परामर्शदाता पुरुषोत्तम घिमिरेले स्थानीय अनुकूलन कार्ययोजना (LAPA) सम्बन्धी विषयमा जानकारी गराउनुभएको थियो भने परामर्शदाता मोहनदास मानन्धरले परियोजनाको कार्यविधि, प्रक्रिया तथा दृष्टिकोणबारे प्रकाश पार्नुभएको थियो। सन् २०२६ जुन १ देखि २०२७ अगस्ट ३० सम्म सञ्चालन हुने परियोजनाको कुल बजेट २ करोड ४८ लाख रुपैयाँ रहेको छ। गाउँपालिकाका १२ वटै वडामा लागू हुने परियोजनाले विशेष गरी खानेपानीको समस्या तथा जलवायु जोखिम बढी रहेका वडा नं. १, २, ३, ५ र १० लाई प्राथमिकतामा राख्ने जनाएको छ। परियोजनाका लागि वडा तथा गाउँपालिका तहबाट समेत साझेदारी गरिने जानकारी दिइएको छ। बैठकमा सहभागी वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले परियोजनालाई प्रभावकारी रूपमा सबै वडामा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले जोखिमयुक्त तथा सुख्खाग्रस्त बस्तीहरूको पहिचान गरी नवीन प्रविधिमा आधारित जोखिम न्यूनीकरण तथा अनुकूलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए। साथै महिला, विपन्न तथा जोखिममा रहेका समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिन सुझाव दिएका थिए। इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले परियोजना गाउँपालिकामा सञ्चालन हुन लागेकोमा खुसी व्यक्त गर्दै जोखिमयुक्त बस्तीहरूको पहिचान गरी दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले परियोजना कार्यान्वयनमा गाउँपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले इन्द्रावतीले भोगिरहेका जलवायु तथा वातावरणीय चुनौतीहरूको समाधानका लागि परियोजना महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले जलवायु तथा वातावरणीय मुद्दालाई गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत प्राथमिकताका साथ सम्बोधन गरिने बताउँदै परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमको अध्यक्षता CDECF नेपालका कार्यवाहक अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले गर्नुभएको थियो। उहाँले परियोजनामार्फत क्षमता अभिवृद्धिसँगै आवश्यक भौतिक पूर्वाधार विकासका क्षेत्रमा समेत काम गरिने जानकारी दिँदै प्राप्त सुझावहरूलाई कार्यान्वयनमा समेटिने बताउनुभयो। कार्यक्रमको सञ्चालन CDECF नेपालका सामाजिक परिचालक शिवराम अधिकारीले गर्नुभएको थियो।
