
साहित्य प्रेमी ( निर्मला पुरी)
जब भाबको द्वार खुल्छ
यो मनले आफैलाई भुल्छ ।
छरिएर रहेका,
शून्यतामा शिथिल भएका,
यादहरु जगमगाउँछन्
अन्धवेग बनी मस्तिष्कमा आउँछन् ।।
किताबको पानहरु झैँ
बिरहका गानाहरु झैँ,
म क्षितिजलाई हेर्छु
ऊ मलाई नियाल्दै हेर्छ
कालो बादल मडारिए झैँ,
मडारिदै नयन बाट बर्षात हुन्छ
अर्धचेतन मनको धरातलमा नाच्न थाल्छ
कुनै गीत बनेर
मिठो संगीतको धुन भनेर,
बिर्सन्छु भन्दै सम्झिनु
लहरा झै यी यादहरुमा अल्झिनु,
दर्दनाक घाउ झैँ बेलाबेला बल्झिनु
धड्कन तिव्र वेगमा चल्ने,
आगोलागे झै भित्रभित्रै जल्ने
सम्झनाका छालहरुले
कस्तो अचेत गराउँने,
फेरि चेतन मनको
धरातलमा बिस्तारै हराउने !
पुतली प्रज्लित दिप सामु नाचेझैँ
मरिसकेको लासलाई डाक्टरले जाचेझैँ,
यी यादहरुले मलाई जाँचिरन्छन्
आँखै सामु आएर नाचिरहन्छन्
सोधिरहन्छन् जिउँदै छस् भनेर
आइरहेछन् केवल याद बनेर !!
( उदयपुर )
