सिन्धुपाल्चोकमा खानेपानी गुणस्तर निगरानी सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया बुधबार चौतारामा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा भएको खानेपानी गुणस्तर निगरानी सम्बन्धी खानेपानी उपभोक्ता समिति तथा सरोकारवालाहरूबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सुरक्षित खानेपानी योजना निर्माण, नियमित गुणस्तर परीक्षण, प्रभावकारी अनुगमन र समुदायस्तरमा जनचेतना अभिवृद्धिको आवश्यकतामाथि जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका, २०७९ का मुख्य व्यवस्थाबारे जानकारी गराईएको थियो । नागरिकले उपभोग गर्ने पानी रंग, गन्ध र स्वादका दृष्टिले स्वीकार्य हुनुका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने सूक्ष्मजीव तथा रासायनिक पदार्थबाट सुरक्षित हुनुपर्ने बताईएको थियो । मापदण्डले खानेपानीमा भौतिक, रासायनिक र सूक्ष्मजीवजन्य सूचकहरूको नियमित परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । विशेषगरी पानीमा ई.कोलाई र दिसाजन्य कोलिफर्म जीवाणु शून्य हुनुपर्ने, पानीको धमिलोपन, पीएच, अवशिष्ट क्लोरिन, फलाम, आर्सेनिक, अमोनिया, नाइट्रेट र फ्लोराइडलगायतका सूचक तोकिएको सीमाभित्र रहनुपर्ने व्यवस्था रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो । बजगाईले निर्देशिका अनुसार खानेपानी वितरण गर्ने संस्था र सम्बन्धित निकायले पानीको स्रोतदेखि उपभोक्ताको घरसम्मको सम्पूर्ण प्रणालीमा नियमित परीक्षण, अभिलेखीकरण, निगरानी र सुधारात्मक उपाय लागू गर्नुपर्ने बताउनुभयो । उहाँले प्रत्येक खानेपानी आयोजनाले अनिवार्य रूपमा खानेपानी सुरक्षा योजना तयार गरी पानीको मुहान, संकलन, प्रशोधन, भण्डारण र वितरणका प्रत्येक चरणमा सम्भावित जोखिम पहिचान गरी त्यसको न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिनुभयो । प्रमुख बजगाईले वर्षायाममा खानेपानीका मुहान, ट्यांकी तथा वितरण प्रणाली दूषित हुने सम्भावना अत्यधिक रहने भएकाले यस विषयलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो । सुरक्षित खानेपानी केवल खानेपानी आयोजना वा स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई स्थानीय सरकार, उपभोक्ता समिति, स्वास्थ्य संस्था, सञ्चार क्षेत्र र समुदाय सबैको साझा दायित्व भएको उहाँले उल्लेख गर्नुभयो । जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्निसियन सुमित्रा न्यौपानेले जिल्लाका पालिकाहरुबाट खानेपानी संकलन र यसको परिक्षण गर्ने गरेको बताउनुभयो । नेपालमा सुरक्षित खानेपानीमा नागरिकको पहुँच विस्तार हुँदै गएको भए पनि पानीको गुणस्तर कायम गर्नु अझै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले सफा देखिने सबै पानी सुरक्षित नहुन सक्ने भन्दै नियमित परीक्षण र निगरानीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले खानेपानीको स्रोत, भण्डारण र वितरण प्रणालीको नियमित परीक्षण तथा जोखिम मूल्याङ्कन नगर्दा धेरै पानीजन्य रोगको जोखिम बढ्ने गरेको बताउनुभयो । “खानेपानीको सुरक्षा केवल मुहानमा निर्भर हुँदैन,” उहाँले भन्नुभयो, “मुहानदेखि उपभोक्ताको घरसम्म पुग्ने प्रत्येक चरण सुरक्षित हुनुपर्छ । एउटा चरणमा हुने लापरबाहीले पनि सम्पूर्ण प्रणाली प्रभावित हुन सक्छ ।” कार्यक्रमा खानेपानी तथा सरसफाई डिभिजन नं. ३ सिन्धुपाल्चोकका प्रमुख सृष्टि ख्वालापालाले दुई सरकारी कार्यालयले समन्वय गरेरे अघि बढ्न सकिने बताउदै स्वच्छ र सुरक्षित खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार भएको बताउनुभयो । गुणस्तरीय पानी उपलब्ध गराउने विषयलाई सबै जिम्मेवार निकायले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले खानेपानी वितरण गर्नु मात्र पर्याप्त नभई उपभोक्तासम्म पुग्ने पानी सुरक्षित र स्वास्थ्यका दृष्टिले उपयुक्त छ भन्ने सुनिश्चित गर्नुपर्ने बताउनुभयो । त्यस्तै नेपाल खानेपानी महासंघका जिल्ला अध्यक्ष बालकुमारी सापकोटा, जुगल थाल्खार्क होल्चे खानेपानी उपभोक्ता समितिका उपसचिव कृष्णबहादुर ठकुरी लगायतले घरायसी तहमा समेत पानी उमालेर वा शुद्धीकरण गरेर प्रयोग गर्ने बानी विकास गर्नुपर्ने तथा सचेतनामूलक कार्यक्रमलाई समुदायस्तरमा विस्तार गरी खानेपानी वितरण गर्ने संस्थालाई थप जिम्मेवार बनाउन आवश्यक रहेको उहाँहरुको भनाइ थियो । कार्यक्रममा सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, चौतारा अस्पतालका प्रमुख विवेक भण्ड़ारी, चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश नेपाल, नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकका कमलचरण कक्षपति, जनहित ग्रामिण सेवा समितिका कार्यक्रम संयोजक राकेश राना, जनस्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत शिवराम बस्नेत लगायत सरोकारवालाको उपस्थिति रहेको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत निशान सापकोटाले जानकारी दिनुभयो । वर्षायाममा झाडापखाला, टाइफाइड तथा अन्य पानीजन्य रोगका बिरामीको संख्या बढ्ने गरेको अनुभव साझा गर्दै यस्ता रोगको नियन्त्रणका लागि गुणस्तरीय खानेपानी सबैभन्दा प्रभावकारी रोकथामको माध्यम भएको आयोजकको भनाई छ।
