सम्पर्क

स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

सञ्जय तामागं,  सिन्धुपाल्चोक — उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानीय तहहरूसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक हलमा आयोजित कार्यक्रममा कार्यालय र स्थानीय तहबीच समन्वय गरेर सञ्चालन गर्न सकिने कार्यक्रमहरू तथा कार्यालयले प्रदान गर्दै आएका सेवाबारे जानकारी आदानप्रदान गरिएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले कार्यालयले व्यवसाय दर्ता, सीप विकास तालिम, प्रविधि हस्तान्तरण, बजार अनुगमन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले उद्योग, वाणिज्य तथा कम्पनी दर्ताका लागि आवश्यक कागजात र प्रक्रियाबारे जानकारी गराउनुका साथै विभिन्न स्थानीय तहमा कार्यालयले सम्पन्न गरेका गतिविधिहरू प्रस्तुत गर्नुभयो। इन्द्रावती गाउँपालिका–१० मा चिउरा तथा टपरी उद्योग निर्माणको कार्य भइरहेको समेत उहाँले जानकारी दिनुभयो। त्यसैगरी खाद्य स्वच्छता तथा गुण नियन्त्रण डिभिजन कार्यालयकी प्रमुख मनिषा चापागाईंले खाद्य स्वच्छता र गुणस्तर सम्बन्धी प्रस्तुति दिँदै मानिसले उपभोग गर्ने खाद्य पदार्थ मात्र नभई पशुपन्छीका दानाको समेत अनुगमन गर्ने जिम्मेवारी आफ्नो कार्यालयको रहेको बताउनुभयो। उहाँले खाद्य स्वच्छतामा जैविक, भौतिक तथा रासायनिक जोखिम रहने उल्लेख गर्दै विश्व स्वास्थ्य संगठन (WHO) को तथ्यांकअनुसार प्रत्येक वर्ष करिब ६० करोड मानिस अस्वस्थ खाद्य पदार्थका कारण बिरामी पर्ने र तीमध्ये ५४ प्रतिशतको मृत्यु झाडापखालाका कारण हुने गरेको जानकारी दिनुभयो। चापागाईंले ग्रामीण क्षेत्रमा खाद्य स्वच्छता सम्बन्धी समस्या अझ बढी देखिने भएकाले नियमित अनुगमन र उपभोक्ता सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। “औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार” भन्ने नारासहित आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले उपभोक्ता हित संरक्षणका लागि गठित अनुगमन समितिलाई सम्बन्धित कार्यालयबाट आवश्यक सहयोगको अपेक्षा रहेको बताउँदै अनुगमनका क्रममा प्राप्त अनुभवहरू साझा गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झमकनाथ नेपालले खाद्य स्वच्छता, उपभोक्ता अधिकार तथा बजार व्यवस्थापनका विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै यस्ता ज्ञानलाई व्यवहारमा उतार्न सबैको सक्रियता आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले उपभोक्तालाई सचेत बनाउन नसकेसम्म कानुन र मापदण्डको प्रभावकारी कार्यान्वयन हुन नसक्ने उल्लेख गर्दै सचेतनामूलक कार्यक्रम समुदायका सबै तहसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रमको समापनमा कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा इन्द्रावती गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै निकट भविष्यमा गाउँपालिकाभित्रका विभिन्न बजार क्षेत्रमा संयुक्त बजार अनुगमन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।