रामचन्द्र दुलाल ललितपुर÷ १३ कातिक ः नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपदमा परेकाहरुलाइ सहयोग गर्नेहरुप्रति पार्टीले उच्च मुल्यांकन गर्ने बताउनु भएको छ।
“सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश“ भन्ने नाराका साथ पूर्वमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सहयोगमा आज मंगलबार ललितपुरमा बाढिपहिरोबाट मृत्यु हुनेका परिवारलाई नगद राहत वितरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभापति देउवाले अहिले भाषण गर्ने भन्दापनि विपदमा रहेकाहरुलाई सहयोग गर्ने र उनीहरुको समस्या समाधान गर्नेमा लाग्नुपर्ने बेला रहेको बताउनुभएको हो ।
“पार्टीको तर्फबाट तपाईंहरु सहयोगी सबैलाई धन्यवाद दिन चाहान्छु, पार्टीकोतर्फबाट महत्त्वपूर्ण काम गर्नुभएको छ, अझै गर्नुहुनेछ भन्ने विश्वास छ, देशभर सबेै ठाउँमा ठूलो नोक्सानी भएको छ, धेरै साथीहरूले ज्यान गुमाउनुपरेको छ, यस्तो अवस्थामा सबै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु।“ सभापति देउवाले भन्नुभयो ।
सभापति देउवाले आफ्नै जिल्ला धेरै क्षति भएको अवस्थामा पनि सहयोग उपलब्ध गराएर पूर्वमन्त्री मोहन बस्नेतले धेरै राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले पार्टीका पदाधिकारी तथा सदस्यहरुका साथै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निरन्तरता राहत र पुनःस्थापनाका लागि खटिएर काम गर्न आग्रह गर्नुभयो।
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूले भूकम्प, कोभिडलगायतका महामारीको समयमा पनि राहत,उद्धार र सहयोग गर्ने काममा महत्त्वपूर्ण काम गरेको बताउँदै बाढिपहिरोले क्षति पु¥याएको यस महत्त्वपूर्ण अवस्था पनि सहयोग गर्नु दायित्व सम्झेर काम गरेको बताउनुभयो । “म पनि ललितपुरसंग भावनात्मक रुपले जोडिएको छु, २०४८ सालमा यहीँ डेरामा बस्दाबस्दै चुनाव लडेको हुँ, त्यसैले विपदको समयमा यो ठाउँमा सहयोग गर्नुपर्छ भन्ने लागेकोले पहल गरेको हुँ।“ उहाँले भन्नुभयो ।
उहाँले बाढिपहिरोमा प्रभावितहरुको सहयोगका लागि देशव्यापी रुपमा क्रियाशील रहने बताउनुभयो ।
बस्नेतकै समन्वय र सहयोगमा आज ललितपुरमा मृत्युु भएका ४६ जना र वेपत्ता भएका पाँच जनाका परिवारलाई २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको हो ।
ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले विपदबाट भएको मानवीय क्षति र भौतिकमा सहयोग गरेर मलम पट्टी लगाउन कांग्रेसले प्रयास गरेको बताउनुभयो । उहाँले बाढिपहिरोबाट सृजित विपदको समयमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले महत्त्व भूमिका निर्वाह गरेको बताउनुभयो । नेपाली कांग्रेस ललितपुरले बाढिपहिरो पीडितहरुका लागि संकलन गरेको २ लाख २७ हजार पाँच सय पाँच रुपैयाँ बागमती गाउँपालिका आश्राङका घर बगेका सुकुम्बासीहरुका लागि प्रदान गरेको छ। आश्राङको १ हजार पाँच सय रोपनीभन्दा बढि खेत र धानबालीमा क्षति पु¥याएको छ ।
नेपाली कांग्रेस ललितपुरको समन्वय र सहजीकरणमा भएको कार्यक्रमका लागि सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भोटेकोशी र,त्रिपुरासुन्दरी गाउँपालिका समेतले सहयोग उपलब्ध गराएका थिए ।