फेब्रुअरी महिना राष्ट्रिय आयोडिन सचेतना महिनासँग सम्बन्धित कार्यक्रम भोटेकोशी गाउँपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष दाबुटी शेर्पा लामाले आयोडिन शरीरलाई दैनिक रुपमा नभई नहुने सुक्ष्म पोषक तत्व रहेकाले आवश्यक मात्रामा आयोडिनको प्रयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा वडाध्यक्ष सुपा लामा , सुआहारा कार्यक्रमको मनोज मिश्र , गाउँपालिका स्वास्थ्य सँयोजक भुपेन्द्र लाल श्रेष्ठ लागायत स्थानियहरुको सहभागिता रहेको थियो ।
दीर्घकालिन रणनीति अनुसार नेपाल सरकारले सन् १९७३ देखि मानिस तथा जनावरले खाने नूनमा आयोडीन मिसाएर विक्री वितरण गरिने युनिभर्सल साल्ट आयोडाइजेशनको कार्यक्रम ल्यायो । साथै, सन् १९९९ मा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सही मात्रामा आयोडीन भएको नूनको लागि प्रमाणिकरण चिन्ह “दुई बालबालिकाको चिन्ह’ सामाजिक बजारीकरण अभियान अन्र्तगत जारी गर्यो ।
नेपाल सरकारले सन् २००० पछिको दशकहरुमा सामाजिक बजारीकरण अभियान अन्र्तगत राष्ट्रव्यापि रुपमा आयोडीनयुक्त नूनको व्यापक प्रचार प्रसार गर्यो । सन् १९९८ पश्चात यो कार्यक्रम नै नेपाल सरकारको आयोडीनको कमीले हुने विकृति नियन्त्रणका लागि एक मात्र महत्वपूर्ण कार्यक्रम हो ।
नेपालले आयोडीनको कमीले हुने विकृति नियन्त्रण गर्नका लागि सन् १९७३ देखि लिएका नीति तथा रणनीतिहरुको परिणाम स्वरुप हाल नेपालमा आयोडीनको कमीको स्थितिमा निकै सुधार आएको छ । सन् २०१६ मा गरिएको नेपाल नेसनल माइक्रोन्युट्रिन्ट स्टाटस सर्भेक्षणका अनुसार यो कार्यक्रमको सफलताले गर्दा नेपालका ९० प्रतिशत भन्दा बढी घरपरिवारले आयोडीनयुक्त नून खाइरहेका छन् ।
विद्यालय जाने ६ देखि ९ वर्ष उमेर समूहका बालबालिकाहरु, १५ देखि ४९ वर्षका महिलाहरु, तथा १५ देखि ४९ वर्षका गर्भवती महिलाहरुको पिशाबमा निष्काशन हुने आयोडीनको मात्रा कमशः ३१४ माइक्रोग्राम प्रति लिटर, २८६ माइक्रोग्राम प्रति लिटर र २४१ माइक्रोग्राम प्रति लिटर देखिएको हुनुले पनि यी उमेर समूहका मानिसहरुमा आयोडीनको कमी नभएको देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले कुनै पनि देशमा आयोडीनको कमीको समस्या छैन भन्नका लागि त्यस देशका जनताको पिशाबमा निष्काशन हुने आयोडीनको मात्राको निर्धारित विन्दु १०० माइक्रोग्राम प्रति लिटर भन्दा बढी हुनपर्ने भनी तोकेको छ भने कम्तिमा ९० प्रतिशत घरपरीवारले उपयुक्त मात्रामा आयोडीन भएको नून ९आयोडीनको मात्रा १५ पिपिएम भन्दा बढी भएको खाएको हुनुपर्ने भनेको छ । यी तथ्यांकले यी दुवै सूचकमा नेपालले प्रगति गरेको देखाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसालै गरेको नसर्ने रोगको जोखिम कारक हेर्ने स्टेप सर्भेक्षण २०१९ को अनुसार नेपालीहरुले औसत रुपले ९।१ ग्राम नन प्रति व्यक्ति प्रतिदिनका रुपले खाइरहेका छन् । यसरी बढी नून खानाले एकतर्फ नसर्ने रोगको जोखिम बढी रहेको छ भने आयोडीनको मात्रा पनि आवश्यकता भन्दा बढी खाइरहेका छन् ।
नेपाल सरकारले आयोडीनको कमीले हुने विकृतिहरु नियन्त्रणका लागि दुई बालबालिका चिन्ह भएको पाकेटको नूनमा उत्पादनस्थलमा कम्तिमा ५० माइक्रोग्राम आयोडीन प्रति ग्राम खानेनूनमा मिसाउने व्यवस्था मिलाएको छ ।
आयोडीन भएको नून खाने प्रचलनमा कमी आएमा आयोडीनको कमीले हुने विकृति पूनः जनस्वास्थ्यको समस्याको रुपमा देखिन सक्छ । त्यसैले, नेपालमा आयोडीनयुक्त नून खाने व्यवहारमा आएको परिवर्तनलाई दिगो रुपले कायम राख्न जरुरी छ ।
यस वर्ष पनि कोभिड १९ को महामारी के बीचमा पनि सामाजिक दूरी, मास्कको प्रयोग र साबुन पानीले हात धुने अभ्यासलाई कायम राख्दै यो आयोडीनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिना “ फेब्रुअरी” मनाइरहेको छ ।
