
साहित्य प्रेमी ( निर्मला पुरी )
कसैको हाँसो
सजिनलाई चुडिए,
कसैको आँसु
थमाउनलाई चुडिए,
कुनै पल !
उसको कामुकतामा कराएँ,
कुनै पल !
पारिजात झैँ मिरमिरे मै हराएँ
कसैले अङगालोमा कसेर
प्रेमको प्रतीक हौ भने !
कहिले सुगन्धित हुदै,
त्यो मधुमासको सौगात बने
म प्रत्येक दिन त्यो
मृत्युलाई छिचोल्दै
साना–साना पत्र बन्दै फक्रन्थे
कसैको चाहानामा मेटिनु
काँडाहरुको बन्धनलाई समीपमा भेटिनु
कैसैको रङ्गिचङ्गि गमलामा सजिनु
यो घाम, पानी,शीत,तुसारोमा मिल्नु
आफ्नै मालीले फक्रन नपाउँदै लुछेर फाल्नु
मेरा कोमलता खुवाउन कै लागि त्यो जनावर पाल्नु
यो सबै प्रकृतिको नियम ठान्दथे ।
प्रत्येक महिना !
डाँठ काटिएर निस्किएको त्यो,
चोपमा लत्पतिदै मुस्कुराएर म फक्रन्थे
कहिले मन्दिरमा मुर्ति सामु मुस्कुराउनु !
कहिले मलामीहरु सँगै चितामा रुनु कराउनु !
कहिले बसन्ती हावामा सुगन्धित भई बहकिनु,
कहिले भमराहरुको मिठो बोलीमा फक्किनु
मलाई म भएर,
मेरो अस्तित्वमा फूल्ने रमाउने अधिकार छैन्
सुर्य नउदाउदै डालीबाट रित्तिनु पर्छ
कसैको गलामा माला भनेर,
कसैको शिरमा शोभा बनेर !
केवल अरुकै लागि म मुस्कुराउनु पर्छ ।
हो ! त्यो सुर्य नउदाउँदै डालीबाट रित्तिनु पर्छ ।।
(उदयपुर)
