सम्पर्क

सिन्धुपाल्चोक जिल्लाको आठौँ जिल्ला सभा सम्पन्न

मंसीर २५गते     सिन्धुपाल्चोक जिल्लाको आठौँ जिल्ला सभा आज सम्पन्न भएको छ। जिल्ला समन्वय समिति प्रमुख तथा सभाध्यक्ष श्री बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा जिल्लाका सबै नगरपालिकाका प्रमुख÷उपप्रमुख , गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष , जिसस का सदस्य, प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति प्रतिवेदन, मौज्दात कोषको अवस्था, आ.व. २०८२÷८३ का नीति तथा कार्यक्रम, बजेट विनियोजन तथा स्थानीय तहबीचका समन्वयगत विषयहरूबारे विस्तृत छलफल गरिएको थियो ।
जिससका उपप्रमुख पदमनाथ नेपालले सभामा सहभागी स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको बीचमा आ.व. २०८१÷८२ मा सम्पन्न गतिविधि र प्राप्त उपलब्धिहरू समेटिएको प्रगति प्रतिवेदन सहित आ.व २०८२÷८३ को लागी नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो । सोही आर्थिक वर्षमा जिसस र सम्बन्धित स्थानीयतहहरुको लागत साझेदारीमा मौज्दात कोषबाट संचालन भई भुक्तानी भएका विभिन्न २७ वटा योजनाहरुको रकमको विवरण मौज्दात कोषबाट पनि सभामा अनुमोदनका लागि पेश गरिएको थियो। आगामी वर्षका लागि जिल्ला समन्वय समितिद्वारा तयार पारिएको १० बुँदे नीति तथा कार्यक्रम सभाले छलफलसहित स्वीकृत गरेको छ। साथै बागमती प्रदेश सरकार र संघीय सरकारबाट प्राप्त बजेट तथा विनियोजनको विवरण पनि सभामा प्रस्तुत गरी जानकारी गराइएको थियो। आ.व २०८२÷८३ मा जिल्ला समन्वय समितिका लागि जिल्ला समन्वय समितिको बोर्ड बैठकबाट थप बाँडफाँड हुने गरी संघीय सरकार बाट १,६०,६२,०००(अक्षरुपी रु एक करोड साठी लाख बैसाठी हजार मात्र) र बागमती प्रदेश सरकारबाट रु २८,००,०००(अक्षरुपी अठाइस लाख मात्र) विनियोजन भएको छ ।
मौज्दात कोष, नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्ष २०८२÷८३ का बजेट प्रस्तावका सम्बन्धमा सभासद सदस्यहरूले सुझाव, राय तथा पृष्ठपोषण प्रदान गरेका थिए। छलफलका क्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख श्री कृष्ण प्रसाद सापकोटा, मेलम्ची नगरपालिकाका प्रमुख श्री आइतमान तामाङ, इन्द्रावती गाउँपालिकाका अध्यक्ष श्री झम्क नेपाल, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष श्री टासी लामा, चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख श्रीमती सिता थापा, मेलम्ची नगरपालिकाकी उपप्रमुख श्रीमती उमा प्रधान तथा बाह्रबिसे नगरपालिकाकी उपप्रमुख श्रीमती मञ्जु तामाङले आफ्नो धारणा राख्दै आवश्यक सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यलय सिन्धुपाल्चोकका प्रमुख कोष नियन्त्रक प्रमोद सिंखडाले आर्थीक कारोबार गर्दा माथील्लो निकायको निर्देशन, नीति नियम भित्र रहेर काम गर्न पर्ने र मौज्दात कोषको सन्दर्भमा महालेखा नियन्त्रक कार्यालयले दिएको बजेट खर्च गर्ने मार्गनिर्देशन अनुरुप मौज्दात कोषमा रहेको पैसा को ले नि का को बेरुजु खातामा जम्मा गर्नुपर्ने बताउँनु भयो । बिभिन्न उठेका प्रश्न तथा जिज्ञासा को जिल्ला समन्वय अधिकारी राजेन्द्र बहादुर अर्यालले सहजीकरण गर्नु भएको थियो । सभाको अन्त्यमा सभाध्यक्ष श्री बालकृष्ण श्रेष्ठले जिल्लाको समन्वय प्रणालीलाई अझ प्रभावकारी बनाउन सबै स्थानीय तह, सम्बन्धित निकाय तथा सरोकारवालाबीच निरन्तर सहकार्य, समन्वय र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै र पेश भएका नीति कार्यक्रम बजेट तथा बिभिन्न निर्णयहरु स्वीकृत गर्दै आठौँ जिल्ला सभालाई सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभयो।