सम्पर्क

मेलम्चीमा आयोजित खुला ७ ए साइड फुटबलको उपाधि भूमेदेवी युवा क्लब चौतारालाई

मेलम्चीमा आयोजित ७ ए साइड खुला फुटबल प्रतियोगिताको उपाधि भूमेदेवी युवा क्लब चौताराले जितेको छ । हाम्रो टिम मेलम्चीको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा नयाँपाटी युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै भूमेदेवी युवा क्लबले उपाधि उचालेको हो । खेलकुद क्षेत्रको विकाससँगै स्थानीय तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभावान खेलाडीको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न स्थानबाट खेलाडी तथा क्लबहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता भूमेदेवी युवा क्लबले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता नयाँपाटी युवा क्लबले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा फेयर प्ले अवार्ड पाँचपोखरी थाङपाल गाउँपालिकाले प्राप्त गरेको छ । अवार्डसँगै गाउँपालिकाले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । आयोजकका अनुसार जिल्लामा पहिलोपटक प्रतियोगितामा फेयर प्ले अवार्ड प्रदान गरिएको हो । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पाँचपोखरी थाङपाल गाउँपालिकाका टिकाराम तामाङ घोषित हुनुभयो । उहाँले नगद ७ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । सर्वाधिक गोलकर्ता नयाँपाटी युथ क्लबका सागर तामाङ, उत्कृष्ट गोलकिपर भूमेदेवी युवा क्लबका नवीन सिलवाल घोषित हुनुभयो । उहाँहरुले नगद ४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नुभयो । फाइनल खेलको म्यान अफ द म्याच भूमेदेवी युवा क्लबका सागर गोले घोषित हुनुभयो । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता खेलकुद प्रतियोगिताले स्थानीयस्तरमा नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्दै प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्नुपर्ने उहाँको भनाइ थियो । प्रमुख तामाङले आगामी पुष १ गते मेलम्ची नगरपालिका–९ गुफाडाँडामा जलवायु सम्मेलन आयोजना हुन लागेको जानकारी दिँदै खेलाडी तथा आम मेलम्चीवासीलाई कार्यक्रममा उपस्थित हुनसमेत आह्वान गर्नुभयो । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले नगरका विभिन्न वडामा विभिन्न विधाका खेलकुद प्रतियोगिताहरू सञ्चालन भइरहेको बताउँदै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित खेलकुदका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले खेलकुदका क्षेत्रमा महिलाको सहभागितालाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिँदै महिला खेलाडीको सहभागिता बढ्ने गरी आगामी प्रतियोगिताहरू आयोजना गर्न आयोजक तथा सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीय समाजसेवी, खेलप्रेमी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । स्थानीयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडीलाई प्रतिस्पर्धाको अवसर दिनुका साथै नयाँ प्रतिभाको पहिचान, खेलकुदप्रतिको आकर्षण वृद्धि र युवालाई स्वस्थ तथा सकारात्मक गतिविधिमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । प्रतियोगितालाई आगामी दिनमा थप व्यवस्थित र व्यापक बनाउँदै खेल क्षेत्रको विकासमा योगदान पुर्‍याउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।