परिचयःकोदो नेपालको धान, मकै, गहुँ पछिको चौथो महत्वपुर्ण खाद्यन्न बाली हो । यसलाई पहाडी भेगमा मकै पहाडीको दोश्रो बालीको रुपमा लिइन्छ । कोदो विपन्न परिवारको खानाको मुख्य श्रोत हो । यसलाई सिंचाई कम हुने रुखोपाखो जग्गामा आकासे पानीको भरमा रसायनिक मल तथा विषादीको प्रयोग विना सीमान्त जग्गामा खेती गरीने बालीको रुपमा लिइन्छ । यस बालीमा रोग किरा र बन्यजन्तुको प्रकोप कम हुन्छ । कोदो जलवायु अनुकुलनीय अर्गानिक र बातावरण मैत्रीबाली हो । नेपालको ३०० मिटर देखी उच्च पहाडको ३००० मीटर उचाईसम्म मकै फल्ने स्थानमा कोदो खेती गरिन्छ । खास गरी मनाङ र मुस्ताङ बाहेकका मध्य र उच्च भेगका सबै जिल्लामा कोदो खेती गरिदै आएको छ । सुअन्न भनेर कहलिएको चामल भन्दा अव्वल गुण कोदोमा पाइन्छ । यसमा पाइने प्रौष्टिक पदाथर्, आइरन, औषधीय गुणहरु आदीको गहिरो अध्ययन गर्दै प्रचार प्रसार र प्रवद्र्धन आवश्यक छ । सिंचाई र उर्वरताको कमी भएको स्थानमा समेत खेती हुने जैविक विविधताको दृष्टिले महत्व रहेकाले कोदो एबं कोदो जन्य बालीलाई राष्ट्रिय महत्वको बालीको रुपमा स्थापीत गराउन आवश्यक महशुस गरि २०७७ साल श्रावन १५ गते नेपालमा संस्थागत रुपमा कोदोको बहस शुरु गरियो ।
संस्थागत बहस ः
कोदो उत्पादन र उपभोगमा प्रत्यक्ष संलग्न सीमान्त किसानहरुले आफ्ना अनुभव र सिकाईका आधारमा बहुगुणी कोदो तथा कोदो जन्यबालीको प्रर्वद्धन हुनुपर्छ भन्ने मान्यता बोकेका रैथाने बाली प्रेमी सचेत किसानहरुको राष्ट्रिय संगठन राष्ट्रिय कृषक समुह महासंघ नेपाल र उनीहरुको भोगाई र सिकाइलाई उज्जागर गर्न कलम चलाउने कृषि पत्रकारहरुको संगठन अनाज नेपालको संयुक्त आयोजनामा २०७७ साउन १५ गते संस्थागत रुपमा पहिलो पटक राष्ट्रिय कोदो बहसको शुरुवात भएको हो । राष्ट्रिय कृषक समुह महासंघ नेपालको सचिवालय प्राङगणमा महासंघको तत्कालिन अध्यक्ष नवराज बस्नेतको अध्यक्षातामा कृषि क्षेत्रका विषय विज्ञ, किसान र सरोकारवालाहरुको बाक्लो उपस्थिति र सकृय सहभागीता रहेको थियो ।
कोदो खेती गर्ने कृषक परिवार क्षेत्रफल

स्रोतः राष्ट्रिय कृषि गणना २०७८
बहस कार्यक्रमले पौष्टिकता र औषधीय गुणका हिसावले अत्यन्तै महत्व बोकेको कोदो खेती गर्ने कृषक परिवार संख्या र बाली लागेको क्षेत्रफल घट्दै गएकोले उत्पादन समेत घटेको समिक्षाका साथ राष्ट्रिय नीतिमा सम्बोधन गराई कोदोलाई मदिरा उद्योगको आधारको रुपमा विकास गर्न सकिने जलवायु परिवर्तनको न्यून प्रभाव पर्ने भएकोले दिर्घकालीन कृषि बालीको रुपमा विकास गर्न आवश्यक रहेको ठहर गरीएको छ । “सीता खाने भित्ता लागे पाङदुर खाने योद्धा” भन्ने उखानलाई चरितार्थ गर्न कोदो तथा कोदो जन्य बाली साना, सीमान्त, कृषकहरुको जीविकाको आधार भएकोले सरकारी लगानी र प्राथमिकता सहित प्रतिष्पर्धात्मक क्षमता वढाउन जरुरी रहेको औल्याए पश्चात कोदो तथा कोदो जन्य बालीलाई बहसको रुपमा मात्र सिमीत नराखी प्रचार प्रसारमा व्यापकता ल्याई जनचेतना विस्तार गर्न हरेक साउन १५ गते कोदो तथा कोदो जन्य बाली दिवशको रुपमा मनाँउदै जाने र सरकारी तहबाट पनि उक्त दिनलाई कोदो दिवश घोषणा गर्न पहलकदमी गर्नु पर्ने आबश्यकता आएको महशुस गरियो ।
अबधारणा र दिबश
खेती योग्य जमीनहरु बाँझो बस्दैछन् । ग्रामीण श्रमशक्ति पलाइन भई रहेको छ । खानाका कारण बिभिन्न किसिमका रोगले आक्रमण गरीरहेको छ । पहिलाको जस्तो स्थानीय र संस्कृतिक खाना लोप भएर गएका छन् । पहिला जस्तो ढिंडो, रोटी, पुवा, खोले अहिले गाउँघरमा पाक्न छोडेका छन् । कोदो तथा कोदो जन्य उत्पादनको परिकार खानको लागि रहर बढेर ठूला ठूला होटलहरुमा जानु पर्दछ । देशको माटो तथा हावापानी उपयुक्त भएर पनि उत्पादन घटेर गएको छ । अहिले खानका लागि कोदो भारत र चिनबाट आयात हुँदै आएको छ । त्यसैले कोदो एबं कोदो जन्य बालीको प्रचार प्रसारका साथै त्यसका गुणहरुलाई उज्जागर गरी उत्पादक र उपभोक्ता तहमा जनचेतना बिस्तार गर्न अपरिहार्य भएको तर उक्त जनचेतना बिस्तारका लागि अभियानको खाँचो भएको ठहरका साथ अभियान दिबशले मात्र पूर्ण गर्न सक्ने भएकोले अभियान, प्रचार प्रसार,उत्पादन र उपभोगका टेवा पु¥याउन कोशेढुंङ्गाको रुपमा कृषि कर्ममा निखार प्राप्त अगुवा किसानहरुको पहलमा नागरीक संगठनहरुले दिवशको शुरुवात गरिएको हो । हालसम्म नागरीक संगठनको तर्फबाट चार वटा कोदो दिबश मनाई सकिएको छ ।
प्रथम कोदो दिवश २०७८
राष्ट्रिय किसान आयोगका अध्याक्ष डा. प्रेम दंगालको प्रमुख आतिथ्यतामा नेपाल सरकारका प्रतिनिधिहरु विभिन्न संस्थाका प्रतिनिधिहरुको सहभागीतामा भर्चुअल अन्तर कृया सार्थ काठमाडौं जिल्लाको टोखा नगरपालिका वडा नं १ झोर गैरी गाँउमा कृष्ण प्रसाद अधिकारीको बारीमा प्रत्यक्ष कोदो रोपेर मनाइयो । मेलाले कोदो प्रर्वद्धन र उद्यमशिलतासंग कृषि शिक्षामा जोड्नु आवश्यकता भएकोले नेपाल सरकार साथै तहगत सरकार एवं राष्ट्रिय एवं अन्तरराष्ट्रिय संघ संस्था र सरोकारवालाहरुको समन्वयमा यसलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय दिवशको रुपमा स्थापीत गराउनु पर्ने औल्याएको थियो ।
दोश्रो कोदो दिवश २०७९
राष्ट्रिय समावेशी आयोगका माननिय सदस्य विष्णु ओझाको प्रमुख आतिथ्यतामा राष्ट्रिय किसान आयोगका प्रवक्ता जीवन्ती पौडेल, गाँउपालिका एबं विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र किसानहरुको सकृय सहभागीमा मकवानपुर जिल्ला भीमफेदी गाँउ पालिका वडा नं ५ छवेलीमा छवेली कृषक समुहहरुको व्यवस्थापनमा वारीमा कोदो रोपी दोश्रो कोदो दिवश मनाइयो । उक्त दिवशले वातावरण सन्तुलनमा योगदान गर्ने पोषण युक्त खाध्य भएकोले भौगोलिक अवस्था अनुसार विकास गर्नु पर्ने औल्याएको थियो ।
तेश्रो कोदो दिवश २०८०
जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्तताबारे जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले ७० भन्दाबढी देशहरुको समर्थनमा सन २०२१ मार्चमा संयुक्त राष्ट्रसंघको महासभाले सन २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । यसले नेपालमा मनाउन शुरु गरेको कोदो दिवशको सान्दर्भीकता बढेर गएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, स्थानीय सरकार र विभिन्न संघ संस्थाहरुको उपस्थितिमा काभ्रेपलान्चोक जिल्ला देउपुर मण्डन नगरपालिका वडा नं ६ कालिका स्थानमा दलित महिला कृषक समुहको व्यवस्थापनमा राष्ट्रिय समावेशी आयोगका सदस्य माननीय विष्णु माया ओझाको प्रमुख आतिथ्यतामा प्रत्यक्ष रुपमा कोदो रोपी तेश्रो कोेदो दिवश मनाइयो । उक्त दिवशले अन्तराष्ट्रिय रुपमा नै चर्चामा रहेको सीमान्तवाली कोदोको प्रचार प्रसार र प्रर्वद्धनका लागि कोदो दिवशको आवश्यकतालाई थप उचाईमा पु¥याई सरकारलाई समेत दिवशको आवश्यकता रहेको पुष्टी ग¥यो र दिवश मनाउने प्रतिवद्धता व्यक्त गर्न बाध्य बनायो । फलस्वरुप मन्त्रालय तथा सरकारी तहमा कोदो दिवश मनाउने विषय प्रवेश ग¥यो र सरकारी तबरबाट कोदो दिवश घोषणा गर्ने अभिव्यक्तिहरु बाहिर आउन थाले ।
चौथो कोदो दिवश २०८१
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा ललितपुर जिल्ला ललितपुर महानगर पालिका वडा नं १० खोकनामा खोकना युवा कृषक समुहको व्यवस्थापनमा सरकारी तथा गैर सरकारी निकायहरु एवं किसानहरुको बाक्लो उपस्थितीमा चौथो कोदो दिवश सम्पन्न भयो । महासंघ र अनाजको ५ वर्षे प्रयत्न र अन्तराष्ट्रिय कोदो वर्षको समेत प्रयासबाट कोदोको प्रचार प्रसार भई कोदोको महत्वलाई उज्जागर गरेका कारण मिति २०८२ असार २३ गते बसेको मन्त्री परिषदको बैठकले साउन १६ गतेका दिन कोदो दिवश मनाउने निर्णय गरेको छ । यो स्वागत योग्य कुरा हो ।
राष्ट्रिय कोदो दिवश २०८२
२०८२ साल असार २३ गते बसेको नेपाल सरकार मन्त्री परिषदको बैठकको निर्णय अनुसार साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवश मनाउने निर्णय भए पश्चात कोदो तथा कोदो जन्य सीमान्त र कुअन्नको रुपमा हेरिदै आएको रैथाने बालीहरु सुअन्नमा परिणत हुने अवस्था सिर्जना भएको छ । यस वर्ष “कोदो जन्य परिकारको आहार खाध्य सुरक्षा र स्वस्थ जीवनको आधार ”भन्ने नाराका साथ भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, राष्ट्रिय कृषक समुह महासंघ नेपाल, अनाज र एफ ए ओको संयुक्त आयोजनामा राष्ट्रिय कोदो दिवश २०८२ मनाउने तयारी भएको छ । सरकारले दिवश मनाउने घोषणा गरेसंगै अन्य संघ संस्थाहरु पनि कोदो दिवश मनाउने तयारी गरिरहेका छन् । दिवश रमाइलो र रमझनका लागि होइन दिवश कुनै पनि कुराको विकास, विस्तार तथा प्रर्वद्धनका लागि हो जसले वर्ष भरी श्रम गर्ने बास्तविक श्रमजिवी किसानहरुलाई छुनु पर्दछ । किसानको श्रम र श्रमको मुल्य बुझ्न सक्ने हुनु पर्दछ वा किसानलाई बुझाउन सक्ने हुनु पर्दछ । कृषि दिवश मनाएर फस्टने, फल्ने, फुल्ने तथा बढ्ने चिज होइन । कृषि विउ विरुवा माटोमा रोप्ने, उमार्ने, हुर्काउने, वढाउने र फलाउने चिज हो । नेपालमा दिवश मनाउने कुरा भाषणको रुपमा सिमीत बन्दै आएको छ । हिजो गमलामा धान रोपेर धान दिवश मनाएका तिता दृष्यहरु हाम्रो आँखामा ताजा छन् त्यत्रो प्रचार प्रसार गरेर पनि धान खेती गर्ने क्षेत्रफल र उत्पादन घटेर आयातमा निर्भर हुनु परेको अवस्था हाम्रो सामु छर्लङ्ग छ । यस्तो तरिकाले दिवश मनाउने होइन । धान दिवश, कोदो दिवश भनेको बाँझो रहेको जमीनमा जोतखन गर्दै दुइ चार सय रोपनीमा कोदो खेती विस्तार गर्दै उत्पादन बृद्धि हुने गरी अभियानको रुपमा मनाउनु पर्छ । तीन वटै तहका तहगत सरकार, सरकारी, गैरसरकारी संघ संस्था निकायहरु जवाफदेही ढंगले स्थनीय कृषकहरुसंग जोडिएर किसानहरुलाई अभियानमा सहभागी गराउन सक्नु पर्छ । दिवश सकारात्मक परिवर्तनका लागि हुनु पर्दछ । किसानहरुलाई उत्पादनमा सरिक हुन र उत्पादन बृद्धि गराउन सक्यो भने मात्र दिवशले सार्थकता पाउँछ ।
सरकारलाई दिवश मनाउन बाध्य बनाई दिवश मनाउन निर्णय गरी प्रचार प्रसारमा लाग्ने बनाउनु महासंघ र अनाजको ठूलो उपलव्धी हो नागरीक समाजको सकारात्मक प्रयास हो । सफल पैरवी अभ्यास हो । त्यसका लागि यस अभियानमा सरीक सबै धन्याबादको पात्र हुनु हुन्छ । सरकारले स्वामीत्व लिएको विषयमा अव अलमलिन भाषण र दिवशमा होइन दिवश मनाउने प्रचार प्रसार गर्ने कार्य अव राज्यले गर्दछ । नागरीक संगठनहरु प्रभावकारी अभ्यासको अबलम्बन गर्दै कोदोको उत्पादन वृद्धि एवं बाँझो जमीनको उपयोग गर्न तर्फ केन्द्रित हुनुपर्छ । दिवशमा सरकारसंग पाहुना लाग्ने अन्य समय किसानसंग साथ लाग्ने गर्नु पर्दछ ।
कृषि तथा पशुपंक्षि बिकास मन्त्रालयले यस वर्ष “कोदो जन्य परिकारको आहार खाध्य सुरक्षा र स्वस्थ जीवनको आधार ”भन्ने प्रथम कोदो दिवशको नारा अगाडी सारेको छ । दिवशको नारा भनेको शन्देश हो । शन्देश ब्यबहारीक र समय सापेक्ष हुनु पर्दछ । नारालाई बिश्लेषण गर्ने हो भने कोदोको परिकारको आहारलाई जोड दिएको छ । कोदोको परिकार बनाएर खाऔं भन्ने शन्देश दिन खोजेको पाइन्छ । यो नारा साउन १५ गते खिर खाने दिनको नारा मान्न सकिन्छ । यदि यही नारामा दिवश मनाउनु थियो भने किसान चाहेको, रोजेको, शुरुवात समेत गरेको साउन १५ गते कोदो दिवश मनाउन सरकारलाई के ले छेक्यो । १५ गते नभई १६ गतेका लागि दिबश मनाउने साइत कसरी जु¥यो । पर्ब माथि पर्ब थोपर्न किन प¥यो । नागरीक संगठनहरुको साथ सहयोग र समर्थन के थियो यो चर्चाको बिषय बन्दै जाला र चर्चाको बिषय बनाउनु जरुरी छ । जे होस यस नाराले उत्पादनलाई छुन सकेको पाईदैन । हामीले चाहेको उत्पादन बिनाको आयातित बस्तुको आहार होइन हामीले चाहेको नेपाली माटोमा उत्पादित बस्तुको आहार हो । त्यसैले यो दिवशको नाराले उत्पादन र उत्पादकलाई छुनु पर्दछ । आफ्नो श्रम, आफ्नो लगानी, आफ्नो उत्पादन, आफ्नो आहार भन्ने मान्यता कायम गर्नु पर्दछ । हामी नागरीक संगठनले यो दिवशको परिकल्पना उत्पादन, प्रशोधन, उपभोग र आर्थिक उपार्जनमा टेवा पु¥याउन कोशेढुङ्गा साबित गराउनको लागि हो । यस बिषयमा नागरीक संगठनहरु प्नि स्पष्ट हुनु जरुरी छ ।
लेखकः बस्नेत कोदो दिबशको परिकल्पनाकार एबं राष्ट्रिय कृषक समूह महासंघ, नेपालका संरक्षक हुन् ।
