सम्पर्क

“स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती तथा अवसरहरू” विषयक अन्तरक्रिया मेलम्चीमा

 

सञ्जय तामाङ मेलम्ची
सिन्धु पाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा प्रकृति रिसोर्सेज सेन्टरको आयोजनामा तथा मेलम्ची नगरपालिकाको सहकार्य र समन्वयमा “स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती तथा अवसरहरू” विषयक एक दिबशीय अन्तरक्रिया कार्यक्रम भएको छ।मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नवीकरणीय ऊर्जा प्रवद्र्धन, ऊर्जा पहुँच विस्तार, ऊर्जा दक्षता तथा स्थानीय स्तरमा दिगो विकासका लागि अपनाउन सकिने उपायहरूबारे छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिन स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमका अवसरमा आफ्नो धारणा राख्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बतउनुभयो । उहाँले प्रकृति रिसोर्सेज सेन्टरबाट नगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य र सहयोगको अपेक्षा रहेको बताउनुभयो । जलवायु परिवर्तन तथा स्वच्छ ऊर्जासम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन नीति तथा कार्यक्रममार्फत बजेटको व्यवस्था गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले समन्वय र सहकार्यका माध्यमबाट समस्याको निकास खोज्ने कार्यमा नगरपालिका पछि नपर्ने बतउनुभयो ।कार्यक्रममा नवीकरणीय ऊर्जा, वैकल्पिक ऊर्जा र ऊर्जा दक्षताका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। सहभागीहरूले नेपालमा नवीकरणीय तथा वैकल्पिक ऊर्जाको प्रयोग विस्तार हुँदै गएको भए पनि ग्रामीण क्षेत्रहरूमा अझै थप लगानी, प्रविधि र जनचेतनाको आवश्यकता रहेको बताएका थिए । मेलम्ची नगरपालिकामा पनि सुधारिएको चुलो, बायोग्यास, सौर्य ऊर्जा तथा अन्य स्वच्छ ऊर्जा प्रविधिको प्रयोग बढाउने सम्भावना रहेको औँल्याइएको थियो।कार्यक्रममा बोल्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक लक्ष्मण घिमिरेले ‘वेस्टेज टु इनर्जी’ कार्यक्रमअन्तर्गत देशका २५ वटा पालिकासँग सहकार्य गरेर काम गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले मेलम्ची नगरपालिकासँग पनि उक्त कार्यक्रम सञ्चालनका लागि सहकार्य गर्न सकिने उल्लेख गर्दै सुधारिएको चुलो तथा फलामे चुलोलाई अनुदान कार्यक्रमसँग जोड्न सकिने बताउनुभयो ।कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल, विभिन्न वडाका वडा अध्यक्षहरू, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरू तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।सहभागीहरूले जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्दै स्वच्छ र दिगो ऊर्जा प्रवद्र्धनका लागि स्थानीय तथा राष्ट्रिय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।