सिन्धुपाल्चोक । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा श्रमिक अधिकारको संरक्षण तथा मानव बेचबिखनविरुद्ध समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सुनिता फाउण्डेशनले मेलम्ची नगरपालिका–४ थकनी, बसेरीमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा श्रमिकका अधिकार, सुरक्षित वैदेशिक रोजगारीका प्रक्रिया, वैदेशिक रोजगारीसँग जोडिएका जोखिम तथा मानव बेचबिखनबाट जोगिने उपायबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। विशेषगरी बदलिँदो सामाजिक परिवेशसँगै मानव बेचबिखनका स्वरूपहरू कसरी परिवर्तन भइरहेका छन् भन्ने विषयमा पनि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई वैदेशिक रोजगारीका क्रममा हुने ठगी, प्रलोभन र शोषणका घटनाबाट सतर्क रहन आग्रह गरिएको थियो। साथै लैङ्गिक असमानता, घरेलु हिंसा, सामाजिक विभेदजस्ता समस्याले मानव बेचबिखनको जोखिम बढाउने भएकाले समुदायस्तरबाटै सचेतना आवश्यक रहेकोमा जोड दिइएको थियो। कार्यक्रममा स्थानीय महिला, पुरुष, युवा, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका तथा किशोरकिशोरीहरूको सक्रिय सहभागिता रहेको थियो।
सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै व्यवहारिक जानकारी प्राप्त गर्न सहयोग पुगेको बताएका थिए। कार्यक्रमको सहजीकरण परियोजना अधिकृत सङ्गीता नेपालीले गर्नुभएको थियो। उहाँले मानव बेचबिखन तथा असुरक्षित रोजगारीसम्बन्धी कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायमा तुरुन्त जानकारी गराउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रमको अन्त्यमा सुरक्षित, सचेत र मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सामूहिक सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।
