सञ्जय तामागं, नवलपुर, असार १० – इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ८३ करोड १० लाख ७९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको दशौं गाउँसभाको अधिवेशनमा उपाध्यक्ष शोभना तामाङ ले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा सम्पन्न गाउँसभामा प्रस्तुत बजेटमा आन्तरिक आय (दहत्तर–बहत्तर समेत) बाट १३ करोड ४१ लाख २० हजार रुपैयाँ, अन्य आयबाट १० करोड रुपैयाँ तथा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १३ करोड ९८ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। उता संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँटतर्फ ८ करोड २१ लाख ४५ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ५ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ५ लाख रुपैयाँ तथा सशर्त अनुदान २७ करोड २४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ३१ लाख ७६ हजार रुपैयाँ, सवारी कर बाँडफाँट २ करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान १ करोड ४१ लाख ७९ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड ९७ लाख ५० हजार रुपैयाँ तथा विशेष अनुदान ७० लाख रुपैयाँ र भारतीय दूतावासको सहयोगमा स्वास्थ्य चौकी निर्माणका लागि ५० लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ। बजेटमार्फत अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो तथा समावेशी आर्थिक वृद्धि हासिल गर्ने, गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्यायको प्रत्याभूति गर्ने तथा लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च बनाउने लक्ष्य लिएको जनाएको छ। साथै, आय तथा रोजगारीका अवसर सिर्जना गर्दै गरिबी न्यूनीकरण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने र बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। प्रस्तुत बजेटले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, सुशासन तथा सार्वजनिक सेवा प्रवाह, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन र दिगो विकास लक्ष्य लाई प्रमुख प्राथमिकतामा राखेको छ। सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। त्यसैगरी, आर्थिक विकासतर्फ कृषि तथा पशुपालनको आधुनिकीकरण र व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, उद्योग तथा उत्पादन वृद्धि, आयआर्जन र रोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, सामाजिक न्याय र सामाजिक सुरक्षालाई सुदृढ बनाउने तथा वन, वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ। गाउँपालिकाले प्रस्तुत गरेको बजेटले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै समृद्ध, आत्मनिर्भर र दिगो विकासयुक्त इन्द्रावती निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यसबाहेक गाउँसभामा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले गाउँसभामा प्रस्तुत गर्नुभएको गाउँपालिकाको नीति तथा कार्यक्रम, न्यायिक समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले प्रस्तुत गर्नुभएको न्यायिक समितिको वार्षिक प्रतिवेदन २०८३, वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले प्रस्तुत गर्नुभएको लेखा समितिको वार्षिक प्रतिवेदन २०८३, वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले प्रस्तुत गर्नुभएको विधायन समितिको वार्षिक प्रतिवेदन २०८३, गाउँसभा सदस्य निता दनुवारले प्रस्तुत गर्नुभएको विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०८३ समेत सभाले पारित गरेको छ
