सम्पर्क

मेलम्चीको गुफाडाँडामा जलबायु सम्मेलन भव्यताका साथ सम्पन्न

सिन्धुपाल्चोक जिल्लाको पहीचान बोकेको मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको गुफाडाँडामा ऐतीहासिक तवरले जलबायु सम्मेलन सम्पन्न भएको छ ।  बागमती प्रदेश सरकारका माननीय मूख्य मन्त्री इन्द्र बाँनियाको प्रमुख अतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । जलवायु सम्मेलनमा मेलम्ची नगरपालिका ९ मा रहेको गुफाडाँडालाइ राष्टीय स्तरमा नभइ अन्तराष्ट्रिय स्तरमा समेत पहीचान पुग्ने गरी काम गर्ने बताउँदै प्रमुख अतिथी माननीयमुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाडा ओखरेनी सम्मको सडक निर्माणको जिम्मेवारी लिनु भयो । उाहाले गुफाडाडालाई पर्यटकीय केन्द्र बनाउनका लागी आफुले गर्न सक्ने सबै खाले सहयोग गर्ने बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ संग आफू निरन्तर समन्वय र सम्पर्कमा रहेको भन्दै यहाँको सुखदुःखमा सधैं संगै रहने समेत बताउनुभयो ।नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको भन्दै अस्वभाविक बिकासको नाममा बिनास तिर नलाग्न र साच्चिकै जलवायु सम्मेलन सफल बनाउन लाग्न समेत कार्यक्रममा शुभकामना व्यक्त गर्नुभयो ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई लक्षित गर्दै मुख्यमन्त्री बाँनियाले गाँजाको भरमा अफवाह फैलाउने र सिंहदरबार जलाउने जस्ता गतिविधिमा संलग्न तत्वहरूको पछि लाग्ने प्रवृत्तिले देशलाई अनिर्णयको बन्दी बनाउने खतरा बढेको बताउँनु भयो । जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्तिहरू बढ्दै गएको तर्क गर्दै यसप्रति गम्भीर हुनुपर्ने बताउँनु हुँदै मेलम्ची–गुफाडाँडा हुँदै पाँचपोखरी जाने सडक निर्माणका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गर्नू भयो । कार्यक्रमका बिशेष अतिथी बागमती प्रदेशका कानुन मन्त्री शिवराज अधिकारीले जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति न्युनिकरणका लागि तीनै तहका सरकार सहकार्य गरेर अघि बढ्दै विकशित राष्ट्रसँग यसको क्षतिपूर्ति दाबी गर्नुपर्ने बताउँनु भयो । कार्यक्रममा पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता शेरबहादुर तामाङले मुलुकमा आगो झोस्नेहरु कहिल्यै देशको पक्षमा नहुने बताउँनु भयो । उँहाले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय समुदायले दिने बजेट नदिएको भन्दै गुफाडाडा जलवायु सम्मेलन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउँनु भयो । उँहाले मुलुकमा आगो झोस्नेहरु अहिले सक्रिय रहेको भन्दै कोहि मान्छे भ्रष्टाचारी भए समातेर जेल हाल्न चुनौती दिनु हुँदै निर्वाचनमा भागलिने नाममा देशमा आगो बाल्नेहरु गाउँमा आउन सक्ने भन्दै सचेत भएर गाउँको विकास गर्ने,बाटोघाटो गर्ने,जनताको आर्थिकस्तर उकास्नका लागी निरन्तर लागिरहने देश बनाउने पार्टीका उम्मेदवारलाई जिताउन समेत अपिल गर्नू भयो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी तामाङ ,पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा,निवर्तमान जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ,एमाले नेता बालकृष्ण देउजा,नगरपालिकाका उपप्रमुख उमा प्रधान लगायतले आफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रममा जलवायु विज्ञ महेश्वर ढकालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा खैजडी भजन, झाक्रीनाच, विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रस्तुति समेत रहेको थियो ।