सम्पर्क

सिन्धुपाल्चोक–२ ः घरदैलोमा उम्मेदवार, विकास निर्माणको एजेन्डा

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरू घरदैलो र गाउँस्तरका भेटघाटमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्। उनीहरूको मुख्य एजेन्डा भनेको स्थानीय विकास र रोजगारी सिर्जना हो ।
सिन्धुपाल्चोकमा दुई प्रतिनिधि सभा क्षेत्रका लागि १५ राजनीतिक दलका उम्मेदवार र तीन स्वतन्त्र उम्मेदवारसहित कुल ३६ जना मनोनयन दर्ता गरिसकेका छन् । यस वर्षको चुनावी मैदानमा दोहोरिएका उम्मेदवार र नयाँ अनुहार दुवै देखिएका छन् ।
पुराना एमालेका उम्मेदवार शेरबहादुर तामाङले ग्रामीण सडक स्तरोन्नति, पक्की पुल निर्माण, खानेपानी आयोजना विस्तार, सिँचाइ सुविधा र शिक्षा–स्वास्थ्यका अधुरा काम पूरा गर्ने योजना अघि सार्नुभएको छ । तामाङ भन्नुहुन्छ “हामीले अघि बढाएका विकासका कामलाई निरन्तरता दिनु हाम्रो मुख्य प्राथमिकता हो । गाउँलेलाई प्रत्यक्ष असर पर्ने काममा जोड दिनेछौं ।”
अर्कोतर्फ, नयाँ र वैकल्पिक दलका उम्मेदवारहरूले पुराना दलहरूले जनताको अपेक्षा अनुसार काम नगरेको दाबी गरेका छन् , राष्ट्रिय स्वतन्त्र पार्टीका झलककुमार श्रेष्ठ (अजय) जनताको समस्या बुझ्ने र ठोस समाधान प्रस्तुत गर्नेे लक्ष्य रहेको बताउनुहुन्छ । पुराना दलको नीतिबाट असन्तुष्ट मतदातालाई हामी विकल्प दिन तयार रहेको उहाँको भनाई छ ।
उम्मेदवारहरू घरदैलो, भेला, अन्तरक्रिया र छलफलमार्फत स्थानीय सुझाव संकलन गर्ने रणनीति अपनाइरहेका छन् । यसरी संकलित प्राथमिकतालाई आफ्ना योजना र घोषणापत्रमा समेट्ने तयारी भइरहेको छ ।
स्थानीय मतदाताहरू पनि चुनावी अभियानलाई नजिकबाट मूल्याङ्कन गर्न थालेका छन् । निर्वाचन नजिकिँदै जाँदा पुराना र नयाँ दलका उम्मेदवारहरूको गतिविधि तीव्र हुँदै गएको छ । उनीहरू शान्तिपूर्ण र मर्यादित ढंगले आफ्नो एजेन्डा अनुसार मतदाताको विश्वास जित्ने उद्देश्यसहित प्रचार–प्रसारमा जुटेका छन् ।
सिन्धुपाल्चोक–२ मा यसपालि चुनाव सिर्फ दलको प्रतिस्पर्धा नभई विकास र जनतासँगको प्रत्यक्ष संवादमा केन्द्रित देखिन्छ । मतदाताले आगामी फागुन २१ मा दिने मतले गाउँको भविष्य र विकासको दिशा तय गर्नेछ ।