रुपक पुरी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को चुनावी माहोल तातिँदै गएको छ । गाउँ–बस्ती, चिया पसल र चौतारीमा उम्मेदवारका नामसँगै उहाँहरूको पृष्ठभूमि र क्षमताबारे चर्चा चल्न थालेको छ । यसपटक यहाँ १८ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, जसले चुनावलाई बहुपक्षीय र प्रतिस्पर्धात्मक बनाएको छ ।
निर्वाचन आयोगका अनुसार सिन्धुपाल्चोक–२ बाट १५ जना विभिन्न राजनीतिक दलका तर्फबाट र तीन जना स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी दौडमा रहनु भएको छ । उम्मेदवारी दर्ता र निर्वाचन चिह्न पाएपछि सबै उम्मेदवार मतदाता भेटघाट र प्रचारप्रसारमा व्यस्त रहनु भएको छ ।
आयोगले सार्वजनिक गरेको व्यक्तिगत विवरणले उम्मेदवारहरूको शैक्षिक र सामाजिक पृष्ठभूमि उजागर गरेको छ । यस सूचीमा एसएलसीदेखि पीएचडीसम्मका शैक्षिक योग्यता भएका उम्मेदवार छन् । केही उम्मेदवार गाउँकै जनजीवनसँग नजिक रहेर हुर्किएका छन् भने केही उच्च शिक्षासहित नीति र विकासका बहस लिएर मतदातामाझ पुगेका छन् ।
यस क्षेत्रका उम्मेदवारमध्ये सबैभन्दा धेरैले एसएलसी वा सोसरहको शैक्षिक योग्यता उल्लेख गरेका छन् । यद्यपि, ठूला राजनीतिक दलका उम्मेदवारहरू भने स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् ।
आयोगले सार्वजनिक गरेको उम्मेदवारको व्यक्तिगत विवरणअनुसार यस क्षेत्रका उम्मेदवारहरूको शैक्षिक योग्यता अत्यन्त विविध छ । उम्मेदवारमध्ये नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल (शरद), नेपाली कांग्रेसका वंशलाल तामाङ र नेकपा एमालेका शेरबहादुर तामाङ स्नातकोत्तर (मास्टर्स÷एमए) तह उत्तीर्ण हुनुहुन्छ ।
राष्ट्रिय मुक्ति पार्टीका मिङ्मार तामाङ र नेपाल मजदुर किसान पार्टीका म्हेन्दो तामाङले स्नातक (ब्याचलर) तहको अध्ययन गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपीकृष्ण चौलागाइँ इन्जिनियरिङ विषयमा अध्ययन गरेका उम्मेदवार हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका झलककुमार श्रेष्ठ (अजय), उज्यालो नेपाल पार्टीका रामसिङ तामाङ, श्रम संस्कृति पार्टीका भानु श्रेष्ठ, नागरिक सर्वोच्चता पार्टी नेपालका सेरबहादुर तामाङ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमान लामा एसएलसी तह उत्तीर्ण गर्नुभएको छ ।
यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दावा छिरिङ शेर्पा र मितेरी पार्टी नेपालका महेश कुँवरले कक्षा १० पास गरेको विवरण दिनुभएको छ । आमजनता पार्टीका गणेश श्रेष्ठले सामान्य लेखपढ उल्लेख गर्नुभएको छ भने मंगोल नेशनल अर्गानाइजेशनका कर्णवीर स्याङ्बो लामाले आफू साक्षर रहेको जानकारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारहरूमध्ये दीपक ढकालले ज्क्भ्द्य तह उत्तीर्ण गरेको जनाउनुभएको छ भने अर्का स्वतन्त्र उम्मेदवार बिजु श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि (पीएचडी) गरेको विवरण आयोगको सूचीमा उल्लेख छ । स्वतन्त्र उम्मेदवार सुन्दर अधिकारीको शैक्षिक योग्यता भने उपलब्ध छैन ।
उम्मेदवारहरूको शैक्षिक पृष्ठभूमि सार्वजनिक भएसँगै मतदाताबीच “कसले कति पढे” भन्ने विषयमा चासो बढेको छ । शैक्षिक योग्यता मात्र राजनीतिक नेतृत्वको एसाना र वैकल्पिक दलका उम्मेदवारहरू विभिन्न पृष्ठभूमिबाट आएका छन् । कोही सामाजिक अभियन्ता, कोही स्थानीय स्तरमै राजनीति गर्दै आएका अनुहार । यसले सिन्धुपाल्चोक–२ को चुनावलाई केवल दलबीचको प्रतिस्पर्धामा सीमित नराखी विचार र अनुभवको प्रतिस्पर्धामा पनि रूपान्तरण गरेको छ ।
स्थानीय मतदाताहरू उम्मेदवारको शिक्षा मात्र होइन, उनीहरूको व्यवहार, पहुँच र विगतको भूमिकालाई पनि मूल्याङ्कन गर्ने बताउँछन् । “पढाइ महत्त्वपूर्ण हो, तर हाम्रो समस्या बुझ्ने मान्छे चाहिन्छ,” चौताराका बिर बहादुर तामाङ बताउनुहुन्छ ।
यसपटकको निर्वाचनमा उम्मेदवारको संख्या धेरै भएकाले मत विभाजनको सम्भावना पनि उत्तिकै छ । कसले मतदाताको भरोसा जित्छ भन्ने प्रश्न खुला नै छ । तर एउटा कुरा निश्चित छ—सिन्धुपाल्चोक–२ को यो चुनाव शिक्षाको प्रमाणपत्रभन्दा धेरै, जनताको विश्वासको परीक्षा बनेको छ ।
