सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालन भइरहेका विकास निर्माण योजनाको अनुगमन तथा निरीक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ।
नगरपालिकाले विशेषगरी ठेक्का प्रक्रियामार्फत सञ्चालन भइरहेका योजनाको प्रभावकारी अनुगमनमा कडाइ गरेको जनाएको छ।नगर उप प्रमुख सिता थापा को नेतृत्वमा सञ्चालन गरिएको अनुगमन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरे, योजना शाखा तथा प्राविधिक टोलीको सहभागिता रहेको थियो। अनुगमन टोलीले योजनाको प्रगति, निर्माण गुणस्तर, लागत विवरण तथा स्थानीय उपभोक्ताको सहभागिताबारे स्थलगत जानकारी लिएको जनाएको छ। नगरपालिकाले योजनाको पारदर्शिता, प्रभावकारिता तथा जनसहभागिता सुनिश्चित गर्न प्रत्येक योजना स्थलमा योजना सम्बन्धी सम्पूर्ण विवरण उल्लेख भएको होर्डिङ बोर्ड अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ।
नगरपालिकाका अनुसार योजनाको लागत, स्रोत, निर्माण अवधि र कार्यान्वयन पक्षबारे सार्वजनिक जानकारी उपलब्ध गराउन यस्तो व्यवस्था लागू गरिएको हो। बिहीबार गरिएको अनुगमनका क्रममा चौतारा साँगाचोकगढी नगरपालिका–९ मा सञ्चालन भइरहेको “जितपुर लिफ्ट खानेपानी आयोजना” को निरीक्षण गरिएको थियो। प्रदेश सरकारको सशर्त अनुदानअन्तर्गत २५ लाख रुपैयाँ लागतमा सञ्चालन भइरहेको उक्त आयोजनाबाट करिब ३०० घरधुरी लाभान्वित हुने बताइएको छ। स्थानीय क्षेत्रमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद्देश्यले आयोजना अघि बढाइएको जनाइएको छ। त्यसैगरी वडा नं. ९ कै “गोर्सु खानेपानी आयोजना” अन्तर्गत परम्परागत डाँची इट्टाबाट निर्माण गरिने धारा निर्माण कार्यको समेत अनुगमन गरिएको छ। २५ लाख रुपैयाँ बजेटमा सञ्चालन भइरहेको उक्त योजनाले परम्परागत धारा संरक्षणसँगै स्थानीयवासीलाई सहज खानेपानी उपलब्ध गराउने अपेक्षा गरिएको छ। यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका–११ साङाचोक मानेडाँडामा निर्माण भइरहेको “छिमिटासी छिलिङ गुम्बा पर्खाल निर्माण तथा बुट्टा निर्माण” योजनाको प्रगति अवस्थाबारे पनि निरीक्षण गरिएको थियो।
धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सौन्दर्यीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत पर्खाल निर्माणका लागि ४० लाख रुपैयाँ तथा बुट्टा निर्माणका लागि १० लाख रुपैयाँ गरी कुल ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। योजना ठेक्का प्रक्रियामार्फत कार्यान्वयन भइरहेको नगरपालिकाले जनाएको छ। त्यसैगरी वडा नं. १३ ठुलोसिरुवारीमा सञ्चालन भइरहेको “रोक्काटोल खानेपानी बहुवर्षीय आयोजना” को तेस्रो वर्षको कार्य प्रगति पनि अनुगमन गरिएको छ। सङ्घीय विशेष अनुदानअन्तर्गत ६५ लाख रुपैयाँ लागतमा सञ्चालन भइरहेको उक्त आयोजनाबाट १७० घरधुरी लाभान्वित रहेको स्थानीयले बताएका छन्। आयोजना सम्पन्न भएपछि स्थानीय क्षेत्रमा खानेपानी समस्या समाधानमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। अनुगमन टोलीले निर्माण कार्यलाई गुणस्तरीय, पारदर्शी तथा समयमै सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायी, उपभोक्ता समिति तथा प्राविधिक पक्षलाई आवश्यक निर्देशन दिएको जनाएको छ। उप प्रमुख सिता थापा ले नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विकास योजनाको नियमित अनुगमनलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने बताउनुभयो।
