नेपाली लघुकथालाई उचाइमा पुर्याउन हाम्रा थुप्रै अग्रजहरूको योगदान रहेको छ। धेरै अग्रजहरू मध्ये पनि अग्रपंक्तिमा आउने एउटा विशिष्ट नाम हो नारायण तिवारी। नारायण तिवारी याने कि लघुकथा कुनोका संस्थापक एडमिन, जुन पेजको स्थापनापश्चात् लघुकथाले सामाजिक सञ्जालमार्फत अझ उचाइ लिने काम गरेको थियो।
लघुकथाकै क्षेत्रमा पाँच दशक लामो यात्रा पूरा गरिसक्नु भएका र यहि क्षेत्रमा उच्च योगदान पु¥याएको भनेर उहाँलाई लघुकथा समाज नेपाल र हाम्रो लघुकथा केन्द्र नेपालले आ– आफ्नो तवरबाट उच्च सम्मान अर्पण गरिपनि सकेको छ। आज उनै साधक, कुशल प्रवन्धक लघुकथाका हस्ती, नारायण तिवारीसंग लघुकथाकै सेरोफेरोमा रहेर हाम्रो लघुकथा केन्द्र नेपालका संरक्षक एवं व्यवस्थापक राजु क्षत्री अपुरोसँगको भलाकुसारी पेश गरेका छौं ।
सर्वप्रथम आफ्नो साहित्यिक यात्रा बारे बताइदिनुहोस् न ?
मेरो पहिलो कविता ‘केवल रित्तो संसार छ’ शीर्षकमा वि.सं.२०३३ जेठ ९ को ‘संरक्षक’ साप्ताहिकमा प्रकाशित भएको थियो । कथा वि.सं.२०३३ फागुन ११ गते मङ्लबारको ‘मातृभूमि’मा ‘परिणाम केवल शून्य’ शीर्षकमा र लघुकथा वि.सं.२०३३ मंसिर १५ मा ‘प्रयोग’ नामक लघुकथासङ्ग्रहमा ‘ती सबै मेरा सपना थिए’ शीर्षकमा । विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशन हुनुभन्दा तीनचार वर्ष अघिदेखि नै फाट्टफुट्ट रूपमा लेखिरहेको भए पनि फुटकर प्रकाशन हुन थालेपछि नै वास्तविक रूपमा मेरो साहित्यिक लेखन यात्रा सुरू भएको म मान्दछु ।
मेरा हालसम्म लघुकथाका दुई, कविताका तीन, कथाका तीन, उपन्यास एक, बालकथासङ्ग्रह एक, र संस्मरण एक पुस्तकहरू प्रकाशित छन् ।
नेपाली लघुकथा तीसको दशक देखि फस्टाएको देखिन्छ। यहाँ त्यतिबेलै देखिको लघुकथाका साधक पनि । संघर्षका केही नालिबेली बताइदिनु होस् न ?
सही हो, नेपाली लघुकथाको उर्वर कालखण्ड तीसको दसकलाई नै मान्नु पर्छ । यसै बेला लघुकथा लेखनले एउटा गति लिएको थियो । नेपालभरिका स्रष्टाहरू लघुकथा लेखनमा आकर्षित भएको बेला थियो त्यो । त्यसबेला गोजिका पत्रिकाहरू निस्कन्थे जसमा लघुकथालाई नै विशेष स्थान दिइएको हुन्थ्यो । म त्यसबेला विराटनगरमा युवा साहित्यिक परिवार नामक साहित्यिक समुहमा आवद्ध थिएँ । र, यस परिवारले प्रयोग (केही रेच्की गल्पहरू) नामक लघुकथासङ्ग्रह प्रकाशनमा ल्याएको थियो । यो सङ्ग्रह आकारप्रकारमा पनि लघु नै थियो । जसमा अशेष मल्ल, शैलेश आचार्य, प्रमोद प्रधान, महेश प्रसाईँ, इन्दिरा प्रसाईँ, प्रमिला उप्रेती, विष्णुविभू घिमिरे, नारायण तिवारी, गोकर्ण खड्का, मीना कर्ण, कृष्णभूषण बल, विक्रम थापा, रमेश गिरी, माधवराज आचार्य, ऋषिराम अधिकारी आदिका लघुकथाहरू समावेश थिए ।
विराटनगरबाहेक तीसको दसकमा लघुकथासाहित्यमा योगदान पु¥याएका पत्रिकाहरूमा म अहिले आँखिझ्याल, बान्की र दूबोलाई समेत स्मरण गरिरहेको छु । पछिपछि केही युवाहरूले हवाईपत्रलाई पनि पत्रिकाका रूपमा प्रकाशित गरे, र यसमा लघुकथालाई विशेष महत्वकासाथ स्थान दिने गरेकोलाई पनि विर्सन सकिँदैन ।
केही अग्रज विद्वानहरूले लघुकथालाई आख्यानको प्रविधा भनेर उल्लेख गर्नुभएको छ।यहाँले लघुकथा प्रविधा होइन शसक्त विधा नै हो भनेर कतै आफ्नो मन्तव्यमा राख्नु भएको थियो। अग्रज विद्वानहरू बिच फरक–फरक मत किन ? हामी नयाँ पुस्ताले कुन रुपमा स्वीकार गर्ने ?
सर्वप्रथमतः म लेखक हुँ, सिद्धान्तकार वा व्याख्याता होइन । लेखकको काम लेख्नु हो, सिद्धान्तकारहरूले त्यसपछि सिद्धान्त बनाउँछन् । कसैले लघुकथालाई प्रविधा भन्लान्, कसैले उपविधा पनि भनिदेलान्, कसैले एक अलग अस्तित्वको विधा नै नमानिदेलान्, त्यसमा म के गर्न सक्छु ? तर, लघुकथालाई मैले जहिलेदेखि आफ्नो प्रिय विधाको रूपमा स्वीकार गरेँ र बुझ्दै आएँ, त्यसबेलादेखि नै मैले बुझेको, बुझ्दै आएको कुरा के हो भने— लघुकथा एक स्वतन्त्र, छुट्टै अस्तित्व भएको आख्यानको एक रूप हो, अर्थात् विधा हो । हो, आख्यान शब्दलाई नै कसैले गोलमटोल गरेर एक विधा मान्छन् भने उपन्यास, कथा र लघुकथा सबैलाई प्रविधा वा उपविधा मान्नुपर्ने हुनसक्छ । तर, सम्झनुस् त आख्यान शब्दले उपन्यासलाई, कथालाई वा लघुकथा मध्ये कुनचाहिँलाई बुझाउँछ ? भएन त गोलमटोल ? अर्थात् गोलमटोल गरेर सबैलाई एकमुष्ट बुझाउँछ, कुनै एकलाई मात्रै बुझाउँदैन । छुट्टाछुट्टै बुझाउन, बुझ्न त उपन्यास, कथा वा लघुकथा नै नामाकरण गर्नुपर्छ । तसर्थ आख्यान भनेको त उपन्यास, कथा र लघुकथाको समग्र परिचायक शब्द हो । यो आख्यान शब्द स्वयं विधा होइन ।
यस अर्थमा मैले उपन्यास, कथा र लघुकथा यी तीन भेदमध्ये लघुकथालाई एक अलग अस्तित्व भएको विधाको रूपमा बुझेँ, स्वीकार गरेँ र लेख्दै आएको छु ।
बाँकी रह्यो नयाँ पुस्ताले लघुकथालाई विधा मान्ने कि प्रविधा वा उपविधा मान्ने भन्ने कुरा । यो त आ–आफ्नो अध्ययन, चिन्तन र विवेकको कुरा हो । मैले मेरो कुरा भनिसकेँ । फेरि भन्छु— के तपाईँ उपन्यासलाई प्रविधा मान्नुहुन्छ ? कथालाई पनि प्रविधा वा उपविधा मान्नुहुन्छ ? मान्नुहुन्छ भने लघुकथालाई पनि प्रविधा वा उपविधा मान्नुहोस् । तर, होइन उपन्यास र कथाचाहिँ विधा नै हुन् भन्नुहुन्छ भने लघुकथालाई पनि विधा नै भन्नुपर्छ वा मान्नुपर्छ भन्ने मेरो सबैमा आग्रह छ ।
लघुकथाको बिकास बिस्तारका लागि खोलिएका पेजहरू र यीनिहरूले गर्दै आएका सबल पक्ष र दुर्बल पक्षहरू केलाइदिनुहोस् न?
लघुकथा साहित्यको प्रबर्धनमा सामाजिक सञ्जालमा अभियान चलाउनुलाई म अन्यथा मान्दिनँ । यो स्वागतयोग्य नै छ । जसरी मैले लघुकथा लेख्नेहरू बढुन्, धेरैभन्दा धेरैले लघुकथा लेखुन्, एकसेएक लघुकथालेखक नेपाली साहित्य जगतमा समावेश भएर एकसेएक लघुकथा लेखिएर नेपाली लघुकथासाहित्यको भण्डार समृद्ध होस् भन्ने चाहेँ र लघुकथा कुनो खोलेँ, त्यसैगरी एकसेएक लगनशील, मेहनती लघुकथाप्रेमीहरूले लघुकथाको समुह निर्माण गरेर लघुकथाको समृद्धिमा काम गर्नु खुसी लाग्ने विषय नै हो । तर, यति भन्छु— अस्वस्थ प्रतिष्पर्धा हानिकारक हुनसक्छ । हामी सबैले चाहने कुरा नेपाली लघुकथा साहित्यमा एकसेएक राम्रा, स्तरीय लघुकथा लेखिउन् भन्ने नै हो भने लघुकथाको हुर्मत लिने खालका लघुकथा भने नलेखिउन् भन्ने तर्फ पनि सचेत बन्नै पर्छ ।
फेरि साहित्य भनेको बजारी कुरा होइन । साहित्य बजारलाई दृष्टिगरेर लेखिँदैन । त्यसैगरी साहित्यको समुह सञ्चालन गर्दा पनि बजारमा बेच्न राखेको वस्तुजस्तो गरी प्रचार प्रसारमा चमकदमक गर्नु आवश्यक छैन ।
जस्तो यस सन्दर्भमा मैले लघुकथा कुनोमा उतिबेला गरेको कुरा भन्छु, त्यहाँ सम्बन्धित रचनाकारको तस्बीर राख्न मनाही गरियो । कतै अन्यत्र प्रकाशित रचनाको फोटो राख्न मनाही गरियो, लिङ्क राख्न मनाही गरियो । किन ? किनभने रचनालाई अनेक अरू कुराले प्रभावित नपारोस् । गरगहना लगाइदिएर असली सुन्दरता वा कुरूपता नछोपियोस् भनेर । त्यसैगरी लेखकका जन्मोत्सवकामना र बधाई त्यहाँ गर्न मनाही छ । तर, यी सबका बावजुद लघुकथा कुनो लोकप्रिय भएको थियो । यसको अर्थ लघुकथा कुनोले ‘बजार’ गर्ने काम होइन मेहनत गर्ने काम ग¥यो । अर्थात् हरेकका लघुकथा पढ्यो । कमेन्ट लेख्यो । प्रतिभाशाली लघुकथालेखकलाई अझ लेख्न प्रेरित ग¥यो । सामान्य लेखकलाई लघुकथा पढ्न हौंस्यायो । प्रतिभा आफैँ जाँच गर्नुस् र असल पाठक भएर बस्नुस्— यस्तो पनि भन्यो । कसैलाई पनि अनावश्यक फुर्क्याएन । मैले यस्तो भूमिका लघुकथा कुनोमा निर्वाह गरेँ । अर्थात् बजार र चमकदमकको तरिका अपनाइएन ।
माथि मैले उल्लेख गरेका कुरामा नै यस्ता सामाजिक सञ्जालमा खोलिएका समुहरूका सबल पक्ष र दुर्बल पक्ष खोज्नुहोस्, फेला पर्ने छ भन्ने आशा गर्छु ।
यहाँ थुप्रै विधामा कलम चलाउनु हुन्छ। तर लघुकथा नै रोजेर धेरै समय यसैमा खर्चिनु भयो। यसका केहि कारणहरू थिए कि ?
हो, मैले धेरै विधामा कलम चलाएको छु । तर, मेरो साहित्यमा प्रवेशताकाका विधा कविता, लघुकथा, कथा र मुक्तकहरू नै हुन् । यसमध्ये पनि मलाई लघुकथा र कथामा पाठकहरूले विशेष अनुमोदन गरेका छन्, रूचाएका छन् भन्ने मैले बुझेको छु । पछि त उपन्यास पनि लेखेँ । अहिले फेरि अर्को उपन्यास लेखिसकेको छु र यसलाई सक्ने अन्तिम तयारीमा छु । भर्खरै गतसाल एउटा कवितासङ्ग्रह पनि प्रकाशनमा ल्याएँ— अब तिम्रो पालो शीर्षकमा । तर, यी सबै विधामा हात हाले पनि मैले लघुकथा लेख्न छोडेको छैन । र, छोड्ने पनि छैन । त्यसैले मैले सबै विधामा समय खर्चिएको छु । तपाईँको सङ्केत सामाजिक सञ्जालमा लघुकथा कुनो खोलेर समय खर्चिएकोतिर हो भने फेरि भन्छु लघुकथा मेरो सर्वप्रिय विधा हो । र, म चाहन्छु यो विधामा धेरै लघुकथा लेखिउन् , नयाँनयाँ समर्थवान् लघुकाथालेखकहरू आउन् । र, नेपाली लघुकथासाहित्यको भण्डार समृद्ध बनोस् । अन्य त्यस्तो खास उल्लेखनीय कारण केही छैन ।
हाम्रो लघुकथा केन्द्र र केन्द्रले खेल्दै आइरहेको भूमिका बारे यहाँको दृष्टिकोण कस्तो रहेको छ ?
उत्तरः– यस प्रश्नमा पनि मेरो जवाफ माथि प्रश्न नं.४ मा आइसकेको विषय आग्रह गर्छु । थप मलाई खुसी लागेको कुरा तपाईँहरूले लघुकथा केन्द्रलाई संस्थागत गर्नु भयो । अर्थात् विधिवत् दर्ता गरेर चलाउन थाल्नु भयो । यो सह्राहनीय कुरा हो । जसरी सामाजिक सञ्जालमा जति पनि समुहहरू बन्न सक्छन्, त्यसैगरी लघुकथामा काम गर्ने संस्थाहरू पनि धेरै जन्मिन सक्छन् । राम्रो काममा प्रतिष्पर्धा हुनु वाञ्छनीय नै हुन्छ । प्रतिष्पर्धा हुँदा कसैले तर्सिनु जरूरी छैन । यो लोकतान्त्रकि काइदा पनि हो । फेरि तपाईँहरूले धेरैलाई समेट्नु भएको छ । सर्वग्राह्य बनाउनुभएको छजस्तो लागेको छ । यो राम्रो कुरा हो ।
पुरानो पुस्ताको चर्चा धेरै पटक भइसकेको छ। नयाँ पुस्ताका आशालाग्दा र राम्रा लघुकथाकारहरू को– कसको नाम मानसपलटमा बसाल्नु भएको छ ?
नयाँ पुस्ताका कसलाई भन्ने ? यो जटिल प्रश्न हो । अहिले त लघुकथाको प्रवाहमा नयाँ मात्रै होइन, बुढा पूराना पनि सामेल हुन आइपुगेका छन् । अन्य विधामा कलम चलाउने पनि आकर्षित छन् । साथै यसबेला मैले कसैका लघुकथा सामाजिक सञ्जालमा पढ्न पाएको छैन । त्यसैले यसबेला लेखिइरहेका लघुकथालेखकहरू बारे केही भन्न नसक्ने भएको छु । तापनि केही अघि पढेको हिसाबमा धेरैजना केही राम्रा लघुकथा लेखकको नाम मानसपटलमा मेरो छ । यहाँ सबैको नाम उल्लेख गर्दिन । केवल एकजनाको मात्र नाम लिन चाहन्छु । यसको अर्थ अरू कोही राम्रा लेख्ने छैनन् भन्ने होइन । एकजनाको नाम उल्लेख गर्नुको मेरो आशय एक प्रतिनिधि लघुकथालेखकको नाम उल्लेख गर्नु हो । उनी हुन् लघुकथालेखक नवराज शर्मा । नवराजजीलाई मैले साक्षात् चिनेको पनि छैन । तर, उनका केही लघुकथाहरू सञ्जालमै पढेर भन्न सक्छु, उनी अब्बल लघुकथा लेखक हन् । यो क्षमता मैले उनमा देखेको छु ।
अन्तमा मैले सोध्न भुलेका तर आफुलाई भन्न मन लागेका कुराहरू भए रखिदिनुहोस् न।
मलाई भन्न मनलागेका केही कुराहरू यस्ता छन् ः
— नपढ्ने प्रवृत्ति छ । यो प्रवृत्ति हट्नु प¥यो ।
— लघुकथा लेख्नलाई सिद्धान्त होइन, लघुकथाहरू पढ्नु पर्यो । नेपालका मात्रै होइन, विश्वका स्तरीय लघुकथा पढ्नु पर्यो ।
— लघुकथाको किताब छाप्न हतार नगरेको राम्रो । धेरै लेख्ने र थोरै छनौट गर्ने र स्तरीय भएमा मात्र किताबमा समावेश गर्ने ।
यही सुझाव दिन चाहेँ । अन्तमा मेरो अन्तर्वार्ता पाठकहरू समक्ष पुर्याउन जमर्को गर्नुहुने तपाईंलाई धेरै धेरै धन्यवाद ।
